Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

१५ शय्याको अस्पतालमा ५४ शय्याको सेवा, करारका कर्मचारीमा भर

१५ शय्याको अस्पतालमा ५४ शय्याको सेवा, करारका कर्मचारीमा भर

  • सोलुखुम्बु ।सोलुखुम्बुस्थित फाप्लु जिल्ला अस्पताल १५ शय्याको क्षमता भए पनि हाल दैनिक रूपमा ५० भन्दा बढी बिरामीलाई सेवा दिँदै आएको छ। क्षमताभन्दा धेरै बिरामी भर्ना गर्नुपर्दा अस्पतालमा चाप अत्यधिक बढेको छ। अस्पतालकी निमित्त प्रमुख डा। श्रेया पङ्गेनीका अनुसार प्रसूति, आकस्मिक, स्त्रीरोग लगायतका सेवा सीमित जनशक्ति र संरचनामा दिनुपर्ने बाध्यता छ। भौतिक पूर्वाधार पर्याप्त भए पनि जनशक्ति अभावकै कारण सेवा सञ्चालनमा कठिनाइ भइरहेको छ।

    जिल्ला अस्पतालमा १८ जना स्थायी दरबन्दीमध्ये हाल पाँच जना मात्र कार्यरत छन्। तीमध्ये एक जना डाक्टर, एक जना वरिष्ठ नर्सिङ निरीक्षक, दुई जना अनमी र एक जना कार्यालय सहयोगी छन्। बाँकी १३ पद रिक्त छन्, जसले गर्दा सेवा प्रणाली असन्तुलित र अधुरो बनेको छ। डा। पङ्गेनीका अनुसार एक जना डाक्टरले सबै प्रकारका बिरामी सम्हाल्नुपर्ने बाध्यता छ, जसले गर्दा कहिलेकाहीँ २४ घण्टासम्म ड्युटी गर्नुपर्ने अवस्था आउँछ। उनी मानसिक रूपमा निकै दबाब महसुस गरिरहेको बताउँछिन्।

    अस्पतालमा कार्यरत स्टाफ नर्स दिप्ती चौधरीका अनुसार आठ घण्टा ड्युटीको साटो दैनिक १२–१३ घण्टासम्म काम गर्नुपर्ने अवस्था छ। शारीरिक र मानसिक थकान अत्यधिक छ भने व्यक्तिगत जीवनसँगको सन्तुलन समेत हराउँदै गएको छ।

    हाल अस्पताल करारमा आधारित जनशक्तिको भरमा सञ्चालन भइरहेको छ। ३२ जना करार कर्मचारीमध्ये ११ जना अस्पताल विकास समितिबाट ज्यालादारीमा नियुक्त छन्। तर दीर्घकालीन योजना, तालिम र प्रणाली सुधारजस्ता काममा स्थायीत्वको अभावले प्रभाव पारेको छ। वरिष्ठ नर्सिङ निरीक्षक सानी शेर्पाका अनुसार छात्रवृत्तिबाट आएका चिकित्सकहरू केही समयका लागि मात्र बस्ने भएकाले अस्पतालले दीर्घकालीन लाभ लिन सकेको छैन।

    करारका चिकित्सकहरूले सकेको योगदान दिए पनि तिनको अवधि छोटो हुने भएकाले अस्पतालले बारम्बार जनशक्ति अभावको सामना गरिरहेको छ। अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख कृष्णप्रसाद निरौलाले प्रदेश सरकारसँग बारम्बार जनशक्ति, बजेट र संरचनाको माग गरिए पनि सुनुवाइ नभएको बताएका छन्। उनले केही दिनअघि मात्र प्रदेशका स्वास्थ्यमन्त्रीसँग ३० शय्याको संरचना र आवश्यक दरबन्दीको माग गरेका थिए।

    प्रदेश सरकारका स्वास्थ्यमन्त्री भूपेन्द्र राईले हाल प्रदेशभर नै जनशक्ति अभाव रहेको उल्लेख गर्दै लोकसेवा आयोगमार्फत दरबन्दी पूर्ति गरिने प्रक्रिया अघि बढिरहेको जानकारी दिएका छन्।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij