Logo

Jul 07 2025 | २०८२, असार २३गते

Jul 07 2025 | २०८२, असार २३गते

images

गलैँचाको कच्चा पदार्थ आयातमा मूल्य अभिवृद्धि कर छुटको माग गर्दै उद्योगी व्यवसायीहरु अर्थमन्त्रीलाई भेटे

गलैँचाको कच्चा पदार्थ आयातमा मूल्य अभिवृद्धि कर छुटको माग गर्दै उद्योगी व्यवसायीहरु अर्थमन्त्रीलाई भेटे

  •  

    काठमाडौँ । गलैँचाको कच्चा पदार्थ आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) छुटको माग गर्दै उद्योगी व्यवसायीहरुले आज उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेका छन् ।

     

    नेपाली गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घ र नेपाल निर्यात व्यवसायी महासङ्घका प्रतिनिधि तथा गलैँचा व्यवसायीले अर्थमन्त्री समक्ष नेपाली गलैँचाको ऊनी धागो कटाइ, रङ्गाइ, धुलाइ र बुनाइमा प्राप्त भइरहेको भ्याट छुट सुविधा खारेज गरिएकाले समस्या भएको बताए । 

     

    नेपाली गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घका संस्थापक अध्यक्ष रामबाबु गुरुङले नेपाली गलैँचाको प्रमुख कच्चा पदार्थ ऊनमा भ्याट छुट खारेज गरिँदा उद्योगहरुले प्रतिस्पर्धात्मक क्षमता गुमाई व्यवसाय गर्न नै कठिन भएको बताउनुभयो । 

     

    त्यस्तै, तेस्रो मुलुकमा निर्यात गरी प्राप्त हुने आयमा ५० प्रतिशत कर छुट दिने व्यवस्थालाई पनि सरकारले खारेज गरेकोमा पुनः कार्यान्वयनमा ल्याइनुपर्ने माग व्यवसायीहरुको छ । गलैँचा बनाउँदा प्रयोग हुने सिल्क धागोमा ऊन सरह भन्सार र भ्याट छुट हुनुपर्ने माग पनि गरिएको छ । 

     

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर छुट दिने विषय आर्थिक ऐनबाट सम्बोधन हुने भएकाले यस विषयमा संसदबाटै सम्बोधन गर्नुपर्ने बताउनुभयो । यद्यपि, उद्योगी व्यवसायीका हरेक खालका समस्या सुन्न र त्यसको समाधान खोज्न सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ थियो । 

     

    “मुलुकको विद्यमान अर्थतन्त्रको दबाब र शिथिलताको अवस्थाबाट बाहिर निकाल्न सरकार निजी क्षेत्रका कुरा सुन्न तयार छ । निजी क्षेत्रको मनोबल कसरी उकास्ने भन्ने विषयमा सरकार सम्बेदनशील र गम्भीर छ । तपाईंहरुका समस्यालाई पनि गम्भीर रुपमा लिएको छु र यस विषयमा के गर्न सकिन्छ भनेर चाँडै नै जानकारी दिनेछु”, अर्थमन्त्री पौडेलले भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij