Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् मंसिर २४ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू..

नयाँसडक बुलेटिन : यस्ता छन् मंसिर २४ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू..

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर २४ सोमबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    ह्याविट्याट पावर कम्पनीले आईपीओ निष्कासन गर्न , धितोपत्र बोर्डमा दियो निवेदन

    काठमाडौं ।  ह्याविट्याट पावर कम्पनीले आइपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले ११ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

    शेयर बजार : नेप्से परिसूचकमा १२.८७ अंकले घटेर २६७६.१२ बिन्दुमा,५ अर्ब ६२ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।आज नेप्से परिसूचकमा १२.८७ अंकले घटेर २६७६.१२ बिन्दुमा आएको छ । आज ५ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

     

    यस दिन ३१७ कम्पनीको १ करोड १५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३५ करोड २७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर अग्रस्थानमा रहेको छ ।आज  हिमालयन डिष्टिलरी र जोशी हाइड्रोपावर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

    लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्न , धितोपत्र बोर्डमा दियो निवेदन

    काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ ।

     

    कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न मङ्सिर २० गते सेबोनमा निवेदन दिएको हो ।

    विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

    गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा माग भन्दा ८.३४ गुणा बढी आवेदन

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि विक्री खुला गरेको आईपीओमा १८ करोड ५५ लाख ९८ हजार रुपैयाँ बरावरको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज (मंसिर २४ गते) बिहान १०ः०६ बजेसम्म ३३ हजार ८०२ जनाले १८ लाख ५५ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ८ दशमलव २४ गुणा बढी आवेदन हो । 

     

    कम्पनीले मंसिर १९ गतेदेखि २ लाख २५ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई विक्री खुला गरेको हो ।

    सिद्धार्थ बैंकले  ४ प्रतिशत लाभांश वितरण गर्ने

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०र८१ सम्मको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

     

    बैंकले हाल कायम चुक्तापूँजीको ४ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    सोपान फर्मास्युटिकल्सको अवितरित हकप्रद शेयर विक्रीमा

    काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले संस्थापक समूहको अवितरित हकप्रद सेयर विक्रीमा राखेको छ । कम्पनीले आजदेखि २ लाख ९६ हजार १२२ कित्ता अवितरित हकप्रद सेयर विक्रीमा राखेको हो ।  
    यो शेयर खरीदका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरु साथै अन्य व्यक्ति तथा संस्थाले खरीद आवेदन दिन सक्नेछन् ।  

     

    कम्पनीले गत भदौ २५ गते सम्पन्न साधारण सभाबाट पारित भए बमोजिम असोज १४ गतेसम्म कायम शेयरधनीहरुलाई ३० प्रतिशतले हुन आउने प्रतिशेयर अंकित मूल्य रु।१०० दरका २९ लाख ७० हजार कित्ता हकप्रद शेयर जारी गरेको थियो । जसमा २६ लाख ७३ हजार ८७८ कित्ता हकप्रद शेयर खरीदका लागि आवेदन परेको थियो । 

    शाइन रेसुङ्गा बैंकको  साधारण सभा पुस १९ गते , ८ प्रतिशत लाभांश पारित गर्ने

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले पुस १९ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ट होटल प्रालि, रुपन्देहीमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

     

    सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । गत वर्षको मुनाफाबाट कम्पनीले कुल ८ प्रतिशत लाभांश प्रस्ताव पनि गरेको छ ।

    मञ्जुश्री फाइनान्सको ६.३५ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ६.३५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने निर्णय गरेको हो । यसर्थ, कम्पनीले ८ करोड ५८ लाख २३ हजार ६०५ रुपैयाँ नगदमा खर्च गर्नेछ ।

    अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच छलफल

    काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । 

     

    अर्थ मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा द्विपक्षीय आर्थिक सहयोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९युएसएआइडी० अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त तथा निजी क्षेत्रमा लगानी परिचालनलगायतका विषयमा छलफल भएको हो ।

    जल–ऊर्जा–खाद्य समस्यालाई सम्बोधन गर्न विश्वव्यापी सहकार्य आवश्यकः ऊर्जामन्त्री खड्का

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का थाइल्याण्डको बैँककमा आयोजित अन्तर्राष्ट्रिय माटो तथा जल सम्मेलनमा सहभागी हुनुभएको छ । संयुक्त राष्ट्र खाद्य एवं कृषि सङ्गठन (एफएओ) को आयोजनामा थाइल्याण्डको बैँककमा आजदेखि सुरु भएकोसम्मेलनमा उहाँ सहभागी हुनुभएको हो । सम्मेलनमा आज सम्बोधन गर्दै मन्त्री खड्काले पानीको अभाव व्यवस्थापन र माटोको क्षयीकरण रोक्दै दिगो कृषि र खाद्य प्रणालीको विकासमा उच्चस्तरीय कार्ययोजना आवश्यक रहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

    ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरलाई सम्बोधन गर्न सबै लाग्नुपर्नेमा जोड दिँदै ऊर्जामन्त्री खड्काले नेपालको अर्थतन्त्रको आधार कृषि भएकाले दिगो र लचिलो कृषि खाद्य प्रणाली सिर्जना गर्न विज्ञान, नवप्रवर्तन र नीतिलाई एकीकृत गर्न गरिने बताउनुभयो । 

    दुई ठुला जलविद्युत आयोजना बनाउने नेपाली लगानीकर्ताहरूसँग प्रस्ताव माग

    काठमाडौँ । दुई ठुला जलविद्युत आयोजना बनाउन नेपाल लगानीकर्ताहरूसँग प्रस्ताव माग गरिएको छ । विद्युत् उत्पादक कम्पनीले ४५४ मेगावाट क्षमताको किमाथांका अरुण जलविद्युत् आयोजना र १९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलाशययुक्त आयोजना निर्माणका लागि स्वपुँजी जुटाउन नेपाली लगानीकर्ताहरूसँग वित्तीय लगानीका लागि आशयपत्र मागेको हो । 

     

    यी आयोजनाहरूमध्ये किमाथांका अरुण अर्ध जलाशययुक्त आयोजना हो । यसको कुल लागत ९३ अर्ब ८० करोड रुपैयाँ हुनेछ । यसैगरी अर्को आयोजना मुगुकर्णाली जलाशययुक्त आयोजनाको  कुल लागत ४ खर्ब ६० अर्ब रुपैयाँ अनुमान गरिएको छ । यी दुई आयोजनाको लागत जोड्दा ५ खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ बराबर हुन आउँछ । यो लागतमध्ये २५ प्रतिशत रकम स्वपुँजी र ७५ प्रतिशत ऋणमार्फत जुटाउन सक्ने कम्पनीले जनाएको छ । यो आधारमा दुई आयोजनाको स्वपुँजीका लागि मात्रै १ खर्ब ३८ अर्ब ४५ करोड रुपैयाँ बराबर जुटाउनुपर्ने आवश्यकता देखिन्छ ।

    मूल्य वृद्धि गर्ने सिमेन्ट उत्पादकहरूसँग मूल्य वृद्धिको सूची सरकारले माग्यो

    काठमाडाँैं । सरकारले  मूल्य वृद्धि गर्ने सिमेन्ट उत्पादकहरूसँग एक हप्ता भित्र मूल्यसूची बुझाउन भनेको छ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्माण व्यवसायी र सिमेन्ट उत्पादकसँग गरेको छलफल गरी मूल्य वृद्धिको सूची बुझाउन भनेको हो ।विभागका महानिर्देशक राजन पौडेलले जानकारी दिए अनुसार मूल्य बढ्नुपर्ने आधारसहित सात दिनभित्र मूल्यसूची बुझाउन निर्देशन दिइएको हो । उनीहरूले बुझाउने मूल्य वृद्धिको सूची उपर आवश्यक निर्णय विभागले गर्ने छ ।

     

    सरकारी सिमेन्ट उद्योग र निजी क्षेत्रका सिमेन्ट उद्योगहरूको मूल्यवृद्धिमा के कसो विधि अपनाइ मूल्य वृद्धि बढाइएको भनी विभागले आवश्यक निर्णय लिन खोजेको छ । सोहीकारण विभागले उनीहरूसँग मूल्य वृद्धिको सूची माग गरेको हो । निर्माण व्यवसायीहरूले निर्माणको सिजनमै सिमेन्टको मूल्य प्रतिबोरा २ सय रुपैयाँसम्म बढेको र त्यसमा पनि ‘कार्टेलिङ’ भएको भन्दै उद्योग मन्त्रालय र विभागमा निवेदन दिएका थिए ।

    राजस्व संकलनको बाधक राजस्व छली रोक्न सरकारी निकायहरू मिलेर जाने निर्णय

    काठमाडौँ । राजस्व संकलनको बाधक राजस्व छली रोक्न सरकारी निकायहरूले मिलेर जाने निर्णय गरेका छन् । पछिल्लो समय राजस्व संकलन लक्ष्यको न्यून हुँदा सरकारका सरोकारवाला निकायहरूले यस्तो निर्णय गरेका हुन् ।आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागका प्रमुखहरूबीच भएको बैठकबाट तीनै निकाय मिलेर जाने निर्णय भएको छ ।

     

    बैठकले राजस्व चुहावट जोखिमका क्षेत्र, वस्तु, नाका र समूह पहिचान गर्ने, सूचना संकलन गर्ने, विश्लेषण गर्ने तथा तिनको कार्यान्वयनका लागि एकापसमा सूचना आदान–प्रदान गरी अगाडि बढ्ने निर्णय गरेको छ ।राजस्व अनुसन्धान विभागको भीसीटीएस प्रणाली, भन्सार विभागको आसिकुडा वर्ल्ड प्रणाली र आन्तरिक राजस्व विभागको एकीकृत सूचना प्रणालीमा प्रविष्ट भएका सूचना एकापसमा निकटतम सम्बन्ध कायम कर परीक्षण तथा अनुसन्धान, भन्सार जाँचपासपछिको परीक्षण, बजार अनुगमन, गस्ती परिचालन आदिमा प्रयोग गर्ने सहमति पनि उक्त विभागीय प्रमुखहरूको बैठकमा भएको छ ।

    एडीबीको सहयोग निरन्तर हुनेमा अर्थमन्त्री पौडेल आशावादी

    पार्टी छाड्ने र निष्क्रिय हुने प्रवित्ति बढ्यो : उपाध्यक्ष ज्ञवाली

    भद्रपुर । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीभित्र व्यक्तिगत स्वार्थ पूरा नहुँदा पार्टी छाड्ने र निष्क्रिय हुने प्रवृत्ति बढेको विषयमा चिन्ता व्यक्त गर्नुभएको छ ।

     

    झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा आज आयोजित पार्टीका नेता कार्यकर्ताहरूको बृहत् भेलामा ज्ञवालीले नेता, कार्यकर्ताले पार्टीका आधिकारिक बैठकबाहेक अन्यत्र गएर बोल्ने प्रवृत्तिले पार्टी अनुशासनमा चुनौती ल्याएको उल्लेख गर्नुभयो । उहाँले नेता र कार्यकर्तालाई मितव्ययी, इमानदार र सच्चा कम्युनिष्टको परिचय दिन निर्देशन दिनुभयो ।

    पछाडि परेका समुदायलाई शिक्षा र रोजगारी दिएर अगाडि ल्याइनेछ : प्रधानमन्त्री ओली

    झापा ।प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताउनुभएको छ ।

     

    झापाको गौरादहमा आज आयोजित ताजपुरिया समाज कल्याण परिषद्को २९औँ स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि पारिएको जनता लक्षित साना–साना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्दै उद्यमी बनाउने बाटोमा सरकारले काम गर्ने बताउनुभयो ।

    सिरियामा ‘राजनीतिक समाधान’ खोज्न ‘सम्बन्धित पक्ष’लाई चीनको आग्रह

    बेइजिङ । चीनको विदेश मन्त्रालयले इस्लामिक नेतृत्वको विद्रोहीले दमास्कसमा कब्जा जमाएको र बशर अल असदको दशकौँ लामो शासनको अन्त्य गरेपछि सिरियाका राजनीतिक समाधान खोज्न ‘सबै सम्बन्धित पक्षलाई’ आग्रह गरेको छ ।

     

    बेइजिङले हालैका वर्षहरूमा सिरियासँगको सम्बन्धलाई मजबुत बनाएको छ र असदले सन् २०११ मा गृहयुद्ध सुरु भएयता मध्यपूर्व बाहिर दुर्लभ राजकीय भ्रमणका क्रममा गत वर्ष चीनको भ्रमण गर्नुभएको थियो । 

    सोमबार उहाँलाई पदच्युत गरिएकोबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बेइजिङले ‘सिरियाको घटनाक्रमलाई नजिकबाट नियालिरहेको’ बताउनुभयो ।

    सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित

    बैतडी । वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । जिल्लाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको हो ।

     

    उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो । बैतडीसँगै, डडेल्धुरा, डोटीलगायतका पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ ।

    हिमपात र वर्षाका कारण चिसो बढेको छ । चिसोका कारण जनजीवन पनि प्रभावित हुँदै गएको छ । दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले साढे १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने

    काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज सोमबार मंसिर २४ गते साढे १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । नेपाल सरकारको राष्ट्र ऋण बोलकबोल तालिका अनुसार आज उक्त ट्रेजरी बिल बोलकबोल हुन लागेको हो । पछिल्लो समयमा बैंकहरुमा प्रशस्त तरलता रहेकाले ट्रेजरी बिलमा मागभन्दा निकै धेरै आवेदन पर्ने गरेको छ । जसले गर्दा डिस्काउन्ट रेट पनि घटेको छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ९१ दिनको लागि ८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुन लागेको हो । यो ट्रेजरी बिल फागुन २७ गते परिपक्व हुनेछ ।

    सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढ्यो ,प्रतितोला १ लाख ५० हजार १०० रुपैयाँ

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोल ४०० रुपैयाँले बढेर १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको छ ।सोमबार चाँदीको भाउ प्रतितोला १८ सय ६५ रुपैयाँ कायम भएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६३७ र चाँदी प्रतिऔंस ३०.९२ डलरमा कारोबार भइरहेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij