Logo

May 28 2025 | २०८२, जेठ १४गते

May 28 2025 | २०८२, जेठ १४गते

images

कञ्चनपुरमा राजस्व सङ्कलन लक्ष्यभन्दा कम, आर्थिक मन्दी र सीमित कारोबार कारण

कञ्चनपुरमा राजस्व सङ्कलन लक्ष्यभन्दा कम, आर्थिक मन्दी र सीमित कारोबार कारण

  • दोधारा चाँदनी । कञ्चनपुरमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुनसकेको छैन । कोरोना महामारीपछि शिथिल बनेको अर्थतन्त्रलाई गतिशील बनाउन सरकारका तर्फबाट सुधारका प्रयास भए पनि लक्ष्यअनुसार राजस्व सङ्कलन हुननसकेको हो ।

    कञ्चनपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षमा रु ७४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य पाएकामा वैशाख मसान्तसम्म रु ४९ करोडमात्र सङ्कलन गरेकोे छ । सरकारले हरेक वर्ष लक्ष्य बढाउँदै लैजाने गरेकामा आर्थिक मन्दीले आयातनिर्यात घटेकाले लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको भन्सार कार्यालयका प्रमुख राजनबाबु काफ्लेले बताउनुभयो ।

    “कोरोनापछि निर्यात शून्य छ भने आयात पनि कम भएको छ । सोहीकारण लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकिरहेको छैन”, उहाँले भन्नुभयो, “विभागले बर्सेनि राजस्व सङ्कलनको लक्ष्य बढाउने गरेको छ, यो साना भन्सार भएकाले हामीलाई लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न कठिनाइ हुन्छ ।”

    प्रमुख काफ्लेका अनुसार यहाँ ठूलो परिणाममा कारोबार नहुने तथा ठूला मालवाहक सवारीसाधन नआउने भएकाले न्यून राजस्व सङ्कलन हुने गरेको छ । शारदा ब्यारेज सीमित समयका लागि मात्र खुला हुने भएकाले पनि राजस्व सङ्कलनमा असर परेको उहाँको भनाइ छ । 

    कार्यालयले आर्थिक वर्ष २०७८र७९ मा रु ५२ करोड राजस्व सङ्कलनको लक्ष्य राखेकामा रु ४६ करोड, आव २०७९र८० मा रु ५८ करोड लक्ष्य राखेकामा रु ४२ करोड, आव २०८०र८१ मा रु ५९ करोड लक्ष्य राखेकामा रु ५४ करोड मात्र राजस्व सङ्कलन भएको थियो । चालु आवमा वैशाख मसान्तसम्मको राजस्व हेर्दा लक्ष्यअनुसार सङ्कलन नहुने भन्सार कार्यालयले जनाएको छ । 

    त्यसैगरी आन्तरिक राजस्व कार्यालय र करसेवा कार्यालयको तथ्याङ्क अनुसार वैशाख मसान्तसम्म सुदूरपश्चिममा रु पाँच अर्ब बढी राजस्व सङ्कलनको लक्ष्य राखिएको थियो । 

    डोटीमा दुई दशमलव ४५ प्रतिशत र कञ्चनपुरमा शून्य दशमलव ९३ प्रतिशत राजस्व सङ्कलनमा कमी आएको छ । लम्कीमा १६ दशमलव छ प्रतिशत, कैलालीमा चार दशमलव १३ प्रतिशत र अछाममा दुई दशमलव ९४ प्रतिशत राजस्व सङ्कलनमा कमी भएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी विजय भुसालका अनुसार कञ्चनपुरमा निर्माण व्यवसायीले समयमा भुक्तानी नपाउनु, कारोबार घट्नु तथा अन्तःशुल्कमा पनि कमी आएकाले राजस्व घटेको हो । अघिल्लो आवको वैशाख मसान्तसम्म रु एक अर्ब ८२ करोड राजस्व सङ्कलन भएको थियो । 

    चालु आवको वैशाख मसान्तसम्म रु एक अर्ब ८१ करोडमात्र राजस्व सङ्कलन भएको छ । उहाँले भन्नुभयो, “हामीले तथ्याङ्क हेर्दा रु पाँच करोडभन्दा बढी कारोबार गर्ने करदाताको चैत मसान्तसम्मको कारोबार अघिल्लो आवको भन्दा रु तीन अर्ब ६० करोडको हाराहारीमा घटेको देखिन्छ ।” 

    सुदूरपश्चिम सरकारले आवको सुरुआतमा बजेट शून्यताको अवस्थाबाट गुज्रिनुपरेका कारण पनि राजस्व सङ्कलनमा असर परेको होे । बजेट पारित नहुँदै प्रदेश सरकार अल्पमतमा परेपछि प्रदेशले एक महिना बजेट शून्यता खेप्नुपरेको थियो । जसले गर्दा सबैखाले आर्थिक गतिविधि ठप्प भएका थिए । यसले पनि राजस्व सङ्कलनमा ठअसर पारेको सरकारी अधिकारीहरू बताउँछन् । सुदूरपश्चिममा व्यापारिक नाका नभएकाले यहाँ राजस्व सङ्कलन हुन नसकेको स्थानीय व्यवसायी बताउँछन् ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले सरकारले हरेक वर्ष राजस्व सङ्कलन गर्ने लक्ष्यमात्र बढाउने तर कारोबार बट्दै जाँदा राजस्व सङ्कलनमा कमी आएको बताउनुभयो । 

    “सुदूरपश्चिममा व्यापारिक नाका छैनन् । पश्चिमीनाका गड्डाचौकी सानो छ, शारदा ब्यारेज सीमित समयका लागि मात्र खुल्छ, ठूलो मात्रामा व्यवसायीका सामान आउँदैनन्”, मल्लले भन्नुभयो, “अहिले व्यापार व्यवसायमा कमी आउनु, राजस्व सङ्कलनको लक्ष्य बढ्नुलगायत कारणले लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको हो ।” सरकारले नाकामा हुने चोरी, तस्करी नियन्त्रण गर्न सके राजस्व सङ्कलनमा वृद्धि हुने उहाँले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij