Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

‘कालाे दिन’ भन्दै सांसदहरू आक्रोशित: कुलिङ पिरियड प्रकरणले संसद हल्लियो

‘कालाे दिन’ भन्दै सांसदहरू आक्रोशित: कुलिङ पिरियड प्रकरणले संसद हल्लियो

  • काठमाडौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा चर्चित 'कुलिङ पिरियड' विवाद चुलिँदै गएको छ। यस विषयमा समितिका सभापति रामहरि खतिवडा र सचिव सुरज दुरामाथि गम्भीर प्रश्नहरू उठेका छन्।

    बुधबार बसेको समितिको बैठकमा सांसदहरूले यो प्रकरणलाई नेपालको संसदीय इतिहासकै लज्जास्पद क्षणको संज्ञा दिँदै सभापति र सचिवलाई जिम्मेवारी लिन आह्वान गरेका थिए। नेकपा एमालेका सांसद पदम गिरीले नैतिक जिम्मेवारी लिँदै तत्काल राजीनामा दिन सभापति खतिवडा र सचिव दुरालाई आग्रह गरे। "तपाईंहरू जिम्मेवारीमा बस्न योग्य छैन," गिरीले टिप्पणी गरे।

    सांसद हृदयराम थानीले सचिव दुरालाई ठूला समूहको दबाबमा काम गरेको आरोप लगाउँदै, उपदफा ५ (क) अनधिकृत रूपमा समावेश गरिएको बताए। उनले छानबिनका लागि प्रभावशाली संसदीय समिति गठनको माग गरे।

    एमाले सांसद राजेन्द्र राईले सभापतिलाई पद नत्यागेसम्म बैठकमै नबस्ने चेतावनी दिए। “समितिको गरिमा ध्वस्त भयो,” भन्दै उनले स्पष्ट संकेत दिए कि खतिवडाको नेतृत्वमा अब समिति चल्न सक्दैन।

    एमालेका वासुदेव घिमिरे र माओवादी केन्द्रका दुर्गा राईले पनि दोषीहरूको राजीनामा मात्र नभई, उच्चस्तरीय छानबिन समिति आवश्यक रहेको जोड दिए। दुर्गा राईका अनुसार, “यो सानो त्रुटि होइन, ऐन बनाउने प्रक्रियामा गरिएको षड्यन्त्र हो।”

    माओवादी केन्द्रकै प्रमुख सचेतक हितराज पाण्डेले यो कार्य ‘जानाजान गरिएको त्रुटि’ भएको ठहर गर्दै यसको गहिरो अनुसन्धान हुनुपर्ने बताए।

    नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले कुलिङ पिरियडको यो घटना संसदीय इतिहासमै ‘कालाे दिन’ भएको घोषणा गरे। "सचिवले त्रुटि भन्नुभयो, तर यो त्रुटि हो कि बदमासी? त्यो छानबिन हुनुपर्छ," भन्दै उनले संसदको विश्वासनीयतामै प्रश्न उठेको बताए।

    जसपा नेपालका सांसद प्रकाश अधिकारीले यस प्रकरणलाई निजामति सेवा ऐनलाई रोक्न गरिएको सुनियोजित षड्यन्त्रको रूपमा व्याख्या गर्दै, प्रहरी ऐनसमेत प्रभावित हुने चेतावनी दिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij