काठमाडौं। देशको वित्तीय प्रणालीमा तरलता (liquidity) उच्च देखिएपछि नेपाल राष्ट्र बैंकले सो नियन्त्रण गर्न ६० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। यो रकम निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) प्रयोग गरी बोलकबोल प्रणालीमार्फत उठाइनेछ। ६३ दिनको अवधिको लागि संकलन गरिने यस रकमको साँवा तथा ब्याज भदौ १८, २०८२ मा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
हाल बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी अपेक्षाकृत कम हुँदा निक्षेप रकम थुप्रिएको अवस्था छ। यही कारणले वित्तीय प्रणालीमा बढी तरलता सिर्जना भएको हो। यस्तो अवस्थाले अर्थतन्त्रमा असन्तुलन ल्याउन सक्ने भएकाले राष्ट्र बैंकले नियमित रूपमा यस्तो रकम बजारबाट खिच्ने अभ्यास गर्दै आएको छ।
यसपटकको संकलन प्रक्रिया अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोडका गुणांकमा प्रस्ताव (बोल) पेश गर्न सक्नेछन्। बोलकबोल प्रणालीमार्फत प्रतिस्पर्धात्मक रूपमा ब्याजदर निर्धारण गरिनेछ। सहभागी संस्थाहरूले ब्याजदर दशमलव पछाडि चार अंकसम्म उल्लेख गर्नुपर्नेछ।
यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। निक्षेप संकलनमा सहभागी हुन चाहने संस्थाले आफूले संकलन गर्न चाहेको रकम र सोको ब्याजदर स्पष्ट उल्लेख गरी बोलकबोलमा भाग लिनुपर्नेछ।
राष्ट्र बैंकले निक्षेप संकलनको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिने जनाएको छ। यदि समान ब्याजदरमा एकभन्दा बढी प्रस्ताव आएमा प्रो–रेट आधारमा बाँडफाँड गरिनेछ। यद्यपि, राष्ट्र बैंकको खुला बजार कारोबार सञ्चालन समितिले कुनै पनि बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार सुरक्षित राखेको छ।
यसरी संकलन गरिने रकम राष्ट्र बैंकले केही समयका लागि फिर्ता नदिने भएकाले यसले बजारको तरलता घटाउन र मौद्रिक नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij