
काठमाडौँ।नेपाली खानाको प्रवर्द्धनका लागि काडमाडौँको भृकुटीमण्डपमा ‘खाना महोत्सव’ हुने भएको छ । नेपाली सेफ सोसाइटी र अन्तरराष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा नेपाली सेफहरूको व्यक्तित्व विकास तथा खानाको प्रवर्द्धनका लागि यही वैशाख ६ गते शनिबार भृकुटीमण्डपमा ‘खाना महोत्सव’ हुन लागेको हो । अन्तरराष्ट्रिय नेपाली सेफ सोसाइटीका संयोजक अरुण अधिकारीले नेपाली खानाको प्रवर्द्धनका लागि अन्तरराष्ट्रियस्तरका सेफलाई यहाँ बोलाएर खाना महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार महोत्सवमा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी सेफको सहभागिता रहनेछ । अधिकारीले हाल अन्तरराष्ट्रिय नेपाली सेफ सोसाइटीको ३८ वटा देशमा शाखा रहेको बताउँदै सोसाइटीले हाल नेपाली खानालाई अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा ५० वटा कक्षमा विभिन्न जातजाति (नेवारी, थारु, राई लिम्बू, थकाली) का मौलिक खाना रहनेछन् । यसबाहेक मःम चाउमिन, सेलरोटी, खिर, हलुवा, पूवा, सिस्रोको सुप, दाल, तरकारी, अचार, ढिँडो सेट, मही, दही, घिउ, मह, मिठाई, अकबरे खुर्सानी, फलफूललगायतको कक्ष कक्ष रहने उहाँको भनाइ छ । ---
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij