काठमाडौं। छ्याङ्दी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर (१:१ अनुपातमा) आज शुक्रबारदेखि खुला गरेको छ। कम्पनीले कुल ३८ लाख ६९ हजार ७७५ कित्ता सेयर निष्कासन गर्दै १ सय रुपैयाँ अंकित मूल्यमा ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको हो।
यस हकप्रद सेयरमा आवेदन दिन योग्य हुनका लागि लगानीकर्ताले जेठ १ गतेसम्म कम्पनीको सेयर आफ्नो नाममा कायम गरिसकेको हुनुपर्छ, किनभने कम्पनीले जेठ २ गते बुक क्लोज गरिसकेको छ। आवेदन दिने अन्तिम म्याद असार १२ गतेसम्म रहेको छ।
हकप्रद सेयरमा आवेदन ग्लोबल आइएमई क्यापिटल लिमिटेड (नक्साल, काठमाडौं) तथा ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरूबाट दिन सकिन्छ। साथै, धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको शाखाबाट र ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सकिनेछ।
हाल छ्याङ्दी हाइड्रोपावरको चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ। हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी दोब्बर भई ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij