Logo

Jul 20 2025 | २०८२, साउन ४गते

Jul 20 2025 | २०८२, साउन ४गते

images

मुख्यसचिवसहित १७ जना सचिव चालु आर्थिक वर्षमा सेवा निवृत हुँदै

मुख्यसचिवसहित १७ जना सचिव चालु आर्थिक वर्षमा सेवा निवृत हुँदै

  • काठमाडौँ । सरकारका मुख्यसचिवसमेत गरी १७ जना सचिव चालु आर्थिक वर्षमा सेवा निवृत हुने भएका छन् । चालु आर्थिक वर्षमा अनिवार्य अवकाशमा मुख्यसचिव एकनारायण अर्याल र  गृहसचिव गोकर्णमणि दुवाडीसमेत गरी १७ जना सचिव जान लागेका हुन् ।
    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखाना (निजामती)को रेकर्डअनुसार मुख्यसचिव र १६ जना सचिव अनिवार्य अवकाशमा जाने देखिएकको हो ।
    सचिवहरूसँगै यो आर्थिक वर्षमा दुई हजार २ सय ११ जना कर्मचारीहरूको अनिवार्य अवकाश हुने जनाइएको छ । यसरी अनिवार्य अवकाशमा जानेहरुमा केही पाँचवर्षे सेवा अवधि पूरा भएर र केही ५८ वर्षे उमेर हद नाघेकाहरू  छन् । निजामती सेवा ऐन २०४९ मा सचिव पाँचवर्षे सेवा अवधि र ५८ वर्षे उमेर हद गरी दुई तरिकाबाट अनिवार्य अवकाशमा जाने व्यवस्था रहेको छ । 

    मुख्यसचिव अर्याल किताबखानाको रेकर्ड अनुसार आगामी मङ्सिर १० गते अनिवार्य अवकाशमा जाने छन् । अवकाशमा जाने सचिवहरूमा तीन जना न्याय सेवाका छन् । न्याय सेवाबाट विशिष्ट श्रेणीमा पुगेका महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरे, न्याय सेवा आयोगका सचिव आलोकचन्द्र श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कानुन सचिवको रूपमा कार्यरत फणीन्द्र गौतम यस आर्थिक वर्षमा अवकाशमा जाँदैछन् । घिमिरे यही साउन ५ गते (सोमबार), श्रेष्ठ साउन ८ गते र गौतम मङ्सिर १८ गते अनिवार्य अवकाशमा जान लागेको किताबखानाको रेकर्डमा छ । 

    त्यस्तै अनिवार्य अवकाशमा जाने चार सचिव नेपाल इन्जिनियरिङ सेवाका छन् । इन्जिनियरिङ सेवाबाट अवकाशमा जाने सचिवहरूमा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा बिडारी, नेपाल ट्रष्टको कार्यालयका सचिव रामआधार साह र खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्य छन् । आचार्य भदौ १५ गते, बिडारी चैत ९ गते अवकाशमा जाँदैछन् भने साह २०८३ वैशाख १ गते तथा बज्राचार्य  २०८३ असार १७ गते अवकाशमा जाने किताबखानाको रेकर्डमा उल्लेख छ । अनिवार्य अवकाशमा जाने एक जना सचिव कृषि सेवाका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव दीपक खराल चैत १२ गते अनिवार्य अवकाशमा जाँदैछन् । 

    अनिवार्य अवकाशमा जान लागेका बाँकी आठ सचिव सामान्य प्रशासन सेवाका छन् । यो आर्थिक वर्षमा अनिवार्य अवकाशमा जाने प्रशासन सेवाका सचिवहरूमा गण्डकी प्रदेशका प्रमुख सचिव खगेन्द्र सुवेदी, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरे, युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद लम्साल, राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव मधुसूदन बुर्लाकोटी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्कर र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगेन्द्रप्रसाद नेपाल छन् । 

    किताबखानाको रेकर्ड अनुसार सुवेदी भदौ १८ गते, दुवाडी मङ्सिर १० गते, अर्याल माघ १९ गते, घिमिरे फागुन १० गते, लम्साल फागुन २४ गते अनिवार्य अवकाशमा जाँदैछन् । त्यसैगरी बुर्लाकोटी ०८३ असार २१ गते, पुस्कर असार २४ गते र नेपाल असार २८ गते अवकाशमा जादैछन् । तर सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ अहिले प्रतिनिधिसभाले पास गरेर राष्ट्रियसभामा पठाएको छ । उक्त विधेयकमा निजामती कर्मचारीहरूको उमेर हद ५८ वर्षबाट बढाएर ६० वर्ष पु¥याउने उल्लेख छ । उमेर हद कार्यान्वयन पहिलो पटक एक वर्ष र त्यसपछि ६÷६ महिना गरिने उल्लेख छ । त्यसो भएमा उमेर हदका कारण अवकाशमा जाने सचिवहरूको कार्यकाल एक वर्ष लम्बिने देखिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij