काठमाडौँ । हायात रिजेन्सीले सबै कर्मचारीलाई हटाएको छ । गत भदौ २३ र २४ गतेको भएको जेनजी आन्दोलन हिंसात्मक भई भएको आगजनी तथा तोडफोडले होटललाई ठूलो आर्थिक क्षति भएको र तत्काल सञ्चालनमा आउने अवस्था नभएकोले कर्मचारीलाई विदा गरेको होटलको जनाएको हो ।
होटलका महाप्रबन्धक आशीष कुमारले मानव संशाधन विभागलाई पत्र लेख्दै श्रमिकको व्यवस्थापन सम्बन्धी विकल्पमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल गर्दा कुनै निष्कर्ष नआएकाले सम्पूर्ण श्रमिकलाई कटौती गर्नुपर्ने भएकाले ३० दिन अर्थात् मंसिर २२ गतेदेखि लागू हुने गरी श्रम ऐन २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण श्रमिक कटौती गरिएको बताएका छन् ।
होटलले जनाए अनुसार १ सय ३३ मजदुर रहेको होटलमा कार्यरत रहेका छन् । पत्रमा जेनजी आन्दोलनमा होटलमा आगजनी हुँदा एक जना पर्यटकले चार तला माथिबाट हाम फालेको र उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पनि जानकारी दिएको छ ।
कोभिड–१९ को असरबाट सुधार हुँदै गएको होटल जेनजी आन्दोलनले फेरि ठूलो आर्थिक समस्या सिर्जना गरेको र पर्यटकको पनि सामान लुटपाट हुँदा अन्तर्राष्ट्रिय स्तरमै होटलको ब्राण्डमा नकारात्मक धक्का लागेको होटलले जनाएको छ ।
पत्रमा अहिले होटल बन्द भएको, मर्मत सम्भारका लागि ऋण खोज्नु परेको, कर्मचारी राख्न नसक्ने अवस्था भएको जनाइएको छ । होटलको पुर्ननिर्माणका लागि करोडौं रकम आवश्यक हुने पनि जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij