
काठमाडौं । कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट भएको विरोधमा भन्सार कर्मचारी र एजेन्ट आन्दोलनमा उत्रिएका छन् ।गत शनिबार राति भन्सार कार्यालयको परिसरमै प्रमुख भन्सार अधिकृत तिम्सिनामाथि धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामीको टोलीले कुटपिट गरेको बिरोधमा भन्सार कर्मचारी र भन्सार एजेन्ट महासंघ आन्दोलनमा उत्रिएको हो ।
कुटपिटमा सङ्लग्न नगर प्रहरी प्रमुख धामीसहितलाई कारबाही र सुरक्षाको माग गर्दै सेवा ठप्प पारिएको कैलाली भन्सार कार्यालयलका एक कर्मचारीले नयाँसडकलाई बताए । भन्सार कार्यालय बन्द भएपछि आयात र निर्यात आज सम्म प्रभावित भएको छ ।
भन्सार एजेन्ट महासंघले एक विज्ञप्ति जारी गर्दै घटनाको भत्सर्ना गरेको छ । महासंघका अध्यक्ष प्राचिन कुमार थैबद्धार जारी विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिनको माग गर्दै कर्मचारीको सुरक्षाको ग्यारेन्टी गर्न प्रशासनलाई आग्रह गरिएको छ । प्रमुख भन्सार अधिकृत कुटपिटको विरोधमा देशभरका सबै भन्सार एजेन्टहरुले कालो कालो पट्टी बाँधेर विरोध जनाएका छन ।
के हो घटना ?
धनगढी–अत्तरिया छ लेन सडकको ट्री गार्डेनमा लगाइएको जाली स्कारपियोले भत्काएको सूचनापछि बिहीबार राति १० बजे नगर प्रहरी प्रमुख धामीको टोली उक्त गाडीको खोजीका लागि भन्सारको बेरियलसम्म पुगेको थियो । सो क्रममा भन्सार प्रमुख तिम्सिना र नगर प्रहरी प्रमुख धामीबीच विवाद भएको थियो ।
विवादपछि भन्सार कार्यालयभित्रै प्रवेश गरेर प्रमुख भन्सार अधिकृत तिम्सिनामाथि कुटपिट भएको आरोप लागेको हो ।
नगर प्रहरी निरीक्षक धामीले भने आफूहरुले भन्सार प्रमुखमाथि कुटपिट नगरेको र सामान्य धरपकड मात्रै भएको बताए । ‘ सडकको जाली भत्काउने गाडीको खोजीमा हामी भन्सारको बेरियलसम्म पुगेका थियौं,’ नगर प्रहरी प्रमुख धामीले भने, ‘त्यहाँ भन्सार प्रमुख मापसे गरेको अवस्थामा भेटिनुभएको थियो । तर, उहाँले हाम्रो गाडी थुन्ने धम्की दिँदै गाडीमा हान्न थालेपछि त्यस्तो नगर्न आग्रह गरेका थियौं ।’
सडकमा विवाद भएपछि भन्सार प्रमुख तिम्सिना भन्सार कार्यालयभित्र पसेका थिए । ‘हामीले उहाँर्लाइ चिनेका पनि थिएनौं,’ नगर प्रहरी प्रमुख धामीले भने, ‘भन्सार कार्यालयभित्र अनाधिकृत व्यक्ति पसेको आशंकामा हामी पनि उहाँकै पछाडि गएका थियौं । सो क्रममा सामान्य धरपकड भएको हो । केही समयपछि पुगेको प्रहरीले उहाँ नै भन्सार प्रमुख हो भनेर परिचय गराएपछि हामी फर्किएका हौं ।’
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक९एसपी० बाल नरसिंह राणाले भन्सार प्रमुख र नगर प्रहरीबीच विवाद भएको खबरपछि राति प्रहरी पठाएको जानकारी दिए । ‘हाम्रो टोली त्यहाँ पुग्दा विवाद साम्य भइसकेको थियो,’ उनले भने, ‘अहिलेसम्म कुनै पक्षबाट पनि निवेदन आएकौ छैन ।’
कैलाली भन्सार प्रमुखमाथि कुटपिटको आरोपमा नगर प्रहरी प्रमुखसहित चार जना पक्राउ :
कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट गरेको आरोपमा धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामीसहित चार जना पक्राउ परेका छन्। शनिबार राति भन्सार कार्यालय परिसरमै भएको घटनापछि कैलाली प्रहरीले उनीहरूलाई धनगढीबाटै पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार पक्राउ पर्नेमा नगर प्रहरी निरीक्षक धामीसँगै उनका सवारी चालक रतनबहादुर मल्ल, हवल्दार मणीदत्त भट्ट र प्रहरी जवान जितेन्द्रसिंह धामी रहेका छन्।
भन्सार कार्यालयले ूअभद्र व्यवहारू अन्तर्गत दिएको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। यसैबीच, धनगढी उपमहानगरपालिकाले नगर प्रहरी प्रमुख धामीसँग २४ घण्टे स्पष्टीकरण समेत मागेको छ।
घटना शनिबार राति करिब १० बजे ट्री गार्डेनमा राखिएको जाली स्कारपियो गाडीले भत्काएको सूचनापछि नगर प्रहरी टोली उक्त गाडीको खोजी गर्दै भन्सार कार्यालय परिसरमा पुगेको क्रममा भएको हो। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
भन्सार एजेन्ट महासंघले जारी गरेको विज्ञप्ति यस्तो छ :
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij