Logo

Sep 15 2025 | २०८२, भदौ ३०गते

Sep 15 2025 | २०८२, भदौ ३०गते

images

कलाकार रमेश दुलालले गरे काग सम्मेलन, काग सम्मेलनमा सयौँ काग एकै ठाउँमा भेला

कलाकार रमेश दुलालले गरे काग सम्मेलन, काग सम्मेलनमा सयौँ काग एकै ठाउँमा भेला

  • काठमाडौँ ।  ‘२१औँ काग सम्मेलन’ बुधबार बिहान सम्पन्न भएको छ । काग तिहारको विशेष अवसर पारेर जीवजन्तुको दुरुस्त आवाज निकाल्न पोख्त कलाकार रमेश दुलाल (कागे)ले  विगतका वर्षहरुमा झैँ यो वर्ष पनि कागहरुलाई भेला गराएर सम्मेलन सम्पन्न गरेका हुन् । 

    राजधानीको नारायणहिटी अगाडि भएको उक्त सम्मेलनमा उनले कागको जस्तै आवाज निकालेर सयौँ कागलाई भेला गराएका थिए । उनले कागको आवाज निकालेर कागलाई बोलाउन थालेपछि नजिक सयौँ काग आएका हुन् । ‘विगत वर्षमा झैँ यो वर्षपनि सम्मेलन गरेर कागलाई भेला गराउन सफल भइएको छ। यो मेरो २१ औँ काग सम्मेलन हो’, इलाम स्थायी ठेगाना भएका दुलालले सम्मेलन सम्पन्न भएसँगै  भने। उनले आज बिहान पौने ६ बजे आयोजित उक्त सम्मेलनमा १ हजारको हाराहारीमा कागलाई भेला गराइएको समेत बताए । 
    ‘कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ। कागलाई बोलाउँदा मलाई आपत पर्यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आँउछन्’ उनले भने । सोहीअनुसार कागको स्वाभावअनुसार बोलाउँदा काग तिहारको बिहानै कागलाई भेला गर्न सकिएको बताए ।  दुलालले विगतमा आफूले नाकाबन्दीका विरुद्ध भारतीय दूतावास अगाडिसमेत काग सम्मेलन गरेको स्मरण गर्दै आजको सम्मेलन भने साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले जितोस् भन्ने कामनाका साथ गरिएको बताए । 
    कागतिहारको दिन दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा छ।
    दुलालले आफूले कागसहित १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने सक्ने बताए ।  दुलालले कागबाहेक मुखैले मादल, सनाइ, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन् । गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै सुनाउँदै आएको दुलालले बताए ।
    राष्ट्रिय संगीतकर्मी संघ, केन्द्रीय समिति तथा ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा भएको सम्मेलनमा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटवाललगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij