काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको करिव ८५ प्रतिशत शेयर लगानी रहेको शिवम् होल्डिङग्स लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । जारी पूँजी ५ अर्ब ८० करोड रूपैयाँको २० प्रतिशत बराबर हुने १०० रूपैयाँका दरको एक करोड १६ लाख कित्ता साधारण शेयरहरु सर्वसाधारणका लागि नेपाल धितोपत्र वोर्डको स्वीकृतिमा सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
शिवम् होल्डिङस् लिमिटेडका संचालक अध्यक्ष शिवरतन शारदाको उपस्थितीमा सिद्धार्थ क्यापिटल लिमिटेडसँग शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धि सम्झौता गरिएको हो।यस कम्पनीका संस्थापकहरुमा शिवम् सिमेन्ट्स लिमिटेडको संस्थागत शेयर लगानी करिव ८५ प्रतिशत र अन्य १९ जना विभिन्न उद्योग, व्यापार र पेशा व्यवसायमा सफल रहनु भएका व्यक्तिहरुको व्यक्तिगत करिव १५ प्रतिशत शेयर लगानी रहेको छ । यस कम्पनीले आफ्नो शेयर रकम लगानी गरेको संस्थाबाट विगत २ वर्षदेखि मुनाफा समेत प्राप्त गरेको छ भने शेयर जारी गरी सर्वसाधारणबाट संकलन हुने प्रिमियम मूल्य सहितको रकम अन्य उपयुक्त परियोजनाहरु जस्तै हाइड्रोपावर, बैंक वित्तीय संस्था, टुरिजम क्षेत्र र इन्फाष्ट्रक्चरका परियोजना तथा अन्य उद्योगलगायतका क्षेत्रमा समेत शेयर लगानी विस्तार गर्ने योजना रहेको समेत विज्ञप्ति मार्फत जनाइएको छ।