
काठमाडौँ । काठमाडौँको तीनकुनेमा मुख्य कार्यालय रहेको नेपाल क्यान मुभको डरलाग्दो कर छली प्रकरण बाहिर आएको छ । देश भित्र र बाहिर कुरियर र कार्गोलगायतका व्यवसाय गर्दै आएको नेपाल क्यान मुभमा राजस्व अनुसन्धान विभागले कर छलेको आशंकामा केही हप्ता अगाडि छापा हानी अनुसन्धान गरेपछि क्यान मुभको डरलाग्दो राजस्व छली प्रकरण बाहिर आएको हो ।
समाचार स्रोतका अनुसार राजस्व अनुसन्धान विभागले नेपाल क्यान मुभ प्रालि र उसका सिस्टर कम्पनीहरू नेपाल क्यान ट्रान्सपोर्ट, नेपाल क्यान प्याकेजिङ प्रालिलगायतको कारोबार र उसको हिसाबकिताब र राजस्व छलीको अनुसन्धान गरहेको छ । राजस्व अनुसन्धान विभागले अनुसन्धान गर्दा नेपाल क्यान मुभ र उसका सिस्टर कम्पनीहरूले झण्डै एक अर्ब बढी राजस्व छली गरेको निष्कर्ष निकालेको बताइन्छ । नेपाल क्यान मुभका सञ्चालकहरू मध्ये सुदिप आर्चाय र जीवन ज्ञावाली अस्ट्रेलियामा बस्छन् । नेपाल क्यान मुभ र उसका सिस्टर कम्पनीहरूको आईटी ह्याण्डलिङ अस्ट्रेलियाबाटै सुदिप आचार्यले गर्दछन् ।सञ्चालकहरू मध्ये मनिषप्रसाद आचार्य र गंगाबहादुर थापा तथा डेपुटी सीईओ संगम पौडेल केही दिन यतादेखि राजस्वको थुनामा रहेका छन् । विभागले कम्पनीका अन्य सञ्चालकहरूलाई समेत खोजी रहेको छ ।
नेपालको सबै भन्दा ठुलो कुरियर एण्ड कार्गो कम्पनी नेपाल क्यान मुभले सय करोड भन्दा बढी राजस्व छलेको पाइए पछि राजस्व अनुसन्धान विभागले देशभर उसका कारोबारहरूमाथि निगरानी बढाएको छ । विभागले नेपाल क्यान मुभका मालवस्तु लोडेड दुई गाडीको राजस्व अनुसन्धान कार्यालय इटहरीमा अनुसन्धान गरिरहेको छ ।राजस्व अनुसन्धान कर्यालय कोहलपुरले नेपाल क्यान मुभको कैलाली , नेपालगञ्ज र सुर्खेत शाखाहरूमा समेत अनुसन्धान बढाएको बताइएको छ ।राजस्व अनुसन्धान कार्यालय कोहलपुरले सुर्खेत ,धनगढी र नेपालगञ्ज एयरपोर्टबाट नेपाल क्यान मुभले ओसारपासर गरेका मालवस्तुहरू गाडीसहित नियन्त्रणमा लिएको छ ।
समाचार स्रोतका अनुसार राजस्व अनुसन्धान विभागले नेपाल क्यान मुभ प्रालिको कारोबार र उसको हिसाबकिताबको अनुसन्धान गर्दा १ अर्ब राजस्व छली गरेको निष्कर्ष निकाल्दै सोही बराबरको रकम धरौटी राख्न भनेको छ । आयकर ,मूल्य अभिवृद्धि करलगायत शीर्षकका करहरू छलेको पाइएपछि राजस्व अनुसन्धान विभागले धरौटी राख्न भनेको बताइन्छ । विभागले मागेको धरौटी रकम नबुझाएपछि केही सञ्चालक र डेपुटी सीईओ राजस्वको थुनामा छन् ।
नेपाल क्यान मुभले मालवस्तुको आयात र निर्यात गर्न कार्गो सेवा , नेपाल भित्र र विदेशमा कुरियर र डेलिभरी सेवा , लजिस्टिक र गोदाम व्यवस्थापन सेवा , मालवस्तुको थल र जल वायु ढुवानीलगायतका सेवामूलक कामहरू गर्दै आएको छ ।विभागले नेपाल क्यान मुभ र उसका सिस्टर कम्पनीहरूको अनुसन्धान पूरा गरी छिट्टै अदालत पठाउने तयारी गरेको बताइन्छ । यससम्बन्धमा नेपाल क्यान मुभका ग्रुप सीईओ सुजित आचार्यले अहिले केही नबताउने प्रतिक्रिया दिए ।
यो पनि पढ्नुहोस
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij