Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images

नेपालीलाई हङकङका लागि ट्रान्जिट भिसा नोभेम्बर १५ देखि आवश्यक नपर्ने

नेपालीलाई हङकङका लागि ट्रान्जिट भिसा नोभेम्बर १५ देखि आवश्यक नपर्ने

  • काठमाडौँ ।  नेपाली राहदानी बाहक यात्रुका लागि ट्रान्जिट भिसा आवश्यक नपर्ने हङकङले  व्यवस्था गरेको छ। हङकङ सरकारले  निरन्तरको कूटनीतिक पहलपछि सन् २०२५ नोभेम्बर १५ देखि लागू हुने गरी यो व्यवस्था गरेको हो । हङकङस्थित नेपाली महावाणिज्यदूतावासले जानकारी दिए अनुसार अब नेपाली यात्रुले नेपालबाट अन्य मुलुक वा अन्य मुलुकबाट नेपाल आउने जाने क्रममा हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको ट्रान्जिट क्षेत्रभित्र रहने सर्तमा ट्रान्जिट भिसा लिनु नपर्ने भएको छ ।

    हङकङले सन् २००५ को जुन महिनादेखि नेपाली यात्रुका लागि ट्रान्जिट भिसा अनिवार्य बनाएको थियो। संसारकै सबैभन्दा व्यस्त विमानस्थलहरूमध्ये एक पर्ने हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली नागरिकले वर्षौंदेखि जटिलता भोग्दै आएका थिए।छोटो समयका लागि मात्र विमानस्थलभित्र बसेर अर्को गन्तव्यतर्फ उडान गर्न पनि भिसा लिनुपर्ने नियमले धेरै यात्रुलाई असुविधा परेको थियो।

    अब भने यो बाध्यता हटाइएपछि यात्रुहरूले सहज यात्राको अनुभव गर्न सक्ने विश्वास  गरिएको छ। हङकङ हुँदै यात्रा गर्ने नेपालीलाई समय, खर्च र प्रक्रियागत झन्झट कम हुनेछ।यसले हङकङलाई ट्रान्जिट मार्गको रूपमा रोज्ने नेपाली यात्रुको संख्या पनि बढ्ने विश्वास गरिएको छ। यात्रा सहज भएपछि नेपालीहरूका लागि अन्तर्राष्ट्रिय उडान विकल्पहरू अझ खुला हुने जनाइएको छ ।

    यस निर्णयले नेपाल र हङकङबीचको सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। महावाणिज्यदूतावासले हङकङ सरकारको सहयोगी र सकारात्मक कदमप्रति आभार व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij