Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

निजी लगानीलाई प्रोत्साहन गर्नुपर्छ : अर्थमन्त्री पौडेल

निजी लगानीलाई प्रोत्साहन गर्नुपर्छ : अर्थमन्त्री पौडेल

  • काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्नु आवश्यक रहेको बताउनुभएको छ। 

    थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले बोल्नुहुँदै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पुँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी पूँजीको विस्तार र  परिचालनलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भएको हो। 

    सहुलियतपूर्ण वित्तीय स्रोत परिचालनको माध्यमबाट निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री पौडेलले विकासका लागि निजी पुँजी परिचालन आवश्यक भएको धारणा व्यक्त गर्नुभएको हो। त्यसका लागि एसिया र प्रशान्त क्षेत्रका देशबिच सहकार्य गर्न सकिने अर्थमन्त्री पौडेलको भनाइ थियो। 

    एसिया र प्रशान्त क्षेत्रमा वित्तीय पूँजी लगायत धेरै सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले यस क्षेत्रमा नीति, नियम र दिगो विकास लक्ष्य प्राप्तिका लागि गरिने प्रयासलाई सामूहिक रुपमा अघि बढाउनुपर्ने बताउनुभएको छ। 

    दिगो विकासको लक्ष्य हासिल गर्न सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा दायित्व हुने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले कार्यक्रमलाई सफल बनाउन वित्तीय स्रोत सुनिश्चित गर्नु आवश्यक भएको बताउनुभयो। 

    आन्तरिक राजस्व परिचालन, नवीन वित्तीय उपकरणको उपयोग एवम् परिचालन, सार्वजनिक ऋण व्यवस्थापन, साझेदारी निर्माण र दिगो विकास लक्ष्यका लागि वित्तीय स्रोतको व्यवस्थापन लगायतका विषयमा परामर्श बैठक निकै फलदायी भएको अर्थमन्त्री पौडेलको भनाइ छ। 

    अर्थमन्त्री पौडेलले परामर्श बैठकमा विभिन्न देशका मन्त्री, राजनीतिक नेता, विज्ञ, विकास साझेदार लगायतबाट प्राप्त सुझावले सन् २०२५ मा स्पेनमा हुने विकासका लागि वित्तसम्बन्धी चौथौ अन्तर्राष्ट्रिय सम्मेलनमा पेश गरिने दस्तावेजलाई समृद्ध पार्न सहयोग गर्ने धारणा समेत व्यक्त गर्नुभएको छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij