Logo

Jun 01 2025 | २०८२, जेठ १८गते

Jun 01 2025 | २०८२, जेठ १८गते

images

‘डरलाग्दो हुण्डी कारोबार’, कसरी भइरहेको छ नेपालमा हुण्डी कारोबार ?

‘डरलाग्दो हुण्डी कारोबार’, कसरी भइरहेको छ नेपालमा हुण्डी कारोबार ?

  • काठमाडौँ । नेपालको अर्थतन्त्रको मूल हिस्सा नै अहिले रेमिट्यान्सले धानेको छ । त्यसैले रेमिट्यान्सले नेपाली अर्थतन्त्रको ढुकढुकी जोगाइराखेको समेत भन्ने गरिन्छ । तर अवैध रुपमा हुने हुण्डी कारोबारले एकातिर अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको छ भने अर्कोतिर विरानो देशमा पुगेर दुख गरी कमाएको नेपाली कामदारको परिश्रमबाट प्राप्त रकम जोखिममा पर्ने गरेको छ ।प्रहरीले हुण्डी कारोबारमा संलग्नहरुलाई बेला–बेला पक्राउ गर्ने गरेको छ । यद्यपी सरकारको आँखा छलेर हुने हुण्डी कारोबार रोकिएको छैन ।

    के हो हुण्डी ?

    विदेशमा आर्जन गरेको रकम औपचारिक माध्यमबाट नपठाई कुनै निजी व्यापारी, एजेन्ट, व्यक्ति वा दर्ता नभएका एजेन्सी मार्फत् स्वदेशमा पठाउने वा स्वदेशबाट विदेशमा पठाउने कार्यलाई हुण्डी भनिन्छ । नेपालमा हुन्डी मार्फत् रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैरकानुनी कार्य हो । अनौपचारिक माध्यमबाट पैसा पठाउँदा पैसा सुरक्षित पनि हुँदैन । कसैले थाहा पाएमा कानुन बमोजिम सजाय पनि हुन्छ । 

    कार्यथलोमै लिन आउने र घरमै पुर्याईदिने भएपछि अनि धेरै शुल्क पनि नलाग्ने भएकाले मानिसहरु हुन्डीमा आकर्षित हुने गरेका छन् । हुन्डीबाट पैसा पठाउँदा बैंकिङ प्रणालीबाट पठाउँदाभन्दा कम समय लाग्ने, पैसाको स्रोत खुलाउने तथा अन्य प्रक्रियागत झन्झट पनि नहुने भन्दै हुन्डीको माध्यम प्रयोग गरेर थुप्रै नेपालीले विदेशबाट पैसा पठाउने गर्दछन् ।

    किन हुण्डी कारोबारलाई अवैध मानिन्छ ?

    हुण्डी कारोबार मार्फत विदेशबाट स्वदेशमा रकम प्राप्त भएपनि यो अत्यन्त जोखिमपूर्ण छ । खासगरी सुन तस्करी, लागु औषध कारोबार, न्यून बिजकीकरण गरि समान आयात, मानव बेचबिखन, अबैध हातहतियारको कारोबार जस्ता अपराधजन्य कार्यमा हुण्डीले प्रश्रय दिइरहेको पाइन्छ । त्यसैले पनि हुण्डी कारोबारलाई अवैध र जोखिमपूर्ण मानिएको हो । 

    हुण्डी कारोबार गर्नेहरुले कुनैपनि देशको कानून अनुसार रेमिट्यान्स कारोबार गर्नका लागि स्वीकृति लिएका हुँदैनन् । त्यसैले आफुले दश नङ्ग्रा खियाएर कमाएको पैसा बीचैमा हिनामिना हुनसक्ने जोखिम उत्तिकै छ । त्यसैले रकम हिनामिना भएमा कानुनी उपचार पाउन समेत कठिन छ । साथै आफ्नो परिश्रमको बैध रकमलाई दलाल र बिचौलियाहरुले अबैध कारोबार तथा अपराधजन्य कार्यमा लगाउने भएकाले यसलाई निरुत्साहन गर्ने भएकाले सबै व्यक्ति हुण्डी कारोबार गर्ने विषयमा सचेत हुनुपर्ने देखिन्छ । 

    हुण्डी नियन्त्रण हुन नसक्दा अन्य किसिमका अपराध पनि बढेको प्रहरी अधिकारी बताउँछन् । नेपालबाट ठूलो मात्रामा लागुऔषध विभिन्न देशमा जाने गरेको छ । यसरी बिक्री हुने लागुऔषधको पैसा नेपालमा अवैध तरिकाबाट नै आउने गर्छ । हुण्डीको अनुसन्धान नै नहुने भएकाले निर्बाध रूपमा अर्बौं रकम यसकै माध्यमबाट लेनदेन हुने गरेको छ । हुण्डीको अवैध कारोबारसँगैे सुन तस्करी पनि मौलाएको छ । लागुऔषध, हतियार तथा सुनलगायत सामान तस्करीमा पनि हुन्डीमार्फत नै आर्थिक लेनदेन हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।

    के छ कानूनमा व्यवस्था ?


    विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १७ ले दण्ड सजाय सम्बन्धी व्यवस्था गरेको छ । 

    (१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा सो अन्तर्गत जारी भएको आदेश वा निर्देशन वा परिपत्र वा सूचना वा बैड्ढले तोकिदिएको कुनै प्रक्रिया विपरीत कुनै व्यक्तिले कुनै काम गरेमा सो काम गरे बापत भएको कसूरसँग सम्बन्धित विदेशी विनिमय जफत गरी त्यस्तो व्यक्तिलाई बिगो बमोजिमको जरिबाना देखि बिगोको तीन गुणासम्म थप जरिबाना हुनेछ ।

    तर त्यस्तो कसूरसँग सम्बन्धित विदेशी विनिमय जफत गर्न नमिल्ने अवस्थाको कसूरहरुका सम्बन्धमा सो कसूरसँग सम्बन्धित विदेशी विनिमयको बिगो कायम गरी त्यसरी कायम हुन आएको बिगो बमोजिमको जरिबानादेखि बिगोको तीन गुणासम्म थप जरिवाना लगायत विभिन्न कानुनी कारबाही हुने प्रावधान छ । (यस अघि प्रकाशित समाचारमा तथ्य फरक परेकोले सम्पादन गरिएको छ )

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij