Logo

Jun 15 2025 | २०८२, असार १गते

Jun 15 2025 | २०८२, असार १गते

images

रवि लामिछानेविरुद्धको 'राजनीतिक घेराबन्दी' षड्यन्त्र कि प्रक्रिया?

रवि लामिछानेविरुद्धको 'राजनीतिक घेराबन्दी' षड्यन्त्र कि प्रक्रिया?

  • काठमाडौँ ।हिजोसम्म दुई तिहाई नजिकको सरकारविरुद्ध उभिएको माओवादी केन्द्र अहिले सत्तापक्षमा फर्किएको छ। नवप्रवेशी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राज्य संयन्त्रमा भएको गिरोहको जालो र सत्ता–शक्तिको गठजोडविरुद्ध आवाज उठाउँदा माओवादी केन्द्र त्यसको साथमा थियो। तर, रास्वपाको आवाज बलियो बन्दै गएपछि माओवादीलाई त्यो असहज हुन थाल्यो।

    गृहमन्त्रीको राजीनामाको माग केवल पदाधिकारीको बदलाबारे थिएन, मुद्दा गहिरो थियो—संस्थागत अनियमितता र सत्ताभित्रका स्वार्थी गठबन्धनविरुद्धको। रास्वपाले उर्जा देखाइरहँदा, माओवादी अध्यक्ष प्रचण्ड भने चाँडै सत्तामा फर्किए। उनका विकल्पप्रति उठेका आशंका—न्यायपालिकाबाट अग्नि सापकोटासम्बन्धी संभावित फैसला, अख्तियारको अनुसन्धान वा बजेट समयमै पारित गर्नुपर्ने दबाब—के सत्य हो, त्यो पुष्टि हुन बाँकी छ। तर, उनी पुनः सत्तामा फर्किएको यथार्थ भने प्रष्ट छ।

    रवि लामिछानेले नयाँ शैलीको राजनीति ल्याएका थिए—आक्रामक, प्रत्यक्ष र जनतामैथि केन्द्रित। पहिलो चुनावमा देखिएको जनसमर्थन, चितवनदेखि काठमाडौँसम्मको प्रभाव र उपनिर्वाचनमा भएको विजय सबैले देखाए कि उनी केवल भावनात्मक नेता मात्र होइनन्, संगठन निर्माणमा पनि सक्षम छन्।

    तर उनीमाथि पछिल्ला समयदेखि लगातार कानुनी र प्रशासनिक दबाबहरू बढ्दै गएका छन्। नागरिकताको मुद्दाबाट सुरू भएको प्रक्रिया अहिले सहकारी प्रकरणमा पुगेको छ, र त्यसलाई थप गम्भीर बनाउँदै 'सम्पत्ति शुद्धीकरण' र 'संगठित अपराध'को आरोप जोडिएको छ। यसरी कानुनी विषयहरूलाई राजनीतिक हतियारमा रूपान्तरण गरिँदैछ भन्ने आरोप व्यापक रूपमा उठ्न थालेको छ।

    यसबिचमा सरकारको व्यवहार झनै चिन्ताजनक देखिन थालेको छ—मिडियामाथि नियन्त्रणको प्रयास, पत्रकारहरूलाई धम्की, र सूचना नियन्त्रण गर्ने प्रवृत्ति तीव्र भएको छ। यस्तो अवस्था सामान्य सत्ता सञ्चालन होइन, डर र असुरक्षाबाट सञ्चालित सत्ता व्यवस्थाको संकेत हो।

    रवि लामिछानेमाथिको दबाबले उनलाई कमजोर बनाएको छैन, बरु जनताको नजरमा अझ बलियो बनाएको छ। जेलभित्र भएको उनका गतिविधिहरूको बहस झन् उचाइमा पुगेको छ, र सहानुभूतिभन्दा बढी समर्थन निर्माण हुँदै गएको छ।

    सत्ता पक्षले जुन किसिमको रणनीति अपनाइरहेको छ, त्यसले नतिजा उल्टो दिने सम्भावना बलियो देखिएको छ। रवि लामिछानेलाई राजनीतिक रूपमा रोक्ने योजनाले उनीलाई जनचेतनाको केन्द्रमा पुर्‍याइदिएको छ।

    विगतमा क्रान्तिको नाममा हिंसा बोकेको नेतृत्व आज सत्ताको संरक्षणमा रमाइरहेको छ, तर जनतालाई व्यवस्थित रूपमा सशक्त बनाउने प्रयास गर्ने व्यक्ति भने कारावासमा छन्। समय फेरिएको छ—र नेतृत्वप्रतिको जनविश्वास अब कार्यशैलीबाट नापिने भएको छ, अतीतको कथाबाट होइन।

    रवि लामिछानेलाई एक व्यक्तिको रूपमा होइन, एक सोचको प्रतिनिधि भएर बुझ्नुपर्ने समय आएको छ। उनले थुन्न सकिने होलान्, तर उनीप्रति जनताको विश्वास र उर्जा अब रोक्न सकिने अवस्थामा छैन।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij