
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि रु एक अर्ब ७१ करोड २७ लाख ५९ हजार १८० बराबरको बजेट प्रस्तुत गरेको छ ।
आज नगर उपप्रमुख अकली चौधरीले उक्त बजेट नगरसभाको १६औँ अधिवेशनसमक्ष प्रस्तुत गर्नुभएको थियो । त्यसमा पूर्वाधार विकासतर्फ रु ६१ करोड ३७ लाख, आर्थिक विकासतर्फ रु दुई करोड ८६ लाख, सामाजिक विकासतर्फ रु ४६ करोड १२ लाख दुई हजार रकम सञ्चित कोषबाट विनियोजन गरिएको छ । साथै वन तथा वातावरण विपद् व्यवस्थापनतर्फ रु एक करोड ७५ लाख, सुशासन तथा संस्थागत विकासतर्फ रू दुई करोड ६३ लाख विनियोजन गरिएको छ ।
आव २०८२÷८३ मा सम्पन्न गर्ने गरी बहुवर्षीय क्रमागत आयोजना कार्यान्वयनका लागि रु छ करोड तीन लाख ५७ हजार १८० विनियोजन गरिएको छ । वडागत बजेट सिलिङतर्फ चालु खर्चका लागि रु तीन करोड ७६ लाख ८८ हजार तथा पुँजीगततर्फ रु १४ करोड ५९ लाख १२ हजार गरी जम्मा रु १८ करोड ३६ लाख रकम विनियोजन गरेको उल्लेख गरिएको छ ।
कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ रु २५ करोड ५० लाख रकम विनियोजन गरिएको छ । नगर र वडाको साझेदारीमा वडा गौरवका आयोजनाका लागि साझेदारी रकम रु छ करोड विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापनअन्तर्गत ऋण तथा साँवा ब्याज भुक्तानीका लागि रु ६५ लाख रकम विनियोजन गरिएको छ ।
समग्र रुपमा चालु खर्चतर्फ रु ८२ करोड ६२ लाख ९० हजार विनियोजन गरिएको छ । त्यस्तै पुँजीगत खर्चतर्फ रु ८७ करोड ९९ लाख ६९ हजार १८० रकम विनियोजन गरिएको उल्लेख छ । यसैगरी वित्तीय व्यवस्थापन शीर्षकमा रु ६५ लाख गरी आर्थिक वर्ष २०८२÷८३ का लागि जम्मा रु एक अर्ब ७१ करोड २७ लाख ५९ हजार १८० बजेट विनियोजन गरिएको छ ।
प्रस्तुत गरिएको बजेट तथा कार्यक्रम आगामी शुक्रबार नगरसभाले छलफल गरेर पारित गर्ने उल्लेख गरिएको छ । यसअघि नगरप्रमुख केदारप्रसाद गुरागाईंले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम छलफलपछि सर्वसम्मतिले पारित गरिएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij