Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images

घिसिङद्वारा एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको अनुगमन

घिसिङद्वारा एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको अनुगमन

  •  

    दमौली ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सोमबार अनुगमन गर्नुभएको छ । 

     

    ऋषिङ गाउँपालिकामा निर्माणाधीन आयोजनाको निर्देशक घिसिङले स्थलगत अनुगमन गरी कामको प्रगति र समस्याका बारेमा जानकारी लिनुभएको हो । अनुगमनका क्रममा उहाँले आयोजनाको कामलाई निर्धारित समयमा सक्नेगरी तीव्रता दिन आग्रह गर्नुभयो ।  

     

    कार्यकारी निर्देशक घिसिङलाई तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले भौतिक तथा आर्थिक प्रगतिबारे जानकारी गराउनुभएको थियो । 

     

    चरण एकअन्तर्गत बाँधसहित संरचना निर्माण भइरहेको छ । यस प्याकेजको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यस अवधिसम्ममा समग्र निर्माण प्रगति ३५ दशमलव सात प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ । 

     

    मुख्य बाँध निर्माणअन्तर्गत एक सय ४० मिटर अग्लो बाँध बनाउन पूर्वतयारी सुरु गरिएको छ । बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान गर्ने कार्य सम्पन्न भएको छ । बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्र सफा गर्न, ड्रिलिङ, ग्राउटिङलगायत कार्य जारी छन् । 

     

    आयोजनाको चरण दुईअन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरणमा सिनो हाइड्रोले काम गरिरहेको छ । यो चरणमा ६३ दशमलव पाँच प्रतिशत प्रगति भएको छ । 

     

    चरण तीनको प्रसारण लाइनअन्तर्गत दमौली भरतपुर दुई सय २० केभी ३४।७ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ७८ टावरको जग हाल्ने र ६९ वटा टावर जडान कार्य सम्पन्न भएका छन् । यो चरणमा ७३ दशमलव छ प्रतिशत भौतिक प्रगति भएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij