Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  वैशाख १७ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, वैशाख १७ सोमबार

  • 345
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  वैशाख १७ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख १७ सोमबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    images

    आइएमई लाइफ इन्स्योरेन्सको नाफा ७५.७९ प्रतिशतले बढ्यो

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७५ दशमलव ७९ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू १८ करोड ६८ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू३३ करोड १५ लाख पुगेको हो ।  चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । गत आवमा कम्पनीको कुल आम्दानी रू ३ अर्ब ५० करोड रहेकोमा चालू आवमा बढेर रू ४ अर्ब १२ करोड पुगेको छ ।

    वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबीच सम्झौता

    काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि र कोरियन कम्पनी एमएविसि इन्भेष्टमेन्ट ग्रपु प्रालिबीच सम्झौता भएको छ । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको दोस्रो दिन अर्थात, आज वैशाख १७ गते चीनको लागि नेपालका राजदतु विष्णु पुकार श्रेष्ठको उपस्थिलतमा सम्झौता भएको हो ।सम्झौतामा एमएविसि इन्भेष्टमेन्ट ग्रपुको तर्फबाट कम्पनीका अध्यक्ष जियोन योगं लि र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट आधिकारीक प्रतिनिधी शिवराज दवाडी (माधव दवाडी)ले दस्तखत गरेका छन्  । कोरियन कम्पनी एमएविसि इन्भेष्टमेन्ट ग्रपुले नेपाल सरकारसँग उद्योग व्यवसाय, हरित उर्जा, सेवा उद्योग, नबिनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरुमा वैदेशिक लगानी ल्याउने स्वीकृति लिएको छ । यस्तो लगानीको रकम ६ अर्ब रुपैयाँ बराबर रहेको छ ।

    शेयर बजार : नेप्से परिसूचक ०.०७ प्रतिशतले बढेर १९८०.३४ विन्दुमा , २ अर्ब ९५ करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ०.०७ प्रतिशतले बढेर १९८०.३४ विन्दुमा आएको छ । आज३ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ४ वटा समूहका सूचक बढेका छन् ।
    यस दिन ३१७ कम्पनीको ७३ लाख ४१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड ५४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा पोखरा फाइनान्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र जानकी फाइनान्स परेका छन् ।

    लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै

    काठमाडौँ ।  आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो दिन विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन हुने भएका छन् । 

     

    बिहानदेखि फरकफरक चारवटा सभाहलमा समानान्तररुपमा चार वटा सत्र सञ्चालन भइरहेका छन् । सबै सत्रमा स्वदेशी तथा विदेशी विज्ञ तथा सरकारी प्रतिनिधिले आफ्नो धारणा गरिरहनुभएको छ । 

     

    अहिले ‘नेपालको नवीकरणीय ऊर्जा सम्भाव्यता’, नवीन वित्तीय परिदृश्य, नेपालको व्यापारमा हरित र जलवायु  उत्थानशीलता र लगानीका अवसरहरू, राम्रो पूर्वाधार र यातायात निर्माणसम्बन्धी’ विषयक सत्र सञ्चालन भइरहेका छन् ।

    सुनको मूल्य प्रतितोला रु चार सयले घट्यो , प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँ

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ३७ हजार २०० रुपैयाँ र तेजावि सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ ।आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ६६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

    लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

    काठमाडौँ । यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी साझेदारी (पिपिपी) प्रवर्द्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पिपिपी युनिट्स एन्ड प्रोफेसनल्स’ ९वाप० र ‘नेपाल एसोसिएसन अफ पिपिपी प्रोफेसनल्स अफ प्राक्टिसनर्स’ (नाप) बीच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी भएको छ । उक्त समझदारीपत्रमा वापकातर्फबाट अध्यक्ष जियाद-अलेक्स्यान्डर हायक र नापकातर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गर्नुभयो ।

     

    समझदारीमा दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिक(निजी साझेदारी (पिपिपी)सम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने समझदारीमा उल्लेख छ ।

    सिद्धार्थ प्रिमियर इन्सुरेन्सको करिब ६ लाख कित्ता सेयर लिलामी बिक्री खुला

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्सुरेन्सले आज (वैशाख १७ गते) देखि ५ लाख ९० हजार १८७ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १७० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।  बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

    कालिका लघुवित्तको खुद नाफा करिब १० प्रतिशतले घट्यो

    काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कालिका लघुवित्त वित्तीय संस्था लघुवित्तले ३ करोड २१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।सञ्चालन नाफा पनि ९ दशमलव ८२ प्रतिशतनै बढी भएको छ । गत वर्ष ५ करोड ८ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ४ करोड ५८ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो । तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा १ करोड ५२ लाख रूपैयाँभन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ३७ करोड २३ लाख २१ हजार रूपैयाँ रहेको छ । रिटर्न अर्निग ४ करोड ७३ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम भने १९ करोड १५ लाख रूपैयाँभन्दा बढी छ ।तेस्रो त्रैमाससम्म १ अर्ब ३० करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ३ अर्ब ६९ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

    नेपाल चेम्बर अफ कमर्श र क्रोएसियाको निजी क्षेत्रबीच सहकार्यसम्बन्धी समझदारी

    काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने विषयमा समझदारी भएको छ । काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा दुवै संस्थाबीच व्यापार सहजीकरण एवं पर्यटन क्षेत्रमा लगानी गर्ने सम्बन्धमा समझदारी भएको चेम्बरले जनाएको छ ।
     
            सम्मेलनमा चेम्बरले जलविद्युत्, होटललगायत क्षेत्रका एक दर्जन योजना ‘सो–केस’मा राखेको छ । सो अवसरमा चेम्बर अफ कमर्श र क्रोएसियाका व्यावसायिक प्रतिनिधिमण्डलबीच नेपालमा लगानीको वातावरण, प्रतिफल, उपभोक्ता बजार, कानुनी पाटोलगायत विषयमा छलफल भएको चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले राससलाई जानकारी दिनुभयो ।रासस

    सन नेपाल लाइफले डाक्यो ७औं वार्षिक साधारण सभा

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७औं वार्षिक साधारण सभा बोलाएको छ । वैशाख १६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले आगामी जेठ ९ गते बिहान १० बजे काठमाडौं कालिकास्थानमा रहेको अमृतभोग केटरर्समा सभा बस्ने निर्णय गरेकाे छ । उक्त सभामा कम्पनीको सञ्चाल समितिले प्रस्ताव गरेकाे २३.८० प्रतिशत बोनस सेयर र १.२५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल २५.०५२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

    इलाम उपनिर्वाचन : एमालेका सुहाङको अग्रता कायमै

    फिक्कल ।   प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले पाँच हजार छ सय ७१ को अग्रता लिनुभएको छ ।  फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिका, माई र देउमाई नगरपालिका–१, २, ३, ४ र ५ को मत गणना सकिएको छ । 

     

    पछिल्लो मत परिणामअनुसार एमालेका नेम्बाङले १६ हजार नौ सय ४४ मत प्राप्त गरी अग्रता कायमै राख्नुभएको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ११ हजार दुई सय ७३ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले नौ हजार ४४ मत प्राप्त गर्नुभएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार मिलन लिम्बूले दुई हजार आठ सय तीन मतसहित चौथो स्थानमा हुनुहुन्छ । मङ्गोल नेसनल अर्गनाइजेसनका मणिबहादुर लिम्बूले चार सय ६९, नेकपा (एकीकृत समाजवादी)का जितबहादुर राईले तीन सय २५ र राप्रपाका लक्ष्मी गुरुङले एक सय २६ मत प्राप्त गर्नुभएको छ ।

    हतियारसम्बन्धी गठित समितिको प्रतिवेदनले औँल्याएका विषय कार्यान्वयन हुन्छ : गृहमन्त्री लामिछाने

    काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमक्ष हतियारको इजाजत तथा नवीकरणसम्बन्धी छानबिन समितिले आज आफ्नो प्रतिवेदन बुझाएको छ । 

     

    प्रतिवेदन बुझ्दै उपप्रधान एवं गृहमन्त्री रवि लमिछानेले छानबिन समितिको प्रतिवेदनले औँल्याएका सुझाव र सिफारिस कार्यान्वयन गरिने बताउनुभयो । व्यक्तिसँग रहेका हातहतियारको दुरुपयोग हुन नदिन र सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि गर्नुपर्ने कामका विषयमा सुझावसहितको प्रतिवेदन दिन चैत १५ गते गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको थियो ।

    महोत्तरीको जलेश्वर भन्सार कार्यालयबाट राजस्व संकलन लक्ष्य भन्दा ४५ करोड कम, असुली सवा दुई अर्ब बढी

    जनकपुर। महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु दुई अर्ब ३५ करोड ९१ लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रु दुई अर्ब ३५ करोड ९१ लाख २८ हजार सय ४० राजश्व सङ्कलन गरेको बताउनुभयो । सो अवधिमा रु दुई अर्ब ८० करोड ८४ लाख ७७ हजार आठ सय ९ राजश्व संकलन गर्ने लक्ष्य रहेको थियो ।

    आयात तथा निर्यातमा भएको कमी र विश्वव्यापी आर्थिक आर्थिकमन्दीका कारण राजश्व निर्धारित लक्ष्यभन्दा कम राजश्व सङ्कलन भएको गुप्ताको भनाइ छ । त्यसैगरी भारत सरकारले प्याजलगायत अन्य सामानको आयातमा लगाएको प्रतिबन्धका कारण पनि राजश्व सङ्कंलनमा समस्या आएको समेत उहाँले बताउनुभयो । सङ्कलित राजश्वमध्ये पेट्रोलियम पदार्थवाट ५३ दशमलव ९१ प्रतिशत अर्थात रु एक अर्ब ३५ करोड, कोइलाबाट आठ दशमलव तीन, आलुबाट चार दशमलव तीन, चामलबाट तीन दशमलव दुई, मिठा (गुड) बाट दुई दशमलव तीन, सेरामिक्स तथा टायलवाट एक दशमलव १४, स्याउवाट शून्य दशमलव ६१, मसालाबाट एक दशमलव ७५, प्याजबाट शून्य दशमलव ४९, धानबाट शून्य दहमलव ५७ तथा अन्य सामानवाट एक दशमलव १४ प्रतिशत राजश्व सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

    हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण

    काठमाडौँ । रामेछापका लागि उडेको सीता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौँमा फर्काएर आकस्मिक अवतरण गरिएको छ । आज बिहान काठमाडौँबाट रामेछापका लागि उडेको उक्त जहाजमा हाइड्रोलिक समस्या आएपछि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सुरक्षित रुपमा अवतरण भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले राससलाई जानकारी दिनुभयो ।

     

    उहाँले भन्नुभयो, “रामेछापका लागि बिहान उडेको सीता एयरको ९०६ उडान नम्बरको जहाजमा हाइड्रोलिक समस्या आएपछि अहिले काठमाडौँ अवतरण गराई प्राविधिक जाँच भइरहेको छ ।” हाइड्रोलिकमा समस्या आएपछि जहाजको अवतरणमा समस्या हुने गरेको बताइएको छ ।

    रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो

    काठमाडौँ।  मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । आइतबारबाट सुरूभएको तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज रिसोर्टमा लगानीका लागि अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको हो ।

    लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राईभेट लिमिटेडकाका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गर्नुभयो ।

    मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यो रिसोर्टमा पहिलो चरणमा करिब रु ७० करोड र दोस्रो चरणमा करिब रु ४० करोड बराबर लगानी गरिने शाहले जानकारी दिनुभयो । डेढ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको रिसोर्ट स्थानीय स्रोतसाधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदनसमेत बनिसकेको शाहले बताउनुभयो  (रासस)

    लगानी सम्मेलनमा नेपाल र भारतका व्यापारिक संस्थाहरूबीच लगानीसम्बन्धी सझदारी

    काठमाडौं । नेपाल उद्योग व्षापार महासंघ र भारतको इन्डियन इन्डस्ट्रिज एसोसएसन(आईआईए)बीच सहकार्य र सहयोग गर्ने समझादारी भएको छ । तेस्रो लगानी सम्मेलनको क्रममा यो समझदारी भएको हो ।

    दुवै संस्थाहरूले आफ्ना सदस्यहरूलाई पारस्परिक लाभ प्राप्त हुने किसिमले यो समझदारी भएको छ । विज्ञान र प्रविधिको प्रयोगगरी दुवै पक्ष उद्योग व्षपारमा सहकार्य गर्ने समझदारीमा जनाइएको छ ।

    लगानी सम्मेलनमा भारतीय लगानीकर्ताहरूका लागि हातेपुस्तिका ‘ह्यान्ड बुक’ सार्वजनिक

    काठमाडौं । नेपालमा भारतीय लगानीकर्ताहरूका लागि हातेपुस्तिका ‘ह्यान्ड बुक’ सार्वजनिक गरिएको छ । लगानी सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले सो ह्यान्डबुक सार्वजनिक गरेका हुन् ।

    नेपाल चेम्बर अफ कमर्सले तयार पारेको सो ह्यान्डबुकलाई नेपाल स्थित भारतीय राजदूतावासले सघाएको छ । ह्यान्डबुकमा नेपालमा व्यापारको अवस्था, वैदेशिक लगानीको अवस्था र नियमन,उद्योग दर्ता र सञ्चालन, भूमि कानुन,जनशक्ति, आयात निर्यात,औद्योगिक क्षेत्र, करप्रणाली र ऊर्जा क्षेत्रलगायतका आवश्यक विषयहरूको जानकारी सामेल गरिएको छ । लगानी सम्मेलनमा भाग लिन २१ ब्यान्डका उद्योगी व्यवसायी नेपाल आएका छन् ।

    मोतिहारी सर्लाही ग्यास पाइप लाइन योजना अगाडि बढाउन छलफल,अढाई वर्षमै लागत उठ्ने अनुमान

    काठमाडौं । भारतको मोतिहारीदेखि नेपालको सर्लाहीसम्म ग्यास पाइप लाइन योजना अगाडि बढेको छ ।नेपाल आयल निगमले  सो योजना अगाडि बढाएको हो ।मोतिहारी सर्लाही ग्यास पाइप लाइन परियोजना प्रमुख प्रदिप यादवले जानकारी सार्वजनिक गरे अनुसार छलफल अगाडि बढेको हो । 

    मोतिहारी–सर्लाही ग्यास पाइपलाइन विस्तार गर्न इण्डियन आयाल कर्पोरेशनले इञ्जिनियरिङ सर्भे प्रतिवेदन तयार गरेर एक वर्ष अघि नै नेपाल आयाल निगमलाई बुझाइसकेको छ ।इण्डियन आयल कर्पोरेशनले दिएको प्रतिवेदन अनुसार मोतिहारी–सर्लाही ग्यास पाइपलाइन विस्तार गर्न १५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ ।

    यो ग्यास पाइपलाइन विस्तारको लागत अढाइ वर्षमै उठ्ने प्रमुख यादवले बताए ।  हाल भारतीय व्यवसायीका भारतीय बुलेटबाट नेपालतर्फ ग्यास ढुवानी भइरहेकोमा महिनाको ५० करोडका दरले वार्षिक ६ अर्ब रूपैयाँ भारतीय व्यवसायीलाई निगमले ढुवानी बापत तिर्नुपर्ने भएको छ ।

    लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ: अर्थमन्त्री पुन

    काठमाडौँ। र्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरुपमा सफल भएको बताउनुभएको छ । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतसँगको आज विहान भएको ‘साइडलाइन’ बैठकमा उहाँले सम्मेलन सफल भएको बताउनुभएको हो ।

     
     

     

     
     
     
     
     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस