
काठमाडौँ । नेपालीले विदेश घुमफिरमा विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको तुलनामा धेरै खर्च गर्ने गरेको पाइएको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आव पहिलो तीन महिना (साउन–असोज) मा भ्रमण व्यय ५५ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।त्यसमा शिक्षामा ३२ अर्ब १८ करोड रुपैयाँ विदेशिएको जनाइएको छ । बाँकी रकम नेपालीले घुमफिर प्रयोजनमा विदेश लगेको देखिन्छ ।
जुन २३ अर्ब ६० करोड रुपैयाँ देखिन्छ । यस अवधिमा भ्रमण आय १७ अर्ब ७२ करोड रुपैयाँ छ । यो भनेको विदेशी नागरिकले नेपालमा गरेको खर्च हो ।यस प्रकार तीन महिनामा विदेशी पर्यटकले नेपालमा गर्ने खर्चभन्दा नेपालीले विदेशमा गर्ने खर्च बढी रहेको देखिन्छ ।राष्ट्र बैंकका अनुसार तीन महिनामा भ्रमण आय सामान्य मात्र बढेको छ । अघिल्लो आव पहिलो तीन महिनामा भ्रमण आय १७ अर्ब १३ करोड थियो । भ्रमण व्यय भने उकालो लागेको छ ।
अघिल्लो वर्ष यसै अवधिमा भ्रमण व्यय ५१ अर्ब ८० करोड रुपैयाँमात्र रहेको थियो । यसमा शिक्षामा ३२ अर्ब ९२ करोड विदेशिएको थियो । शिक्षामा विदेशिने रकम अघिल्लो आवको तुलनामा केही घटेको राष्ट्र बैंकको प्रतिवेदनमा देखिन्छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij