
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ २७ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
सूर्योदय वोमी लघुवित्तको खुद नाफा ५९.७५ प्रतिशतले बढ्यो
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले गत आवमा रू. २ करोड ३४ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ३ करोड ७५ लाख पुगेको छ । चालू आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा १९ दशमलव २० प्रतिशत र सञ्चालन नाफा ५९ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा रू.३ करोड ३५ लाख रहेकोमा चालू आवमा बढेर रू.५ करोड ३६ लाख पुगेको छ । त्यस्तै खुद ब्याज आम्दानी गत आवमा रू. २५ करोड ४९ लाख रहेकोमा चालू आवमा बढेर रू. ३० करोड ३९ लाख पुगेको हो ।
स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्न , सेबोनबाट पायो अनुमति
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट एफपीओ निष्कासन गर्न स्वीकृती पाएको छ ।
सेबोनले कम्पनीलाई एफपीओ निष्कासन गर्न माघ २७ गते स्वीकृती दिएको हो ।
स्वीकृती पाएसँगै कम्पनीले अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्नेछ ।
ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा माग भन्दा ५.९१ गुणा बढी आवेदन
काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १० करोड ६५ लाख २९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज साँझ ५ः०६ बजेसम्म ४१ हजार २३८ जनाले १० लाख ६५ हजार २९० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ५.९१ गुणा बढी आवेदन हो ।
धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको अनुमति प्रक्रिया बढायो , अध्ययन समिति गठन
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन प्रक्रिया अगाडि बढाउन अध्ययन समिति गठन गरेको छ। सेबोनको संचालक समितिको बिहीबार बसेको बैठकले कानुन मन्त्रालयका सहसचिव र सेबोनका संचालक विनोदकुमार भट्टराईको संयोजकत्वमा उक्त समिति गठन गरेको हो।
शेयर बजारमा नेप्से परिसूचकको गिरावट, नेप्से परिसूचक २६८८.३१ बिन्दुमा , कारोबार ८ अर्ब ३९ करोड बढी
काठमाडौँ । आज साताको पहिलो दिन शेयर बजारमा गिरावट सुरुवात भएको छ । नेप्से परिसूचक आज ११.४९ बिन्दुले आरालो लागेर २६८८.३१ बिन्दु अडिएको हो । कारोबार ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६ सय २९ रुपैयाँ ९७ पैसा भएको हो । आज १ करोड ५८ लाख ५५ हजार ६सय १० कित्ता शेयरको खरिद बिक्री भएको छ । आजको कारोबार बिहीबारको भन्दा घटी हो ।
कांग्रेसभित्र बलियो एकता भए कुनै पनि शक्तिले परास्त गर्न सक्दैन : सभापति देउवा
घोराही ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसभित्र बलियो एकता हुन सके पार्टीलाई कुनै शक्तिले परास्त गर्न नसक्ने बताउनुभएको छ ।
कांग्रेस दाङले आज घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले त्यसका लागि पार्टीभित्र बलियो एकता जरूरी रहेकाले एकढिक्का हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । “हामी मिले कसैले हराउन सक्दैन, त्यसकारण पार्टीभित्र एकता हुन जरूरी छ । पार्टीभित्र बलियो एकता कायम हुन सके कुनै निर्वाचनमा कांग्रेसलाई कसैले हराउन सक्दैन”, सभापति देउवाले भन्नुभयो,“पार्टीलाई बलियो बनाउन विकासका काममा समेत कांग्रेसका नेता तथा कार्यकर्ताहरू एकजुट भएर लाग्न आवश्यक छ ।”
प्रतिनिधिसभा बैठकः सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भूकम्पको पुनर्निर्माण कार्यमा ढिलाइदेखि सडक निर्माण र डढेलोका कारण हुने क्षति रोकथामको तयारीलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको छन् ।
प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद भगवती चौधरीले विगतको सरकारले क्षेत्रगत रणनीतिक सडक र हुलाकी सडक निर्माणमा बजेट छुट्याए पनि ठेकेदारका कारण निर्माण ढिलाइ भइरहेको बताउनुभयो ।
‘जलवायु अनुकूलन तथा न्यूनीकरण रणनीति कार्यान्वयनमा स्रोत आवश्यक’
काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु अनुकूलन तथा न्यूनीकरण रणनीति कार्यान्वयनमा वित्तीय स्रोत आवश्यक रहेको बताउनुभएको छ । ‘सहारा नेपाल’ र ‘कोकाकोला फाउण्डेसन’ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्न जलवायु वित्तीय स्रोत आवश्यक रहेको बताउनुभएको हो । जलवायु परिवर्तनको सामना गर्दै दिगो आर्थिक वृद्धि र खाद्य सुरक्षालाई प्रवर्द्धन गर्न पहल गरिनुपर्नेमा उहाँको जोड छ । “नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देश हो, जसले गर्दा दिगो जलवायु समाधानका लागि पर्याप्त वित्तीय स्रोत प्राप्त गर्न कठिनाइ छ,” उहाँले भन्नुभयो, “हामीले जलवायु–लचिलो कृषि, नवीकरणीय ऊर्जा, र दिगो वन व्यवस्थापनमा लगानी वृद्धि गर्नुपर्छ ।” अर्थतन्त्रको मेरुदण्ड कृषि रहेको उल्लेख गर्दै उहाँले दिगो र पुनरुत्पादक कृषि अभ्यासलाई अङ्गिकार गर्नु अपरिहार्य रहेको बताउनुभयो । माटोको स्वास्थ्य सुधारका लागि जैविक विविधता वृद्धि गर्न, र पारिस्थितिक प्रणालीलाई पुनःस्थापना गर्न कृषिवन प्रणाली जैविक खेती, कम्पोस्टिङ, र बाली विविधिकरण जस्ता विधि अपनाउनु आवश्यक रहेको मन्त्री शाहीले बताउनुभयो ।
पूर्वाधार विकास समितिद्वारा खानेपानी मन्त्रालयको अनुगमन
काठमाडौँ । प्रतिनिधसभा अन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन तथा निरीक्षण गरेको छ । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहलगायत समितिका सदस्यले आज खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवको कार्यकक्षको निरीक्षण गरेको हो । निरीक्षणपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै सभापति सिंहले उक्त घटनाले सिंहदरबारभित्रका कार्यालयको वायरिङदेखि सबै कुरामा जाँच गर्नुपर्ने र यस्ता घटना हुन नदिन पूर्वतयारी आवश्यक रहेको बताउनुभयो ।
सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेस, विधेयकमा के–के छन् ?
काठमाडौँ ।राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेस भएको छ । सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त विधेयक पेस गर्नुभयो । त्यसअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि कुनै पनि विरोधको सूचना प्राप्त हुन नआएको व्यहोरा जानकारी गराउनुभयो ।
सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन कानुन निर्माण गर्नेपर्ने आवश्यकता महसुस गरी यही माघ १५ गते राष्ट्रियसभामा उक्त विधेयक दर्ता गराएको थियो । सञ्चारमन्त्री गुरूङले सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवद्र्धन गर्न सामाजिक सञ्जालको ‘प्लेटफर्म’ सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार र जवाफदेही बनाउन उक्त विधेयक अघि बढाइएको स्पष्ट पार्नुभयो ।
नेपाली नागरिकता त्याग्नुपर्ने विभेदको अन्त्य गर्न गोर्खाहरूको माग
काठमाडौँ। सुगौली सन्धि र सम्झौताअनुसार भर्ती भएका गोर्खाहरूले आफू तथा आफ्ना परिवारहरू आजीवन नेपाली नागरिक नै भएर रहन पाउनुपर्ने माग गरेका छन् । नेपालमा पहिलोपटक आयोजना गरिएको गोर्खाज् इन्टेक १९८५ को ४० औँ वार्षिकोत्सवका अवसरमा उहाँहरुले आजीवन नेपाली नागरिकता त्याग गर्नुपर्ने विभेदको अन्त्य गर्न गोर्खाहरूले माग गर्नुभएको हो । सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष एवं समारोहका मुख्य संयोजक शेरबहादुर सुनारले नेपाल सरकारले ब्रिटिस गोर्खा सैनिकहरू र हाम्रा परिवारलाई गैरआवासीय नागरिक नबनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘बेलायत र नेपाल सरकारबीच दुईपक्षीय सम्झौता गरी हाम्रो भावनाको कदर गर्दै आजीवन नेपाली नागरिकता त्याग गर्नुपर्ने विभेदको अन्त्य गरियोस् ।’’ अध्यक्ष लालबहादुर लिम्बूले ‘मातृभूमिप्रतिको माया र गोर्खाहरूलाई मातृभूमि आउन प्रेरित गर्न वार्षिकोत्सव मातृभूमिमा नै आयोजना गरिएको बताउनुभयो ।
मनाङको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेन
मनाङ। जिल्लाको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन । यही माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तिमाङ जङ्गलमा लागेको डढेलो जटिल भौगोलिक संरचनाका कारण नियन्त्रणमा लिन नसकिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा संयन्त्र परिचालन गरिएको छ । उहाँले भन्नुभयो, “डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयवासी पनि सक्रिय भएर जङ्गलमा खटिनुभएको छ, तर हालसम्म नियन्त्रणमा लिन सकिएको छैन ।” डढेलो समयमा नियन्त्रणमा लिन नसक्दा जङ्गलमा रहेका भेडा, च्याङ्ग्रा, याक, चाँैरीका चरन क्षेत्र नष्ट भएका उहाँले बताउनुभयो ।
राष्ट्र बैंकद्वारा २ अर्ब १९ मुद्दती लगानीका लागि आह्वान
काठमाडौँ । नेपाल राष्ट्र बैंकले २ अर्ब १९ करोड मुद्दतीमा लगानी लगाउन बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । ३६६ दिनका लागि यो रकम मुद्दतीमा लगानी लगाउन चाहेको जनाउँदै राष्ट्र बैंकले राष्ट्रियस्तरका क वर्गको वाणिज्य बैंकका लागि १ अर्ब ७५ करोड २० लाख , ख वर्गका विकास बैंकका लागि ३२ करोड ८५ लाख र ग वर्गको वित्त कम्पनीका लागि १० करो ९५ लाख छुट्टयाएर लगानी प्रस्ताव सार्वजनिक गरेको हो ।
माधवनारायणको बर्तालु चाँगुनारायणको परदेश यात्रामा निस्के
काठमाडौँ । साँखुस्थित शालीनदीमा माधवनारायणको एकमहिने कठोर व्रत गरिरहेका बर्तालु शनिबार बेलुकी चाँगुनारायणको परदेश यात्रामा निस्केका छन्।
माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्नानको यात्रा गर्ने व्रत विधि रहेको छ। माघ शुक्ल द्वादशीका दिन बर्तालुले चाँगुनारायण मन्दिर नजिकैको जङ्गलमा रहेको पोखरीमा स्नान गरी, चाँगुनारायणमा साँखुबाट बोकेर लगिएका माधवनारायणको पूजा आराधना गर्ने परम्परा छ। परदेश यात्रा सकिएपछि बर्तालु चाँगुबाट साँखु फर्कने नियम छ। आइतबार साँखु फर्कने बर्तालुले त्यहीँ भोजन गर्न पाउनेछन्। माघ शुक्ल नवमी (द्रोण नवमी) का दिन बर्तालुलाई खीर (तस्मी) खुवाइएको थियो।
आज एनएलजी इन्सुरेन्सका ३ लाख १७ हजार कित्ता सेयर लिलामी आवेदनको अन्तिम दिन
काठमाडौं। एनएलजी इन्सुरेन्सको ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर लिलामी भर्ने आज (माघ २७ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले माघ २० गतेदेखि संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर लिलामीमा ल्याएको हो ।
सार्वजनिक–निजी साझेदारी र दीर्घकालीन कोष परिचालनमार्फत मुलुकको अर्थतन्त्र सुधार गर्न पहल
काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले पहल गरिरहेको बताउनुभएको छ । उहाँले सार्वजनिक–निजी साझेदारी तथा निजी क्षेत्रको लगानीलाई प्रवद्र्धन गरिरहेको बताउनुभयो ।
नेपाल व्यवस्थापन सङ्घको ४४औं वार्षिक साधारणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रको सवलीकरणका लागि सबैको साझा प्रयास र सहयोग जरुरी रहेको बताउनुभयो ।
यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ ।नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ५९ पैसा र बिक्रीदर १४० रूपैयाँ १९पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रूपैयाँ ९० पैसा र बिक्रीदर १४५ रूपैयाँ ५२ पैसा तोकिएको छ ।
यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रूपैयाँ ८४ पैसा र बिक्रीदर १७४ रूपैयाँ ५९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५३ रूपैयाँ ९१ पैसा र बिक्रीदर १५४ रूपैयाँ ५७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७० पैसा र बिक्रीदर ८८ रूपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रूपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रूपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij