काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज सोमबार मंसिर २४ गते साढे १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । नेपाल सरकारको राष्ट्र ऋण बोलकबोल तालिका अनुसार आज उक्त ट्रेजरी बिल बोलकबोल हुन लागेको हो । पछिल्लो समयमा बैंकहरुमा प्रशस्त तरलता रहेकाले ट्रेजरी बिलमा मागभन्दा निकै धेरै आवेदन पर्ने गरेको छ । जसले गर्दा डिस्काउन्ट रेट पनि घटेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ९१ दिनको लागि ८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुन लागेको हो । यो ट्रेजरी बिल फागुन २७ गते परिपक्व हुनेछ ।
त्यस्तै, १८२ दिनको लागि ८ अर्ब रुपैयाँ बराबरका ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुन लागेको हो । उक्त ट्रेजरी बिल २०८२ जेठ २७ गते परिपक्व हुनेछ । साथै, १ वर्ष अवधिको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०८२ मंसिर २३ गते परिपक्व हुनेछ । बोलकबोलमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन सकिनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ ।
बैंक वित्तीय संस्थामा लगानी योग्य पुँजी पर्याप्त भएपछि ट्रेजरी बिलको ब्याजदरमा समेत गिरावट आएको हो । अहिले सबै प्रकारका ट्रेजरी बिलको ब्याजदर ३ प्रतिशत भन्दा तल नै रहेको छ । यसअघि मंसिर १८ मा बोलकबोल भएको २८ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट २।८३ प्रतिशत कायम हुँदा ९१ दिन अवधिको ट्रेजरी बिलको २.९१ प्रतिशत र ३६४ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट २.९९ प्रतिशत कायम भएको थियो ।
पछिल्लो समयमा बैंकहरुमा प्रशस्त तरलता रहेकाले ट्रेजरी बिलमा मागभन्दा निकै धेरै आवेदन पर्ने गरेको छ जसले गर्दा डिस्काउन्ट रेट पनि घटेको छ । कर्जा लगानी गर्न नसक्दा सरकारले आन्तरिक ऋण उठाउन जारी गरेको १ वर्ष अवधिको ट्रेजरी बिल खरिद गर्न पनि बैंकहरुबीच उच्च प्रतिस्पर्धा हुने गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij