Logo

Jul 02 2025 | २०८२, असार १८गते

Jul 02 2025 | २०८२, असार १८गते

images

पूर्वाधार विकास समितिको टोली अनुगमनमा

पूर्वाधार विकास समितिको टोली अनुगमनमा

  • सल्यान।  प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको टोलीले कर्णाली प्रदेशमा रहेका राष्ट्रिय गौरवका आयोजना र राजमार्गको अनुगमन गरिरहेको छ । पूर्वाधार विकास समितिका सदस्य ऐनबहादुर शाहीको संयोजकत्वमा रहेको उक्त टोलीले बाँकेको नेपालगञ्जबाट दाङ हुँदै भेरी राजमार्ग र कर्णाली करिडोरको अनुगमन गर्ने छ ।

    टोलीले आइतबार सल्यानमा सरकोकारवालासँग अन्तक्र्रिया गरेको छ । अनुगमन टोलीमा पूर्वमन्त्री प्रकाश ज्वाला, प्रतिनिधिसभा सदस्य उर्मिला माझी, मैना कार्कीलगायत रहनुभएको छ । समितिका संयोजक शाहीले कर्णाली प्रदेशमा पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णाली प्रदेशमा सडकलगायत पूर्वाधार निर्माणमा सरकारले ध्यान दिन सकेको छैन । अब गरिने विकासमा कर्णालीलाई प्राथमिकतामा राखिनुपर्दछ ।” सल्यानमा निर्माणाधीन सडकको अवस्थाका विषयमा गरिएको छलफलमा संयोजक शाहीले यसअघिका सरकारले अघि सारेका विकास आयोजनालाई अहिलेको सरकारले पनि निरन्तरता दिनुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “प्रदेश र जिल्लामा सञ्चालित गौरवका पूर्वाधारका योजनामा ध्यान नदिएर अहिलेको सरकारले योजना अलपत्र पार्न खोजेको छ । यो राम्रो कार्य होइन । मन्त्री र सरकार फेरिँदैमा आयोजनामा असर पर्नुहुँदैन ।” पूर्वमन्त्री तथा विकास समितिका सदस्य ज्वालाले छनोटमा परेका विकास निर्माणका योजना कार्यान्वयमा ढिलाइ हुँदा नागरिकमा निरासा बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न योजनामा बजेट छ । टेन्डर भएको छ । तर कार्यान्वयनमा प्रभावकारिता छैन । यसलाई सुधार गर्न सबैले पहल लिनुपर्दछ ।” सल्यानमा सञ्चालित मदन भण्डारी राजमार्ग, राप्ती राजमार्गसहित कर्णाली प्रदेशमा निर्माणाधीन मध्यपहाडी लोकमार्ग, कर्णाली करिडोरलगायतका सडकमा भइरहेको कामको अनुगमन गरी स्थलगत रिपोर्ट तयार गरेर विकास समिति, सम्बन्धित मन्त्री र मन्त्रालयलाई बुझाइने अनुगमन समितिका सदस्य माझीले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “सडक पूर्वाधारका कामलाई छिटोछरितो र गुणस्तरीय बनाउन समितिको तर्फबाट ध्यानाकर्षण गराउँछौँ ।” कार्यक्रममा सहभागी सरोकारवालाले सरकार र मन्त्री फेरबदल हँुदैमा सञ्चालित गौरवका आयोजना प्रभावित हुन नहुनेमा जोड दिए । राप्ती राजमार्ग र मदन भण्डारी राजमार्गमा आवश्यक बजेटको स्रोतको सुनिश्चिता भए पनि सरकार फेरबदल भएपछि बोलपत्र आह्वान नभएको उहाँहरुको गुनासो थियो । कर्णाली प्रदेशसभा सदस्य सुरेश अधिकारीले सल्यान र रुकुमका लागि जीवन (लाइफलाइन)को रुपमा रहेको राप्ती राजमार्गको काममा ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ठेक्का सम्झौता भएको लामो समयम भए पनि काममा ढिलाइ भएको छ । यसलाई छिटो कार्यान्वयन गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्दछ ।” यस्तै कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले अघि बढाइएका आयोजनाका काम रोक्न नहुने बताउनुभयो ।(रासस) 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij