Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

सामाखुसी करिडोरमा अनियमितता : पूर्वप्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सामाखुसी करिडोरमा अनियमितता : पूर्वप्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकामा कार्यरत रहँदा ठेक्का प्रक्रिया सम्बन्धी गम्भीर अनियमितता गरेको आरोपमा सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    आयोगले महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनालाई सामाखुसी करिडोरअन्तर्गतको ढल निर्माण कार्यमा अनियमितता गरेको ठहर गर्दै मुद्दा अघि सारेको हो। परियार हाल सूचना तथा प्रसारण विभागका महानिर्देशकको जिम्मेवारीमा कार्यरत छन्।

    परियारसँगै रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहालमाथि समेत भ्रष्टाचारको आरोप लागाइएको छ। आयोगका अनुसार बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्का समानान्तर सेवा प्रालिलाई दिनु नपरोस् भन्ने उद्देश्यले विचाराधीन नभएको विषयलाई विचाराधीनको रूपमा व्याख्या गरिएको थियो।

    यस कार्यले सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको भन्दै आयोगले सातै जनाले आफ्नो पदको दुरुपयोग गरी करिब ४ करोड ३१ लाख ७२ हजार रुपैयाँ बराबरको आर्थिक हानी पुर्‍याएको निष्कर्ष निकालेको छ।

    आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा दफा ३ को उपदफा (९) को प्रयोजन अनुसार उनीहरूलाई कारबाहीको माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र पेस गरेको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij