Logo

Jul 07 2025 | २०८२, असार २३गते

Jul 07 2025 | २०८२, असार २३गते

images

आज देशभर आंशिकदेखि सामान्य बदली, पश्चिमी पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

आज देशभर आंशिकदेखि सामान्य बदली, पश्चिमी पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

  • काठमाडौं । देशभर हाल मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। साथै, भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा विकसित भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा पनि देखिएको महाशाखाले जनाएको छ।

    मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको हुँदा देशका अधिकांश भागहरूमा बदली भएको छ। विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्य बदली तथा बाँकी क्षेत्रमा आंशिक बदलीको अवस्था छ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, र कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभाग तथा गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा भारीदेखि अत्यधिक वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।

    मौसम महाशाखाले सम्भावित वर्षाका कारण भू–क्षय, बाढी, पहिरो, गेग्रान बहावजस्ता प्राकृतिक प्रकोपको जोखिम रहन सक्ने चेतावनी दिएको छ। विशेष गरी सहरी तथा तराई क्षेत्रहरूमा डुबानको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन सुझाव दिइएको छ। यसले जनजीवनसँगै कृषि, स्वास्थ्य, निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित पार्न सक्ने भएकाले आवश्यक पूर्व तयारी गर्न महाशाखाले सबैलाई आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij