Logo

May 24 2025 | २०८२, जेठ १०गते

May 24 2025 | २०८२, जेठ १०गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ ९ शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ ९ शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  जेठ ९ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू..

    नेपाल धितोपत्र बोर्डको पुनःसंरचना : निजी क्षेत्रका प्रतिनिधि हट्ने, नेप्सेमा स्वामित्व कायम राख्ने योजना

    काठमाडौं । नेपाल सरकारले नेपाल धितोपत्र बोर्डको संरचना परिवर्तन गर्दै निजी क्षेत्रका प्रतिनिधिहरू हटाउने निर्णय अघि बढाएको छ। पूर्वसचिव रामेश्वर खनालको संयोजकत्वमा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसअनुसार बोर्ड पुनःसंरचनाको योजना बनाइएको हो।

    प्रधानमन्त्री कार्यालयका सचिव चुडामणि पौडेलको नेतृत्वमा गठित कार्यदलले एक वर्षभित्र नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (एक्यान) का प्रतिनिधिहरू बोर्डबाट हटाउने कार्ययोजना अघि सारेको छ।

     

    यसको सट्टामा अर्थ मन्त्रालयका राजस्व सचिव र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको प्रतिनिधित्व गराउने योजना बनाइएको छ। हाल बोर्डमा अर्थ सचिव र राष्ट्र बैंकका कार्यकारी निर्देशकले प्रतिनिधित्व गर्दै आएका छन्। साथै, बोर्डमा विज्ञ सदस्य थप गर्ने प्रस्तावसमेत अघि सारिएको छ।

    हिम स्टार उर्जा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति, ११ लाख कित्ता सर्वसाधारणका लागि खुला

    काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई प्राथमिक सेयर  बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्य दरमा कुल ११ लाख १९ हजार कित्ता सेयर निष्कासन गर्नेछ, जसको कुल मूल्य ११ करोड १९ लाख रुपैयाँ बराबर हुनेछ।

     

    यसको बिक्री प्रबन्धकको रूपमा एनआइसी एशिया क्यापिटल रहेको छ।

    पैसा कमाउने स्मार्ट उपाय : पुँजी बजार लगानीको रहस्य

    काठमाडौँ ।पुँजी बजारमा केही अदृश्य रहस्य रहेका हुन्छन् । यसलाई पहिचान गर्नसक्नु नै लगानी सफलताको हो । एकै समय एकथरी लगानीकर्ता बजारमा लाभका हिसाबले उच्च आशा र भरोसा राख्ने गर्दछन्, भने अर्काथरी डर र त्रासले भरिएका हुन्छन् । यसले गर्दा बजारको सूचाङ्क घटबढ भइरहन्छ । बजारको वास्तविक सुन्दरता नै यसको उतारचढाव हो । यही तलमाथि भइरहने बजारको चरित्ररुपी रसीले मान्छेलाई बजारबाट भाग्न दिँदैन, कसेर राखी राखेको हुन्छ । हरेक लगानीकर्तामा पैसाको भोक रहनु सामान्य हो तर त्यसको खुराक भेटाउन सक्ने उर्बर ठाउँ धितोपत्र बजार हुन सक्छ । यसका लागि पैसा कमाउनेभन्दा बनाउन जान्नु आवश्यक छ, पुँजी बजारले कसरी पैसा छाप्छ रु भन्ने जादुमयी रहस्य बुझेपछि मात्रै सम्भव छ ।

    सान्भि इनर्जी लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

    काठमाडौँ  ।सान्भि इनर्जी लिमिटेडले आज, जेठ ९ गतेदेखि थप सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन थालेको छ। कम्पनीले कुल २४ लाख १५ हजार ३०० कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत बिक्रीका लागि ल्याएको हो।यस अघि कम्पनीले आयोजना प्रभावित स्थानीयबासीका लागि ८ लाख ८० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ९१ हजार कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ५०० कित्ता, र कर्मचारीका लागि ५८ हजार २०० कित्ता शेयरको बाँडफाँट गरिसकेको छ।कम्पनीले आफ्नो ८८ करोड रुपैयाँको जारी पूँजीमध्ये ४३।०७ प्रतिशत बराबरको शेयर सर्वसाधारणलाई निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो। यो निष्कासनबाट कम्पनीले ३७ करोड ९० लाख रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य राखेको छ।आईपीओमा आवेदन दिन इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यो सार्वजनिक निष्कासन छिटोमा जेठ १३ गतेसम्म खुला रहनेछ। यदि सो अवधिभित्र माग अनुसार आवेदन नपरेमा भने अवधि जेठ २३ गतेसम्म लम्ब्याइनेछ। हालसम्मको प्रवृत्तिअनुसार, पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने सम्भावना रहेकोले आईपीओ छिटोमै बन्द हुने अपेक्षा गरिएको छ।लगानीकर्ताहरूले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड, जसले बिक्री प्रबन्धकको भूमिका निभाएको छ, साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखाहरूमार्फत आवेदन दिन सक्नेछन्। साथै ‘मेरो शेयर’ अनलाइन पोर्टलमार्फत पनि सजिलै आवेदन दिन सकिने व्यवस्था छ।

    तीनकुनै प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

    काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले यहाँको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

     

    परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन बुझाइएको राससलाई जानकारी दिनुभयो । उहाँले आरोपीलाई फरकफरक मुद्दा चलाउनुपर्ने राय दिइएको पनि बताउनुभयो । झण्डै दुई महिना लगाएर प्रहरीले उक्त घटनाको अनुसन्धान गरी प्रतिवेदन तयार गरेको हो ।

    आरोपीहरूमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराधलगायतका मुद्दा चलाउनुपर्ने प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

    नेपालका वाणिज्य बैंकहरूको लोन पोर्टफोलियो परीक्षण बंगलादेशी कम्पनीले गर्ने

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशका १० वटासम्म वाणिज्य बैंकहरूको लोन पोर्टफोलियो (ऋण सम्पत्ति) परीक्षण गर्न बंगलादेशको ढाकास्थित हाउलादर युनुस एन्ड कम्पनीलाई छनोट गरेको छ। बैंकहरूको सम्पतिको गुणस्तर  मूल्यांकन गर्न राष्ट्र बैंकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा प्रक्रियामार्फत विभिन्न कम्पनीहरूमध्ये हाउलादरलाई प्राविधिक रूपमा योग्य ठहर गर्दै जिम्मेवारी दिएको हो।

     

    यस कार्यको लागि छनोट प्रक्रियामा श्रीलंका, भारत र बंगलादेशका गरी कुल ६ कम्पनीहरू सर्टलिस्टमा परेका थिए। तीमध्ये उत्कृष्ट मूल्यांकन प्राप्त गर्दै हाउलादर कम्पनीले लोन पोर्टफोलियो रिभ्यूको जिम्मा पाएको राष्ट्र बैंकले जनाएको छ। यो परीक्षणले वाणिज्य बैंकहरूको वित्तीय स्थायित्व, जोखिम व्यवस्थापन क्षमता र ऋण प्रवाहको गुणस्तरमा पारिरहेको प्रभावबारे स्पष्ट जानकारी दिने अपेक्षा गरिएको छ।

    सामाजिक र आर्थिक समृद्धिको अगुवाइ माओवादीले गर्छः अध्यक्ष दाहाल

    पर्वत । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनपछि सामाजिक र आर्थिक समृद्धिको अगुवाइ माओवादीले गर्ने बताउनुभएको छ ।

     

    ‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’को क्रममा आज पर्वत सदरमुकाम कुश्मामा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा माओवादीले कसैको सहारा नलिने बताउनुभयो । अबको निर्वाचनमा माओवादी आफ्नै तागतले उभिने उहाँको भनाइ छ ।

    नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने , ९० प्रतिशत भौतिक प्रगति सम्पन्न

    कीर्तिपुर ।आगामी पुसपछि नागढुङ्गा सुरूङमार्ग सञ्चालनमा आउने भएको छ । अहिलकै गतिमा काम गर्ने वातावरण भएमा आगामी छ महिनाभित्र सुरूङमार्ग सञ्चालनमा आउने गरी तयारी गरिएको हो ।

     

    कूल ९० प्रतिशत भौतिक प्रगति गरी हाल १० प्रतिशतको काम बाँकी रहेको नागढुङ्गा सुरूङमार्गमा उपकरणहरूको संयोजन चलिरहेको आयोजनाको परामर्शदाता संस्था निप्पन कोइका इञ्जिनियर रमेशप्रसाद कोइरालाले राससलाई बताउनुभयो । 

    “अहिले उपकरणहरूको परीक्षण र समग्र सुरूङमार्गको कार्यमा त्यसलाई संयोजना सम्झौताअनुसार आगामी कात्तिकको पहिलो साता निर्माण सम्पन्न गरी सञ्चालक निकायलाई हस्तान्तरण गर्ने लक्ष्यमा छौँ,” इञ्जिनियर कोइरालाले भन्नुभयो, “अहिले उक्त सञ्चालक निकायको छनोटको प्रक्रिया अघि बढिरहेको छ र त्यो निकाय छनोट भएपछि पनि त्यसपछि तालिम लिनुपर्ने हुन्छ । त्यसमा पनि दुई महिना जति लाग्न सक्छ ।” 

    आईएमएफको  सर्त पूरा गर्न  १० वाणिज्य बैंकको लेखा परीक्षण असारबाट सुरु हुने

    काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विस्तारित कर्जा सुविधा दिँदै गर्दा राखेको सर्त  पूरा गर्न  १० वाणिज्य बैंकको पूर्ण लेखा परीक्षण आगामी असारदेखि गरिने भएको छ ।नेपाल राष्ट्र बैंकले  दोस्रो चरणमा सुरु गरेको अन्तर्राष्ट्रिय लेखा परीक्षकबाट पूर्ण लेखा परीक्षण गर्ने प्रक्रिया करिब अन्तिम चरणमा पुगेको हो ।

     

    कोषले विस्तारित कर्जा सुविधाको किस्ता रोक्ने चेतावनी दिएपछि गत वर्ष केन्द्रीय बैंकले खुला प्रतिस्पर्धाबाट अन्तर्राष्ट्रिय लेखा परीक्षक तोक्ने प्रक्रिया सुरु गरेको थियो । तर, छनोट भएको केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिस भारतले अधिक बजेट माग गरेपछि खारेज भई पुनः नयाँ प्रक्रिया थालनी भएको छ ।

    यार्सागुम्बा सङ्कलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

    दार्चुला । यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय बन्द गरिएका छन् । यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिका क्षेत्रका शिक्षक, अभिभावक र विद्यार्थी लेक गएपछि विद्यालय बन्द गरिएका हुन् । 

     

     

    गाउँपालिकाका शिक्षा शाखा अधिकृत वीरेन्द्रसिँह साउदले यार्सा सङ्कलनको ‘सिजन’ सुरु भएकाले जेठ ४ गतेदेखि पालिकाभरिका विद्यालय २० दिनका लागि बन्द गरिएको जानकारी दिनुभयो । बर्खे बिदाबाट मिलान गर्ने गरी हाल विद्यालय बन्द गरिएका र यही जेठ २४ गते खुला गरिने उहाँले बताउनुभयो ।

    सरकारले राष्ट्र बैंकलाई कार्ययोजनाका १६ कार्य मध्ये पहिलो वर्षमा तीनवटा गर्न भन्यो

    काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकलाई   उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग–२०८१ ले दिएको सुझावमध्ये १६ वटा कार्यान्वयनका लागि दिएको छ ।खनाल आयोगले तयार पारेको सुझाव कार्यान्वयनका लागि ‘आर्थिक सुधार कार्यान्वयन कार्ययोजना–२०८२’ कार्ययोजनाका  नेपाल राष्ट्र बैंकले १६ वटा काम गर्नुपर्ने छ ।

     

     तीनवटा काम एक वर्षभित्र गर्नुपर्ने छ भने बाँकी रहेका ६ वटा काम निरन्तर जारी रहने जनाइएको छ ।  राष्ट्र बैंकले गर्ने काम आर्थिक सुधारमा केन्द्रित हुनेछन् । राष्ट्र बैंकले गरेको कामको अनुगमन र सहजीकरण अर्थ मन्त्रालयले गर्ने छ ।

    यसैगरी  मौद्रिक व्यवस्थापनका लागि ब्याजदर कोरिडरलाई प्रभावकारी कार्यान्वयन गर्दै अन्तरबैंक ब्याजदर नीतिगत दरको नजिक राख्ने, ब्याजदर कोरिडरको ब्याण्डलाई क्रमशः कम गर्दै लैजाने छ । यसबाट अन्तरबैंक ब्याजदरर नीतिगत ब्याजदरबीचको अन्तर कम हुने जनाइएको छ ।

    जनकपुर चुरोट कारखानासहित पाँच सरकारी कम्पनी एक वर्ष भित्र खारेज गरिँदै

    काठमाडौँ । सरकारले एक वर्षभित्र पाँच सार्वजनिक संस्थान खारेज गर्न लागेको छ  । सरकारले  सरकारको पूर्ण तथा अधिकांश स्वामित्व रहेका जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र, नेशनल कन्स्ट्रक्सन कम्पनी नेपाल, तथा नेपाल ओरियन्ड म्याग्नेसाइटलाई खारेज गर्नेगरी  कार्ययोजना बनाएको हो । 

     

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सोमबार स्वीकृत भएको कार्ययोजनामा उक्त कार्य एक वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । कार्ययोजनामा  खारेज हुने संस्थानको सम्पत्ति नेपाल सरकारको नाममा ल्याएर व्यवस्थापन गर्ने समेत उल्लेख गरिएको छ । अर्थ मन्त्रालयको जिम्मेवारी तोकिएको यो कामको अनुगमन प्रधानमन्त्री कार्यालयले गर्नेछ ।

    अकाम होटल लिमिटेडको आम्दानीमा २४.८५ प्रतिशतको वृद्धि, तर नाफामा जान अझै चुनौती

    काठमाडौं ।अकामा होटल लिमिटेडले सन् २०२४ मा २२ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २४.८५ प्रतिशतले बढी हो। सन् २०२३ मा कम्पनीको आम्दानी १७ करोड ७० लाख रुपैयाँ थियो भने सन् २०२२ मा १० करोड रुपैयाँ मात्र थियो। यो विवरण रेटिङ संस्था केयर रेटिङ नेपाल ले सार्वजनिक गरेको हो।

     

    आम्दानीमा आएको सुधारको प्रमुख कारण होटलको अकुपेन्सी दरमा भएको उल्लेखनीय वृद्धि हो। अघिल्लो वर्षको ३० प्रतिशत अकुपेन्सी दर यो वर्ष बढेर ४६ प्रतिशत पुगेको छ। मिटिङ, सेमिनार र प्रदर्शनी कार्यक्रमको संख्यामा वृद्धि भएसँगै होटलको सेवा उपयोग दर पनि बढेको देखिएको छ।

    नेपालमा सुनचाँदीको भाउ घट्यो: छापावाल सुन तोलामा ११ सयले घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा कायम

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले घटेर १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ ।, शुक्रबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर २ हजार ५ रुपैयाँ कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ३१३.३६ डलर र चाँदी प्रतिऔंस ३३.१७ डलरमा कारोबार भइरहेको छ ।

    बद्री केसी समूहलाई झट्कालाग्ने गरी परराष्ट्र मन्त्रालयद्वारा एनआरएनएको आधिकारिकता श्रेष्ठ समुहलाई दिदै सबै दूतावासलाई सर्कुलर

    काठमाडौं,परराष्ट्र मन्त्रालयले सर्वोच्च अदालतको परमादेशअनुसार सम्पन्न एकता महाधिवेशनबाट निर्वाचित भएको महेशकुमार श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यसमितिबारे सबै नेपाली दूतावासलाई सर्कुलर पठाएको छ । योसङ्गै एनआरएनए दर्ता भएको मन्त्रालय परराष्ट्र मन्त्रालयले श्रेष्ठ नेतृत्वको नवनिर्वाचित कार्यसमितीलाई आधिकारिकता दिएको छ । परराष्ट्र मन्त्रालयले श्रेष्ठ नेतृत्वको कार्यसमिति निर्वाचित भएको जानकारीसहित सहकार्य गर्न बिहीबार सबै दूतावासलाई सर्कुलर पठाएको हो । यो निर्णयसङ्गै सचिवालय कब्जा गर्दै आएको बद्री केसी समुहलाई ठूलो झट्का लागेको छ ।  मन्त्रालयकी शाखा अधिकृत सृजना कोइरालाद्वारा हस्ताक्षरित पत्रमा श्रेष्ठ नेतृत्वको कार्यसमिति सर्वोच्च अदालतको परमादेशअनुसार सम्पन्न एकता महाधिवेशनबाट निर्वाचित भएपछि उनिहरुले वैशाख ३० मा लेखेको पत्रअनुसार सबै दूतावासलाई जानकारीका लागि पत्र पठाइएको उल्लेख गरिएको छ ।

    देशका अधिकांश भागमा बदली हुने पूर्वानुमान

    काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

     

    आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम  सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने  छ ।

    आजको लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा कायम भएको छ ।
     
    युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ २५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ०५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ १६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।
     
    अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । 
     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij