Logo

May 13 2025 | २०८२, जेठ १गते

May 13 2025 | २०८२, जेठ १गते

images

चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरूको नाफा करिब १२ प्रतिशतले बढ्यो

चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरूको नाफा करिब १२ प्रतिशतले बढ्यो

  • काठमाडौँ । जीवन बीमा कम्पनीहरुको नाफा  करिब १२ प्रतिशतले वृद्धि भएको छ ।चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा जीवन बीमा कम्पनीहरूको नाफा मापन गर्दा यस्तो देखिएको हो ।कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आवको चैत मसान्तसम्मको अवधिमा गत आवको सोही अवधिको तुलनामा ११.९३ प्रतिशतले नाफा बढेको देखिन्छ ।

    चैत मसान्तसम्मको अवधिमा १२ वटा जीवन बीमा कम्पनीको नाफा बढेको छ । सोही अवधिमा २ वटा कम्पनीको नाफा घटेको देखिएको छ । सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा कुल ४ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ नाफा कमएका छन् । गत आवको सोही अवधिमा भने कम्पनीहरुको यस्तो नाफा ४ अर्ब ३६ करोड ६२ लाख रुपैयाँ रहेको थियो ।

    चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले ६५ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ८.६४ प्रतिशत बढी हो । कम्पनीले गत आवको सोही अवधिसम्ममा कुल ६० करोड बढीको नाफा कमाएको थियो ।

    यसैगरी  धेरै नाफा कमाउने कम्पनीको दोस्रो नम्बरमा रहेको हिमालयन लाइफ इन्स्योरेन्सले कुल ४७ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ८.४९ प्रतिशतले बढी हो । गत आवको चैत मसान्सम्ममा कम्पनीले कुल ४३ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गर्न गरेको छ । रिलायबल नेपाल लाइफले यो अवधिमा ४६ करोड ५७ लाख रुपैयाँ मुनाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको भन्दा ३६.८८ प्रतिशतले धेरै हो । यो कम्पनीले गत आवको सोही अवधिमा कुल ३४ करोड बढीको नाफा कमाएको थियो ।

    यसैगरी चालु आवको चैत मसान्तसम्ममा नेशनल लाइफले ४० करोड ८५ लाख रुपैयाँ, आइएमई लाइफले ३६ करोड ६३ लाख रुपैयाँ, सिटिजन लाइफले ३५ करोड ७६ लाख रुपैयाँ, मेट लाइफले ३४ करोड ५१ लाख रुपैयाँ, सानिमा रिलायन्सले ३३ करोड ७६ लाख रुपैयाँ र एसियन लाइफले ३३ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

    समीक्षा अवधिमा सन नेपाल लाइफले ३२ करोड ८९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २९ करोड ५७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २७ करोड सात लाख रुपैयाँ, एलआइसी नेपालले २३ करोड ६० लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले १ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

    चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा सन नेपाल लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक सबै कम्पनीको नाफामा वृद्धि भएको छ । यो अवधिमा सन नेपाल लाइफको नाफामा ३३.३६ प्रतिशतले गिरावट आएको छ भने राष्ट्रिय जीवन बीमा कम्पनीको नाफामा ३७.१० प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij