काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर १७ सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
स्थानीय तह उपनिर्वाचनः राति अबेरसम्मै सबै नतिजा आइसक्ने
काठमाडौँ । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनमा हालसम्म ३७ स्थानको नतिजा सार्वजनिक भएको छ ।
निर्वाचन आयोगका अनुसार काठमाडाँैको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना जारी छ । मतगणना जारी रहेका बाँकी चारै स्थानको नतिजा पनि आजै राति अबेरसम्म आइसक्ने अनुमान गरिएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले राससलाई जानकारी दिनुभयो ।
कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डङ्गोल तीन हजार आठ सय ३४ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । उहाँका निकटम प्रतिस्पर्धी एमालेका सुरेन्द्र मानन्धरले दुई हजार नौ सय १३, माओवादी केन्द्रका शिवशरण महर्जनले दुई हजार तीन सय १७ मत पाउनुभएको छ ।
नेशनल लघुवित्त र ङादी ग्रुप पावरको शेयर मूल्य नेप्सेमा समायोजन
काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेशनल लघुवित्त र ङादी ग्रुप पावरको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले नेशनल लघुवित्तको १४ दशमलव २५प्रतिशत बोनस शेयर र ङादी ग्रुप पावरको शत प्रतिशत हकप्रद शेयरको समायोजन गरेको हो । समायोजन पश्चात ङादी ग्रुप पावरको शेयर मूल्य रू. २८९ र नेशनल लघुवित्तको रू. १ हजार ३५५ दशमलव ८०१९ कायम भएको छ । नेप्सेले सोमवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी दुबै कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
‘क्रेडिट रेटिङ’ले लगानीका लागि नेपाल अनुकूल छ भन्ने देखायोः अर्थमन्त्री पौडेल
काठमाडौँ ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको सार्वभौम साख मूल्याङ्कन ९सोभरेन क्रेडिट रेटिङ०बाट लगानीका लागि अनुकूल वातावरण देखिएको बताउनुभएको छ ।
अर्थ मन्त्रालयमा आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री पौडेलले प्रमुख दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेपछि मुलुकमा राजनीतिक र नीतिगत स्थायित्व कायम भएसँगै आर्थिक विकासमा सरकारको ध्यान केन्द्रित भएको बताउनुभएको हो ।
क्रेडिट रेटिङको नतिजाले लगानीका लागि नेपाल अनुकूल अवस्थामा रहेको देखाएको उल्लेख गर्दै अर्थमन्त्रीले यसले निजी क्षेत्र र लगानीकर्ताको मनोबल बढाउनाका साथै बाह्य लगानी वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । “ वर्तमान सरकार गठन भएसँगै प्रमुख आर्थिक सूचकमा सुधार हुँदै गएको छ ।
सिद्धार्थ केवलकारले पुस ४ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौं । सिद्धार्थ केवलकार लिमिटेडले पुस ४ गतेदेखि ६७ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले मंसिर १५ गतेसम्म कायम शेयरधनीहरुका लागि यी हकप्रद शेयर निष्कासनमा ल्याउन लागेको हो । १ बराबर १ दशमलव १२५ को अनुपातमा निष्कासनमा आउन लागेको हकप्रद शेयर खरीदका लागि सम्बन्धित शेयरधनीहरुले माघ ७ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।
नेशनल बैंकिङ इन्स्टिच्युटको साधारण सभा पुस ८ गते , ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने
काठमाडौं । नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेडले पुस ८ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मेरियोट होटेल, नक्साल, काठमाडौंमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु परित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउनेछ ।
शेयर बजार : नेप्से परिसूचकमा १९.९७ अंकले बढेर २७५८.०४ बिन्दुमा,१० अर्ब ५४ करोडभन्दा बढीको कारोबार
काठमाडौँ ।आज नेप्से परिसूचकमा १९.९७ अंकले बढेर २७५८.०४ बिन्दुमा आएको छ ।आज १० अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ९ वटा समूहको सूचक सकारात्मक भएका छन् । ट्रेडिङ र होटल तथा पर्यटन समूहमा उच्च वृद्धि देखिएको छ ।
यस दिन ३ सय १४ कम्पनीको २ करोड ३० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै
बागमती। हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताएपनि उद्योगको बिभिन्न उपकरणहरु मर्मतको काम नसकिदाँ अझै उत्पादन अझै सुरु हुन नसकेको हो । ‘‘उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणहरुको मर्मत कार्य अझै भईरहेकै छ” उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले भन्नुभयो,‘‘ हामीले तिहारसम्ममा मर्मत सकिन्छ र त्यस लग्तै पुनः सिमेन्ट उत्पादको कार्य सुरु गर्ने अनुमान गरेका थियौ ।” तर अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योग सुचारु हुन अझै केही दिन लाग्न सक्ने उहाँको भनाई छ ।
सुनको मूल्य तोलामा १२ सय घट्यो
काठमाडौँ । आज सुनको मूल्य प्रतितोला रू एक हजार दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आईतबार प्रतितोला रू एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला रू एक लाख ४९ हजार तीन सय कायम भएको छ ।
नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला रू २५ ले घटेर रू एक हजार आठ सय १५ मा कारोबार हुने महासङ्घले जनाएको छ ।
पर्सामा सशस्त्र प्रहरीद्वारा १५ करोड १८ लाख बराबारको सामान पक्राउ
वीरगञ्ज (पर्सा) । सशस्त्र प्रहरी बल नेपाल पर्साले अन्तरदेशीय सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार छली रोक्न उच्च प्राथमिकता दिएको छ । पर्सा जिल्लामा एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले पनि भन्सार छली रोक्नका नियमित रुपमा गस्ती, सीमा क्षेत्रमा जाँच र तालिमप्राप्त कुकुरको प्रयोग गर्दै आइरहेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साका गणपति राधेश्याम धिमालले चालु आर्थिक वर्षको चार महिनाको अवधिमा सशस्त्र प्रहरीले पर्सा जिल्लामा भन्सार छली गरेर भित्र्याएका रु १५ करोड १८ लाख मूल्य पर्ने वस्तु तथा सामान नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
“सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस, खाद्यान्न पदार्थ र किरानाका सामान पक्रिने क्रम ह्वातै बढेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय त सीमा क्षेत्रमा तालिमप्राप्त कुकुर पनि खटाएर चेकिङलाई अझै प्रभावकारी गर्ने कोसिस गरिरहेका छौँ ।”
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
काठमाडौँ ।प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले देश र नागरिकको सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न नेतृत्व तहका प्रहरी अधिकृतलाई निर्देशन दिनुभएको छ । प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका उच्च अधिकृतलाई आज प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिह्न प्रदान गर्दै उहाँले पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको स्मरण गराउनुभयो ।
महानिरीक्षक कुँवरले भन्नुभयो, “राज्य र सङ्गठनले तपार्इँहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका र कार्यसम्पादनमा उच्च व्यावसायिकता एवम् निष्ठाको अपेक्षा गरेको छ, यसमा खरोरूपमा उत्रिनु हुने छ भनि विश्वास लिएको छु ।”
‘बजेट अभावमा कर्णाली प्रदेशका कुनै पनि खानेपानी योजना रोकिँदैनन्’
सुर्खेत । खानेपानीमन्त्री प्रदीप यादवले कर्णाली प्रदेशमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सहितका सबै प्रक्रिया पूरा गरेका खानेपानी योजना बजेट अभावका कारण नरोकिने बताउनुभएको छ ।
कर्णाली प्रदेश सदरमुकाम सुर्खेतस्थित वीरेन्द्रनगरमा आज सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाअन्तर्गत ग्रामीण खानेपानी सेवा सहायता केन्द्र शुभारम्भ कार्यक्रममा उहाँले बजेट अभाव देखाई काम हुन नसकेका सङ्घीय खानेपानी योजनामा अब समस्या नहुने बताउनुभएको हो । “म यहाँका जनप्रतिनिधि, स्थानीयवासीलाई विश्वास दिलाउन चाहन्छु, सङ्घीय सरकार खानेपानी मन्त्रालयबाट कर्णाली प्रदेशमा सञ्चालन भइरहेका र बजेट नभएर रोकिएका कुनै पनि योजना पैसा अभावमा रोकिने छैन । बजेट रकमान्तर गरेर भए पनि यहाँका समस्या समाधान गर्छु”, मन्त्री यादवले भन्नुभयो ।
जलविद्युतमा लगानी गर्न विपन्नलाई सरकारले सहुलियत दरमा कर्जा दिने
काठमाडौँ ।जलविद्युत्मा आयोजनामा लगानी गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विपन्न नागरिकलाई बिना धितो सहुलियत दरमा कर्जाको व्यवस्था गर्नेभएको छ ।
मन्त्रालयले मुलुकभरका विपन्न नागरिकको जीवनस्तर सुधार्दै देशलाई समृद्ध बनाउन ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत विपन्न नागरिकलाई जलविद्युत्को शेयर सुनिश्चित गर्न उक्त व्यवस्था गर्न लागेको हो ।
ऊर्जा मन्त्री दीपक खड्काको पहलमा ‘जनताको जलविद्युत् कार्यक्रम’ को दोस्रो संशोधन गरी गरिब तथा विपन्न घरधुरीका लागि आयोजनाको क्षमता हेरेर रू दुई लाखदेखि अधिकतम पाँच लाखसम्म बिना धितो सहुलियत कर्जा लिएर लगानी गर्न पाउने व्यवस्था गरिएको हो ।
संस्कृति इन्टरनेसनल स्कूलको छैटौँ संस्कृति मोडल युनाइटेड नेसन (संस्कृति एमयुएन) सम्पन्न
काठमाडौँ । संस्कृति इन्टरनेसनल स्कूलको छैटौँ संस्कृति मोडल युनाइटेड नेसन (संस्कृति एमयुएन) सम्पन्न भएको छ । यही मंसिर १२ गतेदेखि १४ गतेसम्म संस्कृति स्कुल परिसरमा आयोजना भएको उक्त ३ दिने कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति र समस्याको समाधानमा आधारित छलफलमा सहभागी गराएर विद्यार्थीहरूमा नेतृत्वदायी क्षमता र कूटनीतिक सोच विकास गराउनु कार्यक्रमको उद्देश्य रहेको थियो ।
कप्तानको अविजित अर्ध शतकको सहयोगले जनकपुर बोल्ट्सको कर्णाली याक्समाथि जित
काठमाडौँ । जनकपुर बोल्ट्सले कर्णाली याक्समाथि जितरे जितको निरन्तरता दिएको छ । कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको हो ।
अनिलको अविजित ६२ रनको मदतबाट जनकपुरले कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य १५.१ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो ।ओपनर अनिलले ४२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे ।
अनिलले मार्की खेलाडी आसिफ शेखसँग पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । आसिफले २९ बल खेल्दै २ चौका र २ छक्का मदतमा ३६ रन जोडे ।
कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार
कुवेत ।कुवेतमा गल्फ एयरको उडानमा फसेका यात्रुहरू कुवेतबाट सोमबार उद्धार गरेको कुवेतस्थित भारतीय दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । दूतावासको टोली उद्धार उडान नभएसम्म मैदानमै रहेको विज्ञप्तिमा उल्लेख छ ।
सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टमा ‘म्यानचेस्टरका लागि गल्फ एयरको उडान अन्ततः सोमबार बिहान ४ः३४ बजे भारतीय यात्रुहरूसहित प्रस्थान गरेको जनाइएको छ ।”
प्राविधिक समस्याका कारण गल्फ एयरको उडानलाई कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा फर्काइएपछि आइतबार भारतीय यात्रु १३ घण्टाभन्दा बढी समय कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा फसेका थिए ।
सुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त, रुख कटानको आदेश नआउदा समस्या
अछाम । नेपाल सरकारको प्राथमिक योजना हो, सेती लोकमार्ग । सुदूरपश्चिमको समृद्धिसँग जोडिएको यो लोकमार्ग आर्थिक वर्ष २०६५–६६ बाट निर्माण सुरु गरिएको थियो । सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरिएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजनाको निर्माण भने सुस्त गतिमा भइरहेको छ ।
भारतसँग जोडिएको कैलालीको टीकापुरस्थित तीकुने नाका हुँदै बौनियाबाट डोटी, अछाम, बाजुरा, बझाङको चैनपुर हुँदै यो सडक तिब्बतको ताक्लाकोटसम्म जोडिने लक्ष्य रहेको छ । नेपाल–भारत–चीन जोड्ने बहुउपयोगी यो सडक निर्माण गर्न दक्षिणखण्ड र उत्तरीखण्ड गरी दुई भागमा विभाजन गरिएको छ ।
किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा
खोटाङ । यहाँको केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किबी पाकिसकेका छन् । १२ वर्ष अघिदेखि किबीको व्यावसायिक खेती सुरु गर्नुभएका राई जिल्लाकै पहिलो किबी किसान हुनुहुन्छ । सुरुका वर्षमा प्रति केजी रु चार सय सम्मले बिक्री गर्नुभएका उहाँले यसवर्ष बोटमै किबी पाकिसक्दा पनि टिप्नुभएको छैन । उहाँको फार्ममा करिब चार हजार किलो किबी उत्पादन भएको अनुमान गरिएको छ । किबीका बेर्नासमेत उत्पादन गर्दै आउनुभएका राईले गत वर्ष मात्र रु १४ लाख बढीको बेर्ना बिक्री गर्नुभएको थियो । करिब २५ रोपनी जमिनमा किबी खेती गर्नुभएका राईले यस वर्ष बिक्री हुने सम्भावना नभएपछि ‘वाइन’, ‘हुस्की’, ‘जुस’ लगायतका पेयपदार्थ बनाउने तयारी गर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका दोर्जी शेर्पाले करिब ६० रोपनीमा किबी खेती गर्नुभएको छ । एघार वर्षअघिदेखि किबी खेती सुरु गर्नुभएका शेर्पाको फार्ममा यसवर्ष ११ हजार केजीभन्दा बढी किबी फलेको छ । शेर्पाले उत्पादन गर्नुभएको किबी दिक्तेलबजार, हलेसी, धरान, विराटनगर, काठमाडौँलगायतका ठाउँमा बिक्रीका लागि पु¥याउने गरिएको छ ।
नागरिक लगानी कोषको शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा
काठमाडौं । नागरिक लगानी कोषका सहभागीहरूले शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा पाउने भएका छन् । कोषका सबै शाखा कार्यालयहरूबाट सहभागीहरुलाई निश्चित रकमसम्मको आवास र सरल कर्जा दिने व्यवस्था कोषले मिलाएको छ ।
कोषका सहभागीलाई मोफसलबाट समेत यस्तो कर्जा लिन सहज होस् भन्ने उद्देश्यले कर्जा सुविधालाई सहज बनाइएको हो । योभन्दा अघि सबै शाखा कार्यालयहरूले आवास र सरल कर्जा स्वीकृतिको लागि कर्जाको कागजपत्र केन्द्रीय कार्यालयमा पठाउनु पर्ने व्यवस्था थियो । नयाँ व्यवस्थापछि निश्चित रकमसम्मको कर्जा अब शाखा कार्यालयबाट नै उपलब्ध हुने भएकोले सेवाग्राहीलाई कर्जा कारोबारमा सहजता मिल्ने अपेक्षा कोषले गरेको छ ।
एक सातामा धरहराबाट करिब रु १५ लाख राजस्व सङ्कलन
काठमाडौँ । विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनः निर्माण सम्पन्न ऐतिहासिक धरहराबाट एक सातामा रु १४ लाख ७० हजार राजस्व सङ्कलन भएको छ । यही मङ्सिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको धरहराबाट १६ गते आइतबारसम्म रु १४ लाखभन्दा बढी राजस्व सङ्कलन भएको हो । कामु आयोजना निर्देशक प्रकाश अर्यालले बुधबार बन्द हुने र अन्य दिन दैनिक करिब एक हजार दुई सयले धरहरा चढ्ने गरेको बताउनुभयो ।
“९ गतेदेखि हालसम्म आठ हजार तीन सय १६ जनाले धरहरा चढिसकेका छन् । जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क राख्ने गरिएको छैन”, उहाँले भन्नुभयो,“बिहान साढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । छोटो समयमा पनि नागरिकको उल्लेख्य उपस्थिति देखियो । समय अभावका कारण यहाँ आएका सबैलाई टिकटको व्यवस्था गर्न सकिएको छैन ।” बिहानदेखि साँझसम्म धरहरा चढ्ने व्यवस्था गर्न सक्ने हो भने दैनिक एक हजार पाँच सयले धरहरा चढेर अवलोकन गर्ने अनुमान रहेको अर्यालले बताउनुभयो । धरहरा चढ्न प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउनेछन् । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति रु एक हजार शुल्क तोकिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij