
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ ३० शुक्रबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
बैंकिङ क्षेत्र सुधारका लागि गठन भएको सुझाव समिति ऐतिहासिक कदम : सीबीफीन
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नरको विशेष पहलमा बैंकिङ क्षेत्रका समस्या पहिचान गरी समाधान खोज्ने उद्देश्यले गठित सुझाव समितालाई बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले हार्दिक स्वागत गरेको छ।
सीबीफीनले आज जारी गरेको विज्ञप्तिमा नेपालको बैंकिङ इतिहासमा पहिलोपटक यस्तो प्रकारको राष्ट्रियस्तरको उपसमिति गठन हुनु ऐतिहासिक कदम भएको उल्लेख गरिएको छ। संस्थाले यो समितिले बैंकिङ क्षेत्र सुधारतर्फ सार्थक पहल गर्ने विश्वास व्यक्त गरेको छ।
विज्ञप्तिमा नेपाल राष्ट्र बैंकले सरोकारवालाहरुसँग सघन छलफल गर्दै समस्या बुझ्न थालेको, स्थलगत भ्रमण तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउने र विगतका नीतिहरुको समीक्षा गर्ने कार्यलाई स्वागतयोग्य बताइएको छ।
देशमा ५० वर्षको आन्तरिक माग व्यवस्थापन गर्न सक्ने खनिज पदार्थ छ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा करिब ५० वर्षको आन्तरिक माग व्यवस्थापन गर्न सक्ने तेल र ग्यासलगायतका खनिज पदार्थ रहेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले देशको प्राकृतिक स्रोत र जनशक्तिको सदुपयोगबाटै राष्ट्रलाई समृद्ध बनाउन सकिने बताए ।
उपप्रधानमन्त्री पौडेलले सही राजनीतिक नेतृत्व, स्पष्ट दृष्टिकोण र प्रभावकारी कार्यान्वयन भएमा विदेश पलायन भएका नेपाली युवालाई स्वदेशमै अवसर सृजना गर्न सकिने विश्वास व्यक्त गरे ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २.४९ लाख संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक समूहमा रहने गरी २ लाख ४९ हजार ७७३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ। यसअघि फागुन १ गते र वैशाख ७ गते दुई चरणमा विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिई विक्री खुला गरिए पनि वितरण हुन नसकेपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थालाई समेत यी शेयर खरीद गर्न अवसर दिएको हो।
अब इच्छुक व्यक्तिहरूले आगामी असार १४ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन्। यस शेयर विक्री प्रक्रिया अन्तर्गत नयाँ खरीदकर्ताहरू पनि संस्थापक समूहमै समावेश हुनेछन्, जसले कम्पनीको दीर्घकालीन रणनीतिमा सहभागिता जनाउन सक्नेछ।
निफ्रा ग्रीन इनर्जी बोन्ड ६ प्रतिशतका लागि ३.८ गुणा बढी आवेदन प्राप्त , बाँडफाँड सम्पन्न
काठमाडौँ । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ( निफ्रा ) ले निष्काशन गरेको “निफ्रा ग्रीन इनर्जी बोन्ड ६ प्रतिशत २०८८/८९” नामको हरित उर्जा ऋणपत्रको बाँडफाँड सम्पन्न भएको छ । २०८२ जेष्ठ २९ गते एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंको प्राङ्गणमा सफलतापूर्वक बाँडफाँड सम्पन्न भयो ।
नेपाल इन्सुरेन्सको हकप्रद सेयरपछि मूल्य समायोजन, नयाँ भाउ ६०५.६५ रुपैयाँ
काठमाडौं ।नेपाल इन्सुरेन्स कम्पनी लिमिटेडको ३४.७८२६ प्रतिशत हकप्रद सेयर निष्कासनको प्रभावमा परेर यसको सेयर मूल्यमा समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबारको अन्तिम कारोबार मूल्य ७८२.८७ रुपैयाँलाई आधार मानी मूल्य समायोजन गरिएको हो।
समायोजनपछि नेपाल इन्सुरेन्सको सेयर मूल्य ६०५६५ रुपैयाँमा झरेको छ। यही नयाँ समायोजित मूल्यलाई आधार मानेर आइतबारदेखि कम्पनीको सेयर पुनः कारोबार खुल्नेछ।
हिमालयन बैंकले प्रतिकित्ता १६९ रुपैयाँका दरले एफपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति
काठमाडौं । हिमालयन बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग आफ्नो एफपीओ निष्कासनका लागि अनुमति मागेको छ। बैंकले प्रतिकित्ता १६९ रुपैयाँको दरमा कुल ९२ लाख ५० हजार ४६९ कित्ता सेयर बिक्री गर्ने प्रस्ताव गरेको हो।
एफपीओमार्फत बैंकले करिब १ अर्ब ५६ करोड ३३ लाख रुपैयाँ बराबरको पूँजी संकलन गर्ने योजना बनाएको छ। यस एफपीओको बिक्री व्यवस्थापनको जिम्मा सिटिजन्स क्यापिटल लिमिटेडले पाएको छ।
नेटवर्थसम्बन्धी लेखा समितिको निर्देशन उल्टाउँदै अर्थसमितिले दियो निर्देशन
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेटवर्थसम्बन्धी लेखा समितिको निर्देशन उल्टाउँदै कानुनमा स्पष्ट भएको प्रावधान पालन गरी आईपीओ जारी गर्न भनेको छ ।कानूनमा नै स्पष्ट व्यवस्था नभएको नेटवर्थलाई देखाएर ९० भन्दा कम नेटवर्थ भएका कम्पनीको साधारण सेयर आईपीओ नरोक्न भनी अर्थ समितिले नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको हो ।
अर्थ समितिले कानूनमा नभएको नेटवर्थ देखाएर सेयर निष्कासन रोक्न नहुने जनाएको छ ।आईपीओ निष्कासनका लागि बोर्ड समक्ष अनुमति मागेका पब्लिक कम्पनीलाई कानूनमा उल्लेखित शर्तहरु पूरा भएको अवस्थामा नेटवर्थलगायत कानूनमा उल्लेख नभएका शर्तहरुका आधारमा रोक नलगाउन निर्देशन दिएइको छ ।
लामो समयदेखि अवरुद्ध संसद् बैठक सञ्चालन : भिजिट भिसामार्फत हुने मानव तस्करी छानबिन गर्न विपक्षी दलको माग
काठमाडौँ ।प्रतिनिधिसभाको लामो समयदेखि अवरुद्ध भएको संसद् बैठक आजदेखि सञ्चालन भएको छ ।
प्रतिनिधिसभाको आज बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएपछि बैठक सञ्चालन गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू उठेर टेबुल ठटाइ विरोध गरिहरनुभएको थियो । त्यसलगत्तै सभामुखले विपक्षी दलका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्नका लागि समय दिनुभयो ।
विपक्षी दलका प्रमुख सचेतक पाण्डेले यही जेठ १३ गतेदेखि निरन्तर अध्यागमन विभाग र भिजिट भिसा प्रकरणमा देखिएका बेथिति, भ्रष्टाचार, मानव तस्करी र विकृतिका विषयमा निरन्तर आवाज उठाउँदै आएको र त्यसको छानबिन गर्न माग गर्नुभयो ।
बागलुङको अस्तुमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते
ढोरपाटन । यहाँको ढोरपाटन नगरपालिका–५ अस्तुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् । बुर्तिवाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप आज साँझ ५ः४५ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो । अहिले प्रहरी, स्थानीय र जनप्रतिनिधिको सक्रियतामा उद्धार भइरहेको उहाँको भनाइ छ । जिप सडकदेखि करिब ६० मिटर तल खसेको थापाले बताउनुभयो ।
पुनःस्थापना केन्द्रमा सर्वसाधारणका लागि पहुँचयोग्य बनाउन प्रयास भइरहेको छः मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशका सबै क्षेत्रमा रहेका पुनःस्थापना केन्द्रमा सर्वसाधारणका लागि पहुँचयोग्य बनाउन प्रयास भइरहेको बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको मौखिक प्रश्नको जवाफ दिँदै उहाँले राष्ट्रिय स्वास्थ्य सेवा ऐन २०७५, राष्ट्रिय स्वास्थ्य नीति २०७६ र सोह्रौँ योजना २०८१÷८२, २०८५÷८६ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक अधिकार सुनिश्चित गरेको र जसमा पुनःस्थापना सेवा पनि समावेश गरिएको जानकारी दिनुभयो ।
इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द
दुबई । इरानमा इजरायली आक्रमणपछि केही सरकारले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि खाडीका एयरलाइन्सहरूले मध्यपूर्वका धेरै गन्तव्यका लागि उडानहरू रद्द गरेका छन् ।
मध्यपूर्वको सबैभन्दा ठूलो एयरलाइन्स एमिरेट्सले इजरायलले आक्रमण गरेपछि इराक, जोर्डन, लेबनान र इरान जाने र आउने उडानहरू रद्द गरेको बताएको छ ।
बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
बैङ्कक । थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य भएको थाई विमानस्थल प्राधिकरणले जनाएको छ ।
लन्डन जाने एयर इन्डियाको यात्रु जेट भारतको अहमदाबाद सहरमा दुर्घटना भएको एक दिनपछि यो घटना आएको हो । अहमादाबाद विमान दुर्घटनामा कम्तीमा दुई सय ६५ जनाको मृत्यु भएको थियो ।
बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्था सच्चिन्छः ऊर्जामन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को निर्णय सच्चिने बताउनुभएको छ ।
नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घको १३औँ महाधिवेशनको उद्घाटन सत्रमा आज उहाँले बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्थालाई सच्याउनका लागि ऊर्जा मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको बताउनुभएको हो ।
‘एक सय रुपैयाँमै चलचित्र हेर्न पाइने’
काठमाडौँ ।नेपाली चलचित्र ‘अञ्जिला’ आजदेखि एक सय रुपैयाँमा हेर्न पाइने भएको छ । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीलाई प्रस्तुत गरिएको उक्त चलचित्र प्रदर्शनको एक सय दिन पूरा गर्नै लाग्दा जम्मा सय रुपैयाँमा सो चलचित्र हेर्न पाइने भएको निर्माता प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अहिलेको प्रविधिमैत्री समयमा चलचित्र प्रदर्शनको एक सय दिन पूरा गर्नु आफैँमा ठूलो उपलब्धि हो । प्रदर्शकसँग सल्लाह गरेर ९३औँ दिनदेखि चलचित्रलाई सय रुपैयाँमै हेर्न पाउने व्यवस्था गरेका छौँ । नेपाली फुटबल र खेलाडीसँग जोडिएको विषयमा बनेको चलचित्र यति सस्तोमा हेर्न पाइने भएपछि अरू के चाहियो, यसबाट अत्यन्त खुसी र हर्षित हुन पाएको छु । यसले आगामी दिनमा अन्य खेलाडीको विषयमा चलचित्र बनाउन चलचित्र निर्माता तथा निर्देशकलाई प्रेरणा मिलेको छ ।”
असार १ गतेदेखि दैनिक ४० मेगावाट बंगलादेश विद्युत् निर्यात गरिँदै
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्ने गर्ने तयारी गरेको छ । पूर्वनिर्धारित समयतालिका अनुसार यही जुन १५ (असार १ गते) देखि विद्युत् निर्यात गर्न आवश्यक वित्तीय तथा प्राविधिक तयारी पूरा भएको हो ।
बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डले विद्युत् खरिदका लागि प्रतीतपत्र पेस गरिसकेको छ । प्राधिकरण प्रवक्ता तथा विद्युत् व्यापार विभागका निर्देशक राजन ढकाले ले जनाए अनुसार विद्युत् निर्यात भारतीय विद्युत् प्रसारण सञ्जालमार्फत हुने छ ।
नेपालले पनि सुनमा लगानी गर्ने अन्तर्राष्ट्रिय प्रवृति पछ्याउँदै
काठमाडौँ । नेपालले पनि सुनमा लगानी बढाउँदै लगेको देखिएको छ ।पछिल्लो समय संसारभरका केन्द्रीय बैंकहरूको सुनमा लगानी गर्ने प्रवृतिलाई नेपाल राष्ट्र बैंकले पनि त्यसलाई पछ्याएको देखिएको हो ।राष्ट्र बैंकको तथ्यांकअनुसार सन् २०२२/२३ देखि सुनमा लगानी गर्ने प्रवृति तीव्र गतिमा बढेको देखिन्छ । चालु आर्थिक वर्ष सन् २०२४/२५ को १० महिनामा राष्ट्र बैंकले ३० अर्ब ७६ करोड ९७ लाख रुपैयाँ सुनमा लगानी गरेको छ ।
गत आव २०२३/२४ को सोही अवधिमा नेपालले १५ अर्ब ४१ करोड रुपैयाँ सुनमा लगानी गरेको थियो । आव २०२२/२३ को सोही अवधिमा ७ अर्ब ८६ करोड ७५ लाख रुपैयाँ मात्र सुनमा लगानी भएको देखिन्छ ।सुनलाई सुरक्षित लगानीका रूपमा लिइने भएकाले विश्वभरका केन्द्रीय बैंकले सुन किनेर थुपार्ने गरेका छन् । विश्वका हरेक केन्द्रीय बैंकले सुरक्षाका लागि सुन भण्डारण गर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरू बताउँछन् ।
हिमालयन बैंकले प्रतिकित्ता १६९ रुपैयाँका दरले एफपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति
काठमाडौं । हिमालयन बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग आफ्नो एफपीओ निष्कासनका लागि अनुमति मागेको छ। बैंकले प्रतिकित्ता १६९ रुपैयाँको दरमा कुल ९२ लाख ५० हजार ४६९ कित्ता सेयर बिक्री गर्ने प्रस्ताव गरेको हो।
एफपीओमार्फत बैंकले करिब १ अर्ब ५६ करोड ३३ लाख रुपैयाँ बराबरको पूँजी संकलन गर्ने योजना बनाएको छ। यस एफपीओको बिक्री व्यवस्थापनको जिम्मा सिटिजन्स क्यापिटल लिमिटेडले पाएको छ।\
बैंकिङ क्षेत्र सुधारका लागि राष्ट्र बैंकद्वारा अध्ययन उपसमिति गठन
काठमाडौं ।नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा देखिएका समस्याको समाधान खोज्न एक अध्ययन उपसमिति गठन गरेको छ। नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित उपसमितिलाई एक महिनाभित्र केही ठोस सुझावसहित प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
उक्त उपसमितिमा बैंकर भुवन दहाल सदस्यका रूपमा छन् भने राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल पनि सदस्यका रूपमा संलग्न छन्। समितिले बैंकिङ प्रणालीको समग्र अवस्थालाई मूल्यांकन गरी आवश्यक सुधारका उपाय सुझाउनेछ।
सुनको मूल्य तोलामा चार हजार २सयले वृद्धि भइ शुक्रबार एक लाख ९७ हजार १०० कायम
काठमाडौँ । गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले बढोत्तरी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार १०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ ।
काठमाडौँ । तीनकुने घटनामा अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । तीनकुने घटनाबारे थुनछेक बहस पुरा भएलगत्तै बिहीबार राति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीले सो आदेश गरेका हुन् ।
काठमाडौँको तीनकुनेमा पूर्व राजाको पक्षमा २०८१ चैत १५ मा प्रदर्शनको नाममा अवाञ्छित गतिविधि गरेको आरोपमा सरकारी वकिलले ५० जनाविरुद्ध राज्यविरुद्ध समेतको कसुरमा जेठ ११ मा अभियोजन गरेको थियो । तीमध्ये दुर्गा प्रसाईँसमेत ३९ जना प्रहरीको हिरासतमा थुनामा रहेका थिए ।
आजको मौसम : कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा धेरै वर्षा हुने
काठमाडौँ । हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।
जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij