Logo

Sep 05 2025 | २०८२, भदौ २०गते

Sep 05 2025 | २०८२, भदौ २०गते

images

राजस्व कार्यालयद्वारा पहिलो तीन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

राजस्व कार्यालयद्वारा पहिलो तीन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

  • बागमती । आन्तरिक राजस्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो तीन महिनाको अवधिमा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । 
     
     कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार चालु आव २०८१÷८२ को पहिलो तीन महिनामा रु एक अर्ब ८६ करोड ७५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु एक अर्ब ५७ करोड ८९ लाख राजस्व सङ्कलन भएको छ । 
     
     यही साउनदेखि असोज महिनासम्मको अवधिमा अन्तःशुल्कतर्फ रु एक अर्ब ४१ लाख, आयकरतर्फ रु २० करोड ४४ लाख, मूल्यअभिवृद्धि करतर्फ रु १८ करोड ८५ लाख, स्वास्थ्य जोखिम करतर्फ रु १५ करोड ९९ लाख, ब्याजकरतर्फ रु एक करोड ८१ लाख र बहालकर तर्फ रु ३६ लाख राजस्व सङ्कलन भएको प्रमुख सुवेदीले बताउनुभयो । 
     
     यो अघिल्लो आर्थिक वर्ष २०८०÷८१ को अवधिको तुलनामा बढी राजस्व सङ्कलन भएको हो । अघिल्लो आव २०८०÷८१ को पहिलो तीन महिनामा रु एक अर्ब ८८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ७५ प्रतिशत अर्थात् रु एक अर्ब ४१ करोड राजस्व सङ्कलन भएको थियो । 
     
     प्रमुख सुवेदीका अनुसार चालु आव २०८१÷८२ मा रु आठ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य छ । सो कार्यालयमा आयकरतर्फ ३२ हजार आठ सय ९८, मूल्य अभिवृद्धितर्फ पाँच हजार आठ सय चार, अन्तःशुल्कतर्फ एक हजार पाँच सय ८३, विथहोल्डतर्फ सात सय पाँच र व्यक्तिगततर्फका ७९ हजार चार सय ४४ करदाता रहेका छन् । 
     
     पछिल्लो समय मुलुकमा आर्थिक कारोबार बढ्नु, बैङ्क तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा सहजता हुनु, कर नीतिमा सुधार हुनु र नियमित बजार अनुगमन हुनुजस्ता कारणले अघिल्लो वर्षको तुलनामा चालु आवमा राजस्व सङ्कलनमा सुधार आएको प्रमुख सुवेदीको भनाइ छ । 
     
     कार्यालयबाट व्यवसायी करदाता प्रमाणपत्र ९प्यान० लिएकामध्ये धेरैजसो करदाताले लामो समयदेखि वार्षिक आय विवरण नबुझाएपछि कार्यालयले त्यस्ता करदाताको अभिलेख तयार पारेर कारबाही अघि बढाएको हो । वार्षिक आय विवरण नबुझाउनेमध्ये धेरैजसो रु ३० लाखसम्मको कारोबार भएका साना करदाता र उपभोक्ता समिति छन् । 
      
     साथै ती करदाताको नामावलीसहित आय विवरण बुझाउनका लागि पहल गरिदिन मकवानपुर जिल्लाका १० वटै पालिकालाई पत्राचार गरिएको प्रमुख सुवेदीले बताउनुभयो । व्यावसायिक करदाता प्रमाणपत्र लिएकामध्ये कतिपय करदाताको मृत्यु भएको, कतिपय वैदेशिक रोजगारीमा गएको र कतिपयले व्यवसायी बिक्री गरिसकेको कारणले पनि समयमा आय विवरण नबुझाउने करदाताको सङ्ख्या बढी देखिएको हुनसक्ने उहाँको कथन छ ।   
     
     यस्तै सो कार्यालयले लामो समयदेखि कर नबुझाउने करदातामाथि समेत कारबाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैङ्क खाता र सम्पत्ति रोक्का गरिएको प्रमुख सुवेदीले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij