Logo

Jun 03 2025 | २०८२, जेठ २०गते

Jun 03 2025 | २०८२, जेठ २०गते

images

बागमती प्रदेशको बजेट सबै भन्दा ठुलो , दोस्रो ठुलो मधेश प्रदेश र सबै भन्दा सानो कर्णाली प्रदेश

बागमती प्रदेशको बजेट सबै भन्दा ठुलो , दोस्रो ठुलो मधेश प्रदेश र सबै भन्दा सानो कर्णाली प्रदेश

  • काठमाडौं। सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन्। संवैधानिक व्यवस्थाअनुसार संघीय सरकारले शनिबार सातै प्रदेशले आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन् ।

    संवैधानिक प्रावधान अनुसार हरेक वर्ष जेठ १५ गते अर्को आर्थिक वर्षका लागि संघीय सरकारले बजेट सार्वजनिक गर्ने व्यवस्था छ भने प्रदेश सरकारले असार १ गते र स्थानीय तहको बजेट असार १० गते सार्वजनिक गर्नुपर्ने छ ।

    गत वर्ष चालु वर्षका लागि सात प्रदेशले ३ खर्ब रुपैयाँ बराबरको बजेट ल्याएका थिए। चालु आवमा संघीय राजधानीसमेत रहेको बागमती प्रदेशले ६२ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो। मधेस प्रदेशले ४४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो।

    कोशी प्रदेशले ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँ, लुम्बिनी प्रदेशले ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँ, गण्डकी प्रदेशले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशले २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए।
    आगामी वर्षका लागि प्रदेशहरूले गरेका बजेटहरूमा सबै भन्दा बढी रकमको बजेट बागमती प्रदेशको रहेको छ भने दोस्रो ठुलो बजेट मधेश प्रदेशको रहेको छ । सबै भन्दा कम रकमको बजेट कर्णालीको रहेको छ ।

    कोशी प्रदेश ः ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक

    कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आवका लागि राजस्व र व्ययको वार्षिक अनुमानसहितको बजेट प्रस्तुत गरेका हुन् ।  सार्वजनिक गरिएको बजेटमध्ये चालु खर्चतर्फ १४ अर्ब ४७ करोड २३ लाख रुपैयाँ तथा पुँजीगत खर्चतर्फ १६ अर्ब २० करोड २० लाख रुपैयाँ, वित्तीय व्यवस्थातर्फ २ करोड रुपैयाँ र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५८ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। चालु खर्चमध्ये संघीय अनुदान फिर्ता ३ अर्ब रुपैयाँ रहेको छ।
    गण्डकी प्रदेशः आगामी आवका लागि रु ३२ अर्ब ९७ करोड बजेट

    गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।गण्डकी प्रदेश सभामा आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले प्रस्तुत गरेको बजेटमा चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार रुपैयाँ र पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार रुपैयाँ विनियोजन गरिएको उल्लेख छ। प्रदेश सरकारको वित्तीय व्यवस्थापनतर्फ ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

    कर्णाली प्रदेश –३१ अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन  

    कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षका लागि भौतिक तथा सहरी विकासलाई प्राथमिकतामा राखेर ३१ अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।  आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीद्वारा प्रदेश सभामा प्रस्तुत बजेटमा  पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार रुपैयाँ (५९ दशमलव ७ प्रतिशत) र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख रुपैयाँ (२४ दशमलव १२ प्रतिशत) बजेट विनियोजन गरिएको छ। यस्तै, वित्तीय व्यवस्थापनतर्फ २५ करोड रुपैयाँ (शून्य दशमलव ८ प्रतिशत) र स्थानीय तहतर्फ वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड ८१ हजार रुपैयाँ (१५ दशमलव ३८ प्रतिशत) बजेट विनियोजन गरिएको छ।

    सुदूरपश्चिम प्रदेशः रु ३१ अर्ब ६२ करोड बजेट पेस

    सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रदेश सभामा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालद्वारा प्रस्तुत बजेटमा कुल विनियोजित बजेटमध्ये चालुतर्फ ११ अर्ब ७ करोड १९ लाख ६३ हजार रुपैयाँ र पुँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार रुपैयाँ रहेको जनाइएको छ। अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत २ अर्ब ९२ करोड ७० लाख १० हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १० करोड रुपैयाँ विनियोजन गरिएको छ। 

    लुम्बिनीको बजेट ३८ अर्ब ९६ करोड

    लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि कूल ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजारको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेशसभा सार्वजनिक गरेको बजेटमा  कूल विनियोजनमध्ये चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार अर्थात् २८.८७ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख अर्थात् ६३. ०९ प्रतिशत र वित्तीय हस्तान्तरणका लागि तीन अर्ब १४ करोड १३ लाख १६ हजार अर्थात् ८.०६ प्रतिशत विनियोजन गरिएको छ।

    बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड

    बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब १० करोड १७ लाख ८२ हजार रुपैयाँ छुट्याइएको छ। त्यसैगरी पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार रुपैयाँ रहेको छ। वित्तीय व्यवस्थातर्फ भने एक अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री थपलियाले बताए।

    मधेशको ४३ अर्ब ८९ करोड बजेट

    मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि ४३ अर्ब ८९ करोड ११ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।
    प्रदेश सभामा आर्थिक मामिला मन्त्री भरत प्रसाद साहले गरेको बजेटमा विनियोजित बजेट तर्फ चालुतर्फ १६ अर्ब ७ लाख १ हजार रुपैयाँ र पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार रुपैयाँ छुट्याइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij