Logo

Jul 04 2025 | २०८२, असार २०गते

Jul 04 2025 | २०८२, असार २०गते

images

गर्मीका कारण अण्डा उत्पादन घट्दा मूल्यमा वृद्धि, किसानलाई केही राहत

गर्मीका कारण अण्डा उत्पादन घट्दा मूल्यमा वृद्धि, किसानलाई केही राहत

  • नारायणगढ । गर्मी मौसमका कारण अण्डाको उत्पादन घटेसँगै यसको मूल्य लागत नजिक पुगेको छ । लामो समयदेखि घाटा व्यहोर्दै आएका किसानले केही राहत महसुस गर्न थालेका छन् ।

     

    अण्डा उत्पादनमा संलग्न कृषि फार्महरूले हालै जारी गरेको मूल्यका आधारमा नेपाल लेयर्स कुखुरापालक सङ्घले समर्थन मूल्य निर्धारण गरेको हो । सङ्घले मूल्य समायोजन गरी आजदेखि लागू हुनेगरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट ९३० वटा० रु ४९५ र मझौला अण्डाको रु ४६५ कायम गरेको छ ।

     

    नेपालमा हाल अण्डाको औसत लागत मूल्य प्रतिगोटा रु १६ दशमलव ५६ रहेको छभने नयाँ मूल्यअनुसार किसानले ठूलो अण्डाको प्रतिगोटा रु १६ दशमलव ५० पाउने भएका छन् । यो मूल्य अझै लागतभन्दा थोरै कम भए पनि अघिल्लो तुलनामा केही राहत पुगेको किसानको भनाइ छ ।

     

    दाउन्ने, हिमचुली, खिलुङकाली ९जनकपुर एग्रो०, सुविश, भिज्जु र शिवम् लेयर्सजस्ता फार्मले ठूलो अण्डाको मूल्य प्रतिपेटी रु तीन हजार ६४५ देखि रु तीन हजार ६६० र मझौला अण्डाको रु तीन हजार ४४५ देखि रु तीन हजार ४६० कायम गरेका छन् ।

     

    नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार अण्डा उत्पादनमा संलग्न कुखुराको सङ्ख्या घट्नु, पर्यटकको आगमन वृद्धि र स्कुल–कलेज सञ्चालनले माग बढेपछि मूल्य बढेको हो । साथै बुढा कुखुरा बिक्री भई किसान विस्थापित हुँदा नयाँ चल्ला हाल्न नसकिएकाले पनि उत्पादनमा असर परेको उहाँले बताउनुभयो ।

     

    “अहिलेको परिस्थिति हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने सङ्केत देखिन्छ,” पोखरेलले भन्नुभयो, “मूल्य बढ्दा किसान उत्साहित छन्, हाल दैनिक २८–३० लाख गोटा अण्डा उत्पादन भइरहेको छ ।”

     

    पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले पनि माग र आपूर्तिको असन्तुलनका कारण मूल्य बढेको बताउनुभयो । “अब केही दिनमा नै किसानले लागत मूल्य पाउने सम्भावना छ,” उहाँले भन्नुभयो ।

     

    कुखुरापालक तथा उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेलका अनुसार अघिल्लो वर्षको यही समय पनि अण्डाको मूल्य वृद्धि भएको थियो । “अहिले पनि यदि किसानले लागत मूल्य नपाए बाँकी रहेका किसान पनि विस्थापित हुनेछन्,” उहाँले चिन्ता व्यक्त गर्दै भन्नुभयो । विशेषगरी अत्यधिक गर्मीका कारण अण्डा उत्पादन झन्डै २५ प्रतिशत घट्ने गरेको कृषकको अनुमान छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij