Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् मंसिर १५ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८०, मंसिर १५ शुक्रबार (From Archieve)

  • 573
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् मंसिर १५ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर १५ शुक्रबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    शिवम् होल्डिङ्स लिमिटेडले आईपीओ निष्कासन गर्ने

    काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको करिव ८५ प्रतिशत शेयर लगानी रहेको शिवम् होल्डिङग्स लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । जारी पूँजी ५ अर्ब ८० करोड रूपैयाँको २० प्रतिशत बराबर हुने १०० रूपैयाँका दरको एक करोड १६ लाख कित्ता साधारण शेयरहरु सर्वसाधारणका लागि नेपाल धितोपत्र वोर्डको स्वीकृतिमा सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

    शिवम् होल्डिङस् लिमिटेडका संचालक अध्यक्ष शिवरतन शारदाको उपस्थितीमा सिद्धार्थ क्यापिटल लिमिटेडसँग शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धि सम्झौता गरिएको हो।यस कम्पनीका संस्थापकहरुमा शिवम् सिमेन्ट्स लिमिटेडको संस्थागत शेयर लगानी करिव ८५ प्रतिशत र अन्य १९ जना विभिन्न उद्योग, व्यापार र पेशा व्यवसायमा सफल रहनु भएका व्यक्तिहरुको व्यक्तिगत करिव १५ प्रतिशत शेयर लगानी रहेको छ ।

    नबिल ब्यालेन्सड् फण्ड २ को सूचीकृत शेयरमा लगानी रू. ७६ करोड ७८ लाख

    काठमाडौं ।  नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फण्ड २ ले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।कात्तिक मसान्तमा फण्ड रू.११ करोड १८ लाख नोक्सानीमा रहेको छ ।स आधारमा फण्डको नोक्सानी असोज महीनाको तुलनामा कात्तिक महीनामा बढेको छ । कात्तिक महीनाको फण्डको खर्चमा वृद्धि भएकाले नोक्सानी बढेको हो ।

    असोज मसान्तमा फण्डको जम्मा खर्च रू। ५६ लाख २१ हजार रहेकोमा कात्तिक मसान्तमा बढेर रू. ७१ लाख ५७ हजार पुगेको छ । त्यस्तै कात्तिक मसान्तमा फण्डको जम्मा आम्दानी रू। १० करोड ४६ लाख ऋणात्मक रहेको छ ।

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा 

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक तर्फको ७ हजार ५७७ कित्ता शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।

    इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र लिखित निवेदन पेश गर्नुपर्नेछ ।

    यस वर्ष मनकामना स्मार्ट लघुवित्तले  लाभांश वितरण नगर्ने

    काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेले आर्थिक वर्ष २०७९/८० सम्मको नाफाबाट पनि आफ्ना शेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    सोही कारण यसपटक कम्पनीका शेयरधनीको हात खाली हुने भएको छ ।

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सभा  पुस १७ गते

    काठमाडौ ।  नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले पुस १७ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको बिहीबार (मंसिर १४ गते) बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।

    सभा अनुपम फुडल्याण्ड एन्ड ब्यांक्वेवट, बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।सभामा कम्पनीले ४.२१०५%नगद लाभांश(कर सहित)दिने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।  आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

    हिमालयन रिइन्सुरेन्सको आइपीओमा कति पर्यो आवेदन ?

    काठमाडौं । हिमालयन रिइन्सुरेन्सको आइपीओमा ४७ करोड ९२ लाख ४८ हजार ७०० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज (मंसिर १५ गते) बिहान १०ः०९ बजेसम्ममा २३ हजार ५३१ जनाले २३ लाख २६ हजार ४५० कित्ताका लागि आवेदन दिएका छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    मञ्जुश्री फाइनान्सको नगद लाभांश घोषणा

    काठमाडौं ।  मञ्जुश्री फाइनान्सले गत वर्षको नाफाबाट लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९–८० को नाफाबाट ५.२५३% नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने निर्णय गरेको हो ।

    कम्पनीले ७ करोड ११ लाख ३२ हजार रुपैयाँ नगदमा खर्च गर्नेछ । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा राय बाझियो

    काठमाडौँ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाणको विषयलाई लिएर न्यायाधीशबीच राय बाझिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा आज उक्त राय बाझिएको हो ।

    न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश बदर गरी रु ३० लाख धरौटीमा छाड्ने राय दिनुभएको छ भने न्यायाधीश खरेलले धरौटीमा छाड्न नमिल्ने राय दिनुभएको छ ।

    आदेशमा भनिएको छ , “प्रतिवादी बालकृष्ण खाणको हकमा आदेश, राय मतैक्यता हुन नसकेकाले प्रस्तुत फरक राय सहितको निवेदन बालकृष्ण खाण विपक्षी नेपाल सरकार भएको प्रतिवेदन उच्च अदालत नियमावली, २०७३ को नियम १२ बमोजिम तेस्रो न्यायाधीश समक्ष पेस गर्नु ।”  खाणको विवाद अब तेस्रो न्यायाधीशबाट सुनुवाइ हुनेछ ।

    पर्वतमा दुई सहकारीका आठ जना सञ्चालक पक्राउ

    पर्वत । सहकारी संस्थामार्फत ठगी गरेको आरोपमा पर्वतमा दुईवटा सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ परेका छन् । सदरमुकम कुश्मा बजारमै सञ्चालित तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका तीन जना र ग्रामीण विकास कृषि सहकारी संस्थाका पाँच जना पक्राउ परेका हुन् । 

    जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालका अनुसार तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय, सचिव विकास विश्वकर्मा र सहसचिव ओमकार कर्माचार्य तथा ग्रामीण विकास कृषि सहकारी संस्थाका अध्यक्ष लेखनाथ शर्मा, उपाध्यक्ष विष्णु तिवारी पूर्व अध्यक्ष राजु शर्मा र सल्लाहाकार शालिग्राम शर्मा तथा ऋण समिति संयोजक धनपति आचार्य पक्राउ परेका हुन् । दुवै सहकारीका अन्य सञ्चालकको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    आजियाटाले एनसेलको ८० प्रतिशत सेयर स्वामित्व बिक्री गरेर बाहिरियो

    काठमाडौं । एनसेलबाट बाहिरिन लागेको आजियाटाको ८० प्रतिशत सेयर सतिशलाल आचार्यले खरिद गरेका छन् । एनसेलबाट आफ्नो ८० प्रतिशत सेयर स्वामित्व बिक्री गरेर बाहिरिने निर्णय गरेको आजियाटा र आचार्यबीच सेयर खरिदबिक्रीको सहमति भएकाे हाे ।

    आजियाटाले आचार्यकाे स्पेकट्रलाइट युके लिमिटेडलाई ८० प्रतिशत सेयर बिक्री गरेको हो । आजियाटाले एक विज्ञप्ति जारी गर्दै सेयर बिक्री गरेको र नेपालबाट बाहिरिएको बताएको हो ।उक्त डिल ५० मिलियम डलरमा भएको द स्टारले जनाएको छ । गत वर्षको नाफाबाट एनसेलले वितरण गर्ने लाभांश आजियाटाले पनि प्राप्त गर्नेछ ।

    कोप–२८ लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्छ : प्रधानमन्त्री

    काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८)लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्ने बताउनुभएको छ ।  

    कोप–२८ परिसरमा नेपालको पेभिलियनमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालले जलवायु परिवर्तन असरका सम्बन्धमा आफ्नो अधिकार स्थापित गरेर अघि बढ्ने गरी तयारी गरेको उल्लेख गर्नुभयो ।

    प्रधानमन्त्री दाहालले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घको महासभामा पनि यस अघि मैले नेपालमा जलवायुको असर भयानक छ भन्ने कुरा प्रस्तुत गरेको थिएँ । युवा पुस्ताको भविष्य सुनिश्चित गर्ने दीर्घकालिन सोचका साथ मैले त्यो विषय बोलेको हुँ ।” सो अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँगको अन्तरक्रिया गर्दा पनि आफूले उक्त विषय उठाएको उहाँले जानकारी दिनुभयो ।

    पूर्वमन्त्रीहरु रायमाझी र खाँण थुनामै रहने , सन्देश शर्मा १० लाख धरौटीमा रिहा

    काठमाडौँ ।उच्च अदालतले आज फैसाला सुनाउँदै रायमाझी र खाँणलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । सन्देश शर्मालाई  १० लाख धरौटीमा छोड्ने आदेश दिएको छ ।न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले आज भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई भने १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।पूर्वगृह मन्त्री बालकृष्ण खाँडलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने भन्ने विषयमा न्यायाधीशबीच मत बाझिएको अदालत स्रोतले बताएको छ ।

    हानि नोक्सानी कोषका लागि ४२३ मिलियन डलरभन्दा बढीको प्रतिबद्धता

    काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ बिहीबारदेखि सुरु भएको छ । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सुरु भएको सम्मेलन यही मङ्सिर २६ गतेसम्म सञ्चालन हुनेछ ।

    कोप–२८ मा हानि नोक्सानी कोष औपचारिक रुपमा सुरु गरिएको छ । विश्वव्यापी तापक्रम वृद्धिसँग सम्बन्धित प्राकृतिक विपत्तिबाट तहसनहस भएका कमजोर र जोखिममा रहेका राष्ट्रहरूले ‘हानि र नोक्सानी’ कोषको माग गरेपछि सम्मेलनले बिहीबार औपचारिक रूपमा कोषको शुभारम्भ गरेको हो ।

    कति छ त आज सुन-चाँदीको मूल्य ?

    काठमाडौं। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १९ हजार रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।

    आज  चाँदीको भाउ भने तोलामा २० रुपैयाँले बढेर १५ सय ४० रुपैयाँ कायम भएको छ

    विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड

    काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास निर्माणका परियोजनाहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ । 

     

    यहाँस्थित भारतीय राजदूतावास र अर्थ मन्त्रालयले बिहीबार संयुक्तरूपमा अर्थ मन्त्रालयमा आयोजना गरेको ‘परियोजना कार्यान्वयन समीक्षा बैठक’मा मन्त्री डा महतले नेपालको आर्थिक उन्नयनका परियोजनामा नेपाललाई निरन्तर सघाएकामा भारत सरकारप्रति आभार व्यक्त गर्नुभयो । 

     

    उहाँले सहुलियतपूर्ण ऋणका साथै अनुदान सहयोगका आयोजनाहरुको शीघ्र कार्यान्वयनका निम्ति नेपाल सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ ।

    पेट्रोल र डिजेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

    काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबर मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घटाएको हो ।

    पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मुल्य घटेको छ ।मूल्य घटाइएपछि पहिलो वर्गअन्तर्गत झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पेट्रोल प्रतिलिटर  १६७ रुपैयाँ र डिजेल तथा मट्टितेल १५७ रुपैयाँ कायम भएको छ।

    दोस्रो वर्ग सुर्खेत र दाङअन्तर्गतका क्षेत्रमा पेट्रोल १६९ रुपैयाँ र डिजेल १५९ रुपैयाँ कायम भएको छ। तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दीपायल अन्तर्गतका क्षेत्रमा प्रतिलिटर पेट्रोल १७० रुपैयाँ र डिजेल १६० रुपैयाँ कायम भएको छ।निगमले हाल खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ८९५ रुपैयाँ तोकेको छ।

     

     

     

     
     
     
     
     
     

     

     
     
     
     

     

     
     
     

     

     
     
     

     

     
     
     

     

    प्रतिक्रिया दिनुहोस