Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन

नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन

  • काठमाडौँ ।प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सङ्गठनको बृहत्तर हितका लागि नवीनतम् र रचनात्मक कार्य गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौताको पहिलो त्रैमासिक कार्यप्रगति समीक्षा कार्यक्रममा उहाँले शान्ति सुरक्षा, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन र विपद् व्यवस्थापनलगायत कार्यमा क्रियाशील हुन निर्देशन दिनुभयो ।
     
    थाँती रहेका मुद्दा फछ्र्यौट एवम् विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनतर्फ थप सक्रियाता अपनाउन आग्रह गर्दै महानिरीक्षक कुँवरले तस्करी नियन्त्रणमा समेत विशेष ध्यान पुर्‍याउन निर्देशन दिनुभयो । नेपाल प्रहरीको आन्तरिक सुदृढीकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको प्रहरी कार्ययोजनामा आधारित रहेर चालु आर्थिक वर्षमा गरिएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको हालसम्मको अवस्था सन्तोषजनक रहेको बताउनुभयो ।

    कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गतका पाँचवटै विभाग एवम् अन्वेषण योजना तथा विकास निर्देशनालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरी अस्पतालका प्रतिनिधिले आ–आफ्नो प्रस्तुतीकरण गर्नुभएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । प्रस्तुतीकरणमा कार्यसम्पादन सम्झौताअन्तर्गत पूर्णसम्पन्न क्रियाकलाप र सङ्क्षिप्तकार्य प्रगति विवरणलगायत विषय समेटिएका थिए ।

    यस्तै काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रतिनिधि र सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रतिनिधिले गर्नुभएको प्रस्तुतीकरणमा प्रभावकारी अपराध अनुसन्धान विवरण, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरणलगायत कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनको लागि चालिने कदम र प्रयासलगायत विषय समेटिएका थिए ।
     
    कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतलगायतको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखको भर्चुअल उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij