Logo

Jun 03 2025 | २०८२, जेठ २०गते

Jun 03 2025 | २०८२, जेठ २०गते

images

संरचनागत खाका तयार नभइ बजेटमा आयो नियो बैंक

संरचनागत खाका तयार नभइ बजेटमा आयो नियो बैंक

  • काठमाडौँ । संरचनागत खाका तयार नभइ बजेटमा नियो बैंकको घोषणा गरिएको छ ।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सदनमा वाचन गरेको  आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमार्फत नियो बैंक स्थपना गर्ने घोषणा गरेका हुन् । 

    नियो बैंक स्थापना भनेको सरकारको नीति तथा कार्यक्रममा डिजिटल बैंक स्थापनाको घोषणाको मूर्तिकरण गर्ने गरी बजेटमा ल्याइएको सम्बद्ध जानकारहरूको भनाइ छ ।बजेट अघि सरकराले राष्ट्रपति रामचन्द्र पौडेलमार्फत नीति तथा कार्यक्रम ल्याएको थियो । राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा  सरकारले डिजिटल बैंक स्थापना गर्ने घोषणा गरेका थिए । राष्ट्रपतिको घोषणामा नीतिगत तथा कानूनी व्यवस्था गरी सरकारले डिजिटल बैंक स्थापना गर्ने भनिएको थियो । नीति तथा कार्यक्रम प्रस्तुत भएको एक महिना पछि सार्वजनिक भएको बजेटमा  सरकारले डिजिटल बैंकलाई नियो बैंक भनी स्थापना गर्ने घोषणा गरेको छ ।

    राष्ट्र बैंकका पदाधिकारीहरूका अनुसार नीति तथा कार्यक्रममा डिजिटल बैंक भनेर ल्याइएकै थियो । बजेटमा नियो बैंक भनेर आएको हो । अन्तर्राष्ट्रिय अभ्यासमा पनि नियो बैंक नै भनिन्छ । 

    राष्ट्र बैंकका पदाधिकारीहरू पनि नियो बैंक डिजिटल बैंक भने पनि त्यसको संरचनागत खाकाबारे जानकारी छैनन् । सैद्धान्तिकरूपमा अन्तर्राष्ट्रिय प्रचलनमा रहे अनुसार संरचनागतरूपमा स्थापना गरिने जनाइएको छ ।नियो बैंकको संरचना भौतिकरूपमा जत्रतत्र सर्वत्र देखिने हुँदैन् । त्यसैले यसको संरचना डिजिटली ठोस र सुरक्षित हुनुपर्ने उनीहरू बताउँछन् । अहिलेका बैंकहरूले दिने डिजिटल सुविधा भन्दा फरक खालको हुनुपर्छ । सेवा सहज र छरितो हुनुपर्छ । अहिलेको डिजिटल सेवामा भएको गडबडीका लागि केही भयो भने बैंक धाउनु पर्ने नै भए त्यस्तो डिजिटल बैंकको काम हुँदैन् । त्यसैले डिजिटली ठोस र सुरक्षित हुनु आवश्यक हुन्छ ।

    यस विषयमा बंैकसम्बन्धी विषयलाई समेटर अगाडि बढाइएको बाफिया विधेयक संसदमा छ । यो विधेयक पारित भएपछि त्यसका प्रावधानहरूको अधीनमा रहेर यसका संरचनाहरू निर्माण हुनेछ ।बाफिया ऐनको दफा ४९ मा थप प्रावधान राख्दै सरकारले डिजिटल बैंक सञ्चालन गर्न सक्ने व्यवस्था अघि सारेको छ । उक्त विधेयकमा भनिएको छ  ‘यो ऐन, अन्य प्रचलित कानुन, प्रबन्धपत्र र नियमावली तथा राष्ट्र बैंकले तोकेको सीमा, सर्त वा निर्देशनको अधीनमा रही डिजिटल बैंकले राष्ट्र बैंकले तोके बमोजिम निक्षेप लिने, कर्जा प्रवाह गर्ने समेतका बैंकिङ तथा वित्तीय कारोबार गर्न सक्नेछ’ 

    यसैगरी बाफियाको दफा ३२ को उपदफा २ मा संशोधन गरेर डिजिटल बैंकलाई बैंक तथा वित्तीय संस्थाको नाम प्रयोगको अधिकार दिने व्यवस्था प्रस्ताव गरिएको छ । नियो बैंकमा स्वदेशी लगानीकर्ताकै मात्रै बनाउने कि विदेशी लगानीकर्ता पनि ल्याउने जस्ता विषय पनि त्यसपछि नै बन्ने देखिएको छ ।संसदबाट बाफिया पारित भएपछि नियो बैंक स्थापनाका लागि निजी क्षेत्रसँग प्रस्ताव माग गरिने अपेक्षा गरिएको छ । सो अनुसार अनुमतिपत्र (लाइसेन्स) दिएर स्थापनाको प्रक्रिया अगाडि बढाइने विश्वास गरिएको छ ।  नियो बैंकको नियमन राष्ट्र बैंककै अधीन रहनेछ ।

    अहिले वाणिज्य बैंक र विकास बैंकले केही हदसम्म डिजिटल बैंकिङ सेवालाई अगाडि बढाए पनि सेवाग्राहीलाई बढी आर्थिक भार परेको गुनासो पनि छ । नियो बैंक स्थापना पछि विभिन्न सेवा शुल्क पनि सस्तो हुने अपेक्षा छ । 
    क्यासलेस हुँदै गएका देशहरूमा नियो बैंकका प्रदर्शन आकर्षक बन्दै गएको छ ।अमेरिकामा भरो बैंक, बेलायतको मन्जो, जर्मनीको एन२६ र भारतमा जुपिटर, एफआई मनि नियो बैंकका रुपमा सञ्चालनमा रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij