Logo

May 12 2025 | २०८२, वैशाख ३०गते

May 12 2025 | २०८२, वैशाख ३०गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख २८ आइतबार  मुख्यमुख्य आर्थिक समाचारहरू ....

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख २८ आइतबार  मुख्यमुख्य आर्थिक समाचारहरू ....

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख २८ आइतबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक    समाचारहरू...

    बुद्ध जयन्तीका अवसरमा सोमबार सेयर बजार बन्द, मंगलबारदेखि पुनः संचालन

    काठमाडौं।आगामी सोमबार (वैशाख २९ गते) बुद्ध जयन्तीका अवसरमा सरकारले सार्वजनिक विदा दिएकोले सेयर बजार बन्द हुने भएको छ। सो दिन सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था समेत बन्द रहनेछन्।बजार मंगलबार बिहान ११ बजेदेखि पुनः खुल्नेछ। सो दिनदेखि बैंक तथा वित्तीय संस्था पनि नियमित रुपमा सञ्चालन हुनेछन्।

    हिमालयन हाईड्रोपावरको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

    काठमाडौं।हिमालयन हाईड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले यस सम्बन्धमा निर्णय गर्दै विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति लिने प्रक्रिया अघि बढाउने बताएको छ।कम्पनीले लगानीकर्तालाई लाभांश वितरण गर्नुअघि कर्जा घटाउनु आवश्यक भएकाले कर्जा चुक्ता गर्ने उद्देश्यले हकप्रद शेयर निष्कासन गर्न लागेको जनाएको छ। यस कदमले कम्पनीको वित्तीय सन्तुलन सुधार गर्ने अपेक्षा गरिएको छ।हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ। कम्पनीले सोही बराबरको १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो, जसअनुसार प्रत्येक शेयरधनीले एक बराबर थप शेयर पाउनेछन्।चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म कम्पनीले ६ करोड ४१ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ, जसले कम्पनीको आम्दानी र वित्तीय स्थायित्वलाई बलियो बनाएको देखिन्छ।

    नेको इन्स्योरेन्सको बोनस शेयरका लागि नेप्सेले मूल्य समायोजन, नयाँ मूल्य ६९०.५६ रुपैयाँ

    काठमाडौँ । कम्पनीको वैशाख २८ गतेको अन्तिम बजार मूल्य ७३८.९० रुपैयाँ रहेको थियो। सोही मूल्यको आधारमा बोनस समावेश गर्दै समायोजित मूल्य प्रतिकित्ता ६९० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ।नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट निम्न लाभांश वितरण गर्ने प्रस्ताव गरेको छस्

     

    ७% बोनस शेयर

    ०.३७% नगद लाभांश (कर प्रयोजनका लागि)
    कम्पनीले प्रस्तावित लाभांश र अन्य एजेन्डाहरू पारित गर्नका लागि जेठ ९ गते वार्षिक साधारण सभा बोलाएको छ। सो प्रयोजनका लागि वैशाख ३० गते बुक क्लोज गरिने भएको छ। त्यस दिनसम्म कायम शेयरधनीहरूले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

    नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको प्रधानमन्त्रीद्वारा प्रस्तुत जवाफको पूर्ण पाठ

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनुभएको छ । यही वैशाख २२ देखि २८ गतेसम्म प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि भएका छलफलमा १५६ सांसदले भाग लिनुभएको थियो । 

    प्रधानमन्त्री ओलीले संसद भवन नयाँबानेश्वरमा दिनुभएको जवाफको पूर्ण पाठ यसप्रकार छस्

     

     

    सम्माननीय सभामुख महोदय,

     

    सम्मानीय राष्ट्रपतिज्यूूबाट विसं २०८२ वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि नेपाल सरकारकोतर्फबाट म सम्माननीयज्यूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु । सरकारको प्रस्तुत नीति तथा कार्यक्रममाथि माननीय सदस्यहरूबाट टिप्पणी र संशोधन प्रस्तावमार्फत प्राप्त रचनात्मक सुझावका लागि धन्यवाद व्यक्त गर्दछु ।

    पूर्वतयारी र लगानी ढाँचा तय भएका आयोजनामा मात्रै बजेट हाल्छौंः अर्थमन्त्री पौडेल

    काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा पूर्वतयारी सकिएका र नतिजायोग्य आयोजनाका लागि मात्रै बजेट विनियोजन गरिने बताउनुभएको छ ।

     

     

    प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्नुहुँदै उहाँले आयोजनाको पुनः प्राथमिकीकरण गरेर मात्रै बजेट विनियोजन गरिने बताउनुभएको हो ।

    मोलुङ्ग हाइड्रोपावरको नाफा ४५.४६% बढ्यो, आम्दानी घट्दा पनि वित्तीय खर्च घटेपछि सुधार

    काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड १ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा ४५.४६ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा कम्पनीले २ करोड ७ लाख रुपैयाँ नाफा कमाएको थियो।विद्युत बिक्रीबाट आम्दानी १३ करोड ४१ लाख रुपैयाँबाट घटेर १२ करोड ७९ लाख रुपैयाँमा झरेको छ। तर, वित्तीय खर्च ५ करोड २० लाख रुपैयाँबाट घटेर ३ करोड ६५ लाख रुपैयाँमा सीमित हुँदा नाफामा सकारात्मक असर परेको देखिन्छ।
    चुक्ता पुँजीस् ८० करोड २५ लाख रुपैयाँ

     

    रिटेन्ड अर्निङ : ऋणात्मक १५ करोड ७० लाख रुपैयाँ

     (प्रति सेयर आम्दानी): ३.७६ रुपैयाँ

     

    प्रति सेयर नेटवर्थ:८०.४३ रुपैयाँ

    नेसनल लघुवित्तको नाफामा ९०% भन्दा बढी वृद्धि

    काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३६ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९०.०५ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष संस्थाले १९ करोड ७ लाख रुपैयाँ नाफा कमाएको थियो।संस्थाको खुद ब्याज आम्दानी ५९ करोड २३ लाख रुपैयाँबाट बढेर १ अर्ब १ करोड रुपैयाँ पुगेको छ। यही आम्दानी वृद्धि नै नाफा वृद्धिको मुख्य कारण भएको विश्लेषण गर्न सकिन्छ।संस्थाले यस अवधिमा ११ करोड ८६ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ। त्यसपछि पनि ३५ करोड ५५ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ, जुन शेयरधनीहरूको दृष्टिमा सकारात्मक संकेत हो।

    साल्ट ट्रेडिङ कर्पोरेशनको तेस्रो त्रैमासिक नाफा ५.२३% घट्यो

    काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ५.२३ प्रतिशतले घटेको हो। गत वर्ष कम्पनीले ५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो।यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी ९ अर्ब ४५ करोड ८० लाख रुपैयाँबाट घटेर ६ अर्ब ७८ करोड २३ लाख रुपैयाँमा झरेको छ। आम्दानीमा आएको गिरावटकै कारण कम्पनीको नाफामा दबाब परेको देखिन्छ।कम्पनीको ब्याज खर्च पनि घटेको छ। अघिल्लो वर्ष ४१ करोड ६१ लाख रुपैयाँ रहेको ब्याज खर्च चालु त्रैमासमा घटेर ३८ करोड ९३ लाख रुपैयाँमा झरेको छ।चुक्ता पुँजीस् ३२ करोड ७ लाख १६ हजार रुपैयाँ

    निजामति विधेयकमा ‘कुलिङ पिरियड’ दुई वर्ष राख्नुपर्नेमा सांसदहरूको जोड

    काठमाडौँ । राज्य व्यवस्था समितिका सदस्यले  निजामति विधेयकमा ‘कुलिङ पिरियड’ दुई वर्ष राख्नुपर्नेमा जोड दिनुभएको छ । 

     

     

    समितको आजको बैठकमा उहाँहरुले विधेयकमा ‘निजामति कर्मचारी वा अन्य सरकारी सेवाबाट अवकाश भएको मितिले दुई वर्ष पूरा नभइ कुनै पनि संवैधानिक वा अन्य सार्वजनिक पदमा नियुक्त नपाउने व्यवस्था हुनुपर्नेमा जोड दिनुभएको हो ।  

     

    बैठकमा गृहमन्त्री रमेश लेखकले ‘सङ्घीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ लाई समितिले पारित गर्नुपर्नेमा जोड दिनुभयो ।

    पिपुल्स पावरको नाफा ३६% घट्यो, आम्दानी घट्दा दबाब—हकप्रद सेयर ल्याउने तयारी

    काठमाडौं । पिपुल्स पावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७८ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३६।७६ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले सो अवधिमा १ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

    नाफा घट्नुको प्रमुख कारण विद्युत बिक्री आम्दानीमा आएको गिरावट हो। गत वर्ष ८ करोड १४ लाख रुपैयाँ आम्दानी यस त्रैमासमा घटेर ६ करोड ९६ लाख रुपैयाँमा झरेको छ। यद्यपि, कम्पनीको वित्तीय खर्च २ करोड ९६ लाखबाट घटेर २ करोड २ लाख रुपैयाँमा झरेको छ, जसले आंशिक राहत दिएको छ।

    छिमेक लघुवित्तको नाफामा ३२% वृद्धि, खराब कर्जा घट्दा सुधार

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८५ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२.५९ प्रतिशतले बढी हो। गत वर्ष यो अवधिमा कम्पनीको नाफा ६४ करोड ३७ लाख रुपैयाँ थियो।

    नाफामा भएको उल्लेखनीय वृद्धिको मुख्य कारण भनेको खुद ब्याज आम्दानीमा सुधार, खराब कर्जाको कमी, र इम्पेयरमेन्ट चार्ज घट्नु हो। खुद ब्याज आम्दानी ०.३७ प्रतिशतले वृद्धि भई २ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। खराब कर्जा ३.०४ प्रतिशतबाट घटेर २.६० प्रतिशतमा झरेको छ।

    युनिलिभर नेपालको नाफा थोरै घट्यो, आम्दानीमा कमी र खर्चमा वृद्धिले दबाब

    काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४८ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०।८० प्रतिशतले कम हो। गत वर्ष सो अवधिमा कम्पनीले ४८ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

    नाफा थोरै घट्नुको मुख्य कारण कम्पनीको सञ्चालन आम्दानीमा आएको कमी र वित्तीय खर्चको वृद्धि हो। अघिल्लो वर्ष १ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ रहेको आम्दानी घटेर १ अर्ब ९६ करोड ६५ लाख रुपैयाँमा झरेको छ। उता, वित्तीय खर्च १२ करोड ८८ लाखबाट बढेर १२ करोड ९७ लाख रुपैयाँ पुगेको छ।

    एचआइडीसीएलको नाफामा ३३% गिरावट, वित्तीय आम्दानी घट्दा दबाब

    काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआइडीसीएल) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७२ करोड ८९ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ९ करोड ५ लाख रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा यसपालि ३३।१५ प्रतिशतले घटेको हो।

    नाफा घट्नुको मुख्य कारण कम्पनीको वित्तीय आम्दानीमा आएको उल्लेख्य गिरावट हो। अघिल्लो वर्ष १ अर्ब ५८ करोड ११ लाख रुपैयाँ रहेको वित्तीय आम्दानी घटेर यस त्रैमासमा १ अर्ब ५ करोड ७३ लाख रुपैयाँमा झरेको छ।

    एनएलजी इन्सुरेन्सको लाभांश घोषणा : २.६३ प्रतिशत लाभांश, बोनस र नगद दुवै

    काठमाडौं । एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० को नाफाबाट २.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्ताहरूलाई २.५० प्रतिशत बोनस सेयर र ०.१३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो।

    यो प्रस्तावित लाभांश बीमा नियामक निकाय बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र वितरण हुनेछ। अघिल्लो वर्ष कम्पनीले ५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो।

    जेनेभामा अमेरिका–चीन व्यापार वार्ता पुनः सुरु, पहिलो बैठक रचनात्मक भएको राष्ट्रपति ट्रम्पको भनाइ

    जेनेभा ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक कर कटौतीका कारण उत्पन्न व्यापार तनाव कम गर्ने उद्देश्यले अमेरिका र चीनका उच्च अधिकारीबीच आइतबार दोस्रो दिन पनि वार्ता सुरु भएको स्विस सञ्चारमाध्यमले जनाएका छन्।

     

    अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट, व्यापार प्रतिनिधि जेमिसन ग्रीर र चीनका उपप्रधानमन्त्री हे लिफेङबीच आइतबार दोस्रो दिन बिहान १० बजेपछि बन्द कोठामा वार्ता पुनः सुरु भएको स्विस किस्टोन–एटिएस समाचार एजेन्सीले जनाएको छ ।

    जेनेभामा शनिबार पहिलो दिनको वार्तापछि आफ्नै लगानीमा खेलिएको राष्ट्रपति ट्रम्पको ट्रुथ सोसल पोस्टमा ट्रम्पले  ‘धेरै राम्रो’ भएको भन्दै छलफलको प्रशंसा गर्नुभएको थियो । उहाँले वार्तालाई ‘मैत्रीपूर्ण तर रचनात्मक तरिकाले वार्तालाई पूर्ण रूपमा पुनः स्थापित’ गरिएको बताउनु भएको छ ।

    सगरमाथा संवादका लागि भारत सरकारबाट सवारीसाधन सहयोग

    काठमाडौँ । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादमा सहयोगस्वरुप भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ ।

     

     

    आज परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सवारीसाधन हस्तान्तरण गर्नुभयो । नेपाल—भारत सहयोग कार्यक्रमअन्तर्गत ती सवारीसाधन उपलब्ध गराइएका हुन् । 

     

    त्यस अवसरमा मन्त्री डा राणाले सगरमाथा संवादका लागि उपलब्ध गराइएको  सहयोगका लागि भारत सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले जलवायु परिवर्तन नेपालको मात्र नभई यस क्षेत्रकै साझा चुनौतीका रूपमा रहेकाले यसको समाधानका लागि आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।

    ९ महिनामा विप्रेषण आप्रवाह १० प्रतिशतले बढ्यो

    काठमाडौँ  । चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रेमिटयान्स आप्रवाह १०.० प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ९ महिनाको तथ्यांक अनुसार  भई ११९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो ।

     

    सार्वजनिक आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको तथ्यांक अनुसार यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।

    प्रेस सेन्टरले माग्यो पत्रकारलाई उपचारमा ५० प्रतिशत छुट

    काठमाडौं । प्रेस सेन्टर नेपालले पत्रकारलाई सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार गर्दा ५० प्रतिशत छुट दिने माग गरेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई १५ बुँदे ज्ञापनपत्र बुझाउँदै प्रेस सेन्टरले पत्रकारलाई उपचारमा ५० प्रतिशत छुट दिने विगतकै निर्णय कार्यान्वयन गर्न माग गरेको हो ।

    नागरिकको खरिद शक्ति र उत्पादन तथा उत्पादकत्व बढाउने गरी बजेट ल्याउन सुझाव

    काठमाडौँ । उद्योगी व्यवसायीको  छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी वर्षको बजेटमा सरकारले  नागरिकको क्रयशक्ति र उद्यमीको उत्पादन तथा उत्पादकत्व बढाउने कार्यक्रम ल्याउन माग गरेको छ । महासंघले आइतबार आयोजना गरेको पूर्वबजेट अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीले आगामी बजेटमा लगानीलाई प्रोत्साहन गर्ने नीति आउने आशा गरेको बताए ।

     

    यस पटकको बजेटले सामाजिक न्यायसहितको खुला अर्थतन्त्रको विस्तार, नयाँ चरणको आर्थिक सुधारका लागि संरचनात्मक परिवर्तन, निजी क्षेत्र प्रवद्र्धन, सुशासन अभिवृद्धि एवं राजस्व परिचालन तथा सार्वजनिक खर्चको प्रभावकारिता जस्ता पक्षलाई आफ्ना उद्देश्य र प्राथमिकतामा समेटिनु पर्नेमा उद्योगी व्यवसायीले सरकारलाई सुझाव दिए ।

    भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

    काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा नमुना बनाउँदै विदेश उपचार गर्न जानेको सङ्ख्या घटाउने लक्ष्यसहित बालचिकित्सा सघन एकाइ सुरुआत गरिएको बताउनुभएको छ । भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सरपीडित बालबालिकाको विशेष उपचारका लागि बालचिकित्सा सघन एकाइको आज उद्घाटन गर्दै उहाँले भारतलगायत विदेशमा उपचारका लागि जानेको सङ्ख्या घटाउन अस्पतालका सुविधा विस्तार गर्दै लगिएको बताउनुभयो । उहाँले स्वदेशमा सहज सेवा पाउने वातावरण तयार गरिने प्रतिबद्धता जनाउनुभयो ।

    गभर्नर  छनोटको ढिलाइले कतै  सरकार ढल्न लागेको त होइन् ?

    काठमाडौँ ।  गभर्नरकै छनोटले कतै सरकार त ढल्न लागेको होइन् भन्ने चर्चा तीव्र हुन थालेको छ । सत्ताधारी दल नेपाली कांग्रेसले आफू निकटलाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न चाहना दरो बनाएपछि चलेको चलखेलले नियुक्ति ढिला हुन गइरहेकाले यस्तो चर्चा चलेको  हो ।

     

    पछिल्लो समय कांग्रेसले गभर्नरमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा मौजुदा विवादित बनेको गभर्नर छनोट समितिका सदस्य विश्व पौडेलको नाम अगाडि सारेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्तारूढ कांग्रेस र एमालेका शीर्ष नेतृत्वसहित बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा पौडेलको नाम प्रस्ताव गरेयता कतै गभर्नर नियुक्तिले नै सरकार त ढल्ने होइन् भनी चर्चा तीव्र भएको हो ।

    तीनकुने प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न  शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत  पक्राउ

    काठमाडौँ ।  प्रहरीले  राजावादीले गरेको आयोजनामा भएको  तीनकुने प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न  शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई  पक्राउ गरेको  छ  ।जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले सुकेधाराबाट उनलाई पक्राउ गरिएको  जानकारी सार्वजनिक गरेका हुन् ।

     

    तीनकुने प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न बस्नेत विरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भए पनि उनी  फरार भएका थिए ।तीनकुने घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईंलगायत राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत व्यक्तिहरू यसअघि नै पक्राउ परिसकेका छन् ।

    अख्तियारद्वारा काठमाडौं उपत्यका विकास प्राधिकरण भक्तपुरमा कार्यरत एक सब–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरण, दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत एक सब–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर  गरिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा सब–इन्जिनियर कुमार पौड्यालविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

     

    अख्तियारले  ३ करोड ६३ लाख २१ हजार २०७ रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै  मुद्दा दायर गरेको छ ।उनले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ ।पौडेलले ९ वैशाख २०५१ देखि ३१ असार २०८० सम्मको अवधिमा उक्त अकुत रकम कमाएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

    सुनको मूल्य ३ सय रुपैया घटेर आइतबार प्रतितोला एक लाख ९० हजार ५०० कायम

    काठमाडौँ। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज तोलामा रु ३०० ले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला रु १०ले वृद्धि भएको छ ।

     

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ५०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९७० मा बेचबिखन भइरहेको छ । शुक्रबार प्रतितोला सुन रु एक लाख ९० हजार ८०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६० मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार २७१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । 

     

     

    यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।

     

     

    अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

     

     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij