काठमाडौं । आइतबार रातिदेखि सामाजिक सञ्जालमा एउटा फोटो व्यापक रूपमा फैलिएको छ, जहाँ विमानको अगाडि सेतो बोरा बोकेका नेपालीहरूको लाइन देखिन्छ। यस दृश्यले अवैध बाटो भएर अमेरिका पुगेका नेपालीहरूको तीतो यथार्थ बोलिरहेको छ। ती नेपालीहरूलाई अमेरिका सरकारले निष्कासन ९डीपोर्ट० गरेर नेपाल फर्काएको हो।
उक्त समूहमा ३५ जना अवैध रूपमा अमेरिका पुगेका थिए भने २ जना कानुनी बाटोबाट पुगेका थिए – एकजना डिभी र अर्का विद्यार्थी भिसामा। मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता नरेन्द्र कुँवरका अनुसार, पछिल्लो पाँच महिनामा मात्रै अमेरिका सरकारले १६३ नेपालीलाई फिर्ता पठाइसकेको छ, जसमा आइतबार फर्काइएका ३७ जना हालसम्मकै सबैभन्दा ठूलो संख्या हो।
फिर्ता आएका व्यक्तिहरूले अमेरिका पुग्न ५० लाखदेखि १ करोड ४० लाख रुपैयाँसम्म खर्च गरेको बताएका छन्। तिनीहरू ‘डंकी रुट’ हुँदै जोखिमपूर्ण यात्रा गरेर अमेरिका पुगेका थिए, तर अमेरिकी सुरक्षा निकायले नियन्त्रणमा लिएर देश निकाला गर्ने निर्णय गरेको हो। यद्यपि, ती नेपालीहरू आफूलाई अमेरिका पुर्याउने गिरोहबारे प्रहरीसमक्ष बोल्न तयार छैनन्।
अमेरिकाले आप्रवासी नीति कडा बनाउँदै आएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको नयाँ आदेश अनुसार १२ देशका नागरिकलाई पूर्ण प्रतिबन्ध र थप ७ देशका नागरिकलाई आंशिक प्रतिबन्ध लगाइएको छ। यसले अवैध रूपमा अमेरिका प्रवेश गर्नेहरूमाथि थप दबाव सिर्जना गरेको छ।
मानव तस्करीको चंगुलमा परेर विदेश पुगेका नेपालीहरूको संख्या बढ्दो रहेको र उनीहरूलाई झुक्याउने गिरोहमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। साथै, प्रभावितहरूले प्रहरीलाई सूचना दिन आग्रह गरिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij