Logo

Jun 16 2025 | २०८२, असार २गते

Jun 16 2025 | २०८२, असार २गते

images

सरकारी फार्मेसी रित्तो, औषधी किन्न पठाइन्छ निजीमा

सरकारी फार्मेसी रित्तो, औषधी किन्न पठाइन्छ निजीमा

  • काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालको फार्मेसीमा औषधी किन्न गएका प्रत्येक बिरामीलाई अस्पतालबाहिरका निजी फार्मेसीमा पठाउने गरिन्छ । अस्पतालमा रहेको सरकारी फार्मेसीमा बढीमा एक सय रुपियाँ मूल्य पर्ने औषधी मात्र पाइन्छ । बढी मूल्य पर्ने औषधी नपाइने भएकाले अस्पतालको फार्मेसीका दराज प्रायः खाली हुन्छन् । सरकारले क्यान्सर उपचारमा एक लाख रुपियाँ बराबरको उपचार तथा औषधी निःशुल्क उपलब्ध गराउने गरेको छ । निःशुल्क उपचार तथा औषधीका लागि फार्मेसीमा औषधी नपाइँदा बिरामी निःशुल्क पाइने औषधीसमेत अस्पतालबाहिरका फार्मेसीबाट शुल्क तिरेरै खरिद गर्न बाध्य छन् ।

    सिन्धुपाल्चोकका नवराज तामाङ बाबुको क्यान्सरको उपचारका लागि केही दिनअघिदेखि भक्तपुर क्यान्सर अस्पतालमा छन् । उनले राज्यले एक लाख रुपियाँ बराबरको औषधी निःशुल्क पाउनुपर्ने व्यवस्था रहे पनि चिकित्सकले सिफारिस गरेका औषधी अस्पतालको फार्मेसीमा नपाइने गरेको गुनासो गरे । 

    उनले चिकित्सकले १० हजार रुपियाँ बराबरका औषधी सिफारिस गरिदिएको तर अस्पताल फार्मेसीबाट पाँच सय रुपियाँ बराबरको औषधी पनि नपाइएकाले बिरामीले महँगोमा औषधी किन्नुपरेको बताउँदै थपे, “डाक्टरले नौ किसिमका औषधी लेखेर दिएका छन् तर फार्मेसीमा दुई प्रकारका मात्र उपलब्ध भए । बाँकी बाहिरबाट किन्नुपर्ने भयो ।”

    अस्पतालका कार्यकारी निर्देशक डा श्रेष्ठले सरकारले विपन्न नागरिकको उपचारको रकम नपठाउने हो भने बिरामीलाई उपचार गर्न समस्या हुने बताउनुभयो । डेढ वर्षअघिदेखि औषधीको टेन्डर नहुँदा औषधी सकिँदै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विपन्नलाई उपचार गराएबापतको मासिक ५३ करोड रुपियाँ भुक्तानी दिइरहेको जानकारी दिँदै भक्तपुर क्यान्सर अस्पतालले के कारणले रकम नपाएको हो भन्ने बारेमा आफूलाई जानकारी नभएको बताए । यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij