
काठमाडौँ ।देशमा हाल पश्चिमी वायु, स्थानीय प्रणाली तथा बङ्गालको खाडी र अरब सागरबाट आएका जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरले गर्दा कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने अन्य भागहरूमा मौसम सामान्यतया सफा वा आंशिक बदली रहेको छ।
कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हाल हल्का वर्षा चट्याङ्गसहित भइरहेको छ। दिउँसोको समयमा देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा पहाडी क्षेत्रका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र चट्याङ्गको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागमा भने वर्षासहित हिमपातको पनि आशंका गरिएको छ।
राति पनि कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा र अन्य क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भागहरूमा वर्षासहित हल्का हिमपातको सम्भावना कायम छ।
मौसममा यस्ता परिवर्तनहरू हुने भएकाले जनजीवन, कृषि, स्वास्थ्य, यातायात (सडक तथा हवाई) मा असर पर्न सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij