Logo

Jul 10 2025 | २०८२, असार २६गते

Jul 10 2025 | २०८२, असार २६गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असार २५ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् असार २५ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार २५ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    हिम स्टार ऊर्जा कम्पनीको आइपीओमा २ दिनमै ११ लाखभन्दा बढीको आवेदन, १७ गुणा बढी माग

    काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासनप्रति लगानीकर्ताको उत्साहजनक सहभागिता देखिएको छ। कम्पनीले असार २४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला गरेकोमा दोस्रो दिनसम्मै ११ लाख २९ हजार ७५६ जनाले आवेदन दिएका छन्।

    सीडीएससीका अनुसार बुधबार (असार २५ गते) सम्म १ करोड ३४ हजार ३९० कित्ताका लागि आवेदन परेको छ, जुन मागभन्दा १७.३१ गुणा बढी हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा जम्मा ७ लाख ७३ हजार ९७५ कित्ता सेयर बिक्रीका लागि निष्कासन गरेको हो।

    आगामी मौद्रिक नीति २०८२/८३ : निजी क्षेत्रका सुझाव र राष्ट्र बैंकको तयारी

    काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अन्तिम तयारीमा छ । सरकारले वित्त नीतिमार्फत् लिएको छ प्रतिशतको आर्थिक वृद्धि र साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्रको मुद्रास्फीतिलाई सघाउनेगरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनेछ । 

     

    कर्जा विस्तार गर्ने, खराब कर्जा घटाउने, ब्याजदर सन्तुलन, बाह्य क्षेत्र व्यवस्थापनलगायत विषय पनि मौद्रिक नीतिको प्राथमिकता रहेका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट निजी क्षेत्रले राखेका अपेक्षाअनुसार यस क्षेत्रका दुई छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले राष्ट्र बैंकलाई सुझाव दिइसकेका छन् ।

    शेयर बजार : नेप्से परिसूचकमा २३.९९ अंकले बढेर २७०७.८५ विन्दुमा ,७ अर्ब ४५ करोड रुपैयाँ भन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा २३.९९ अंकले बढेर २७०७.८५ विन्दुमा आएको छ । यस दिन ७ अर्ब ४५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यस दिन ३१६ कम्पनीको १ करोड ५५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४६ करोड ७१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी विद्युत कम्पनी अग्रस्थानमा परेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः बुटवल पावर र नेपाल इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड रहेका छन् ।

     

    ग्लोबल आइएमई समुन्नत योजना २ को आवेदन अवधि साउन ४ गतेसम्म लम्बियो

    काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सञ्चालनमा ल्याएको सामूहिक लगानी कोष ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई खरिदका लागि आवेदन दिने अवधि साउन ४ गतेसम्म लम्बिएको छ। कम्पनीले असार २२ गतेदेखि इकाई बिक्री खुला गरेको हो।

    १० वर्षे बन्दमुखी प्रकृतिको यस योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँ दरमा कुल १२ करोड इकाई अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड इकाई बिक्रीमा ल्याइएको छ। यसमा १५ प्रतिशत अर्थात् १ करोड ८० लाख इकाई व्यवस्थापक तथा बीजपूँजीका लागि छुट्याइएको छ भने बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको हो।

    प्रभु इन्सुरेन्सको वार्षिक साधारण सभा साउन २३ गते, १८% बोनस सेयर र ४७%हकप्रद प्रस्ताव

    काठमाडौं । प्रभु इन्सुरेन्स लिमिटेडले वार्षिक साधारण सभा साउन २३ गतेका दिन बोलाएको छ। सभा काठमाडौंको तिनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजे सुरु हुनेछ।

    सभामा कम्पनीले सेयरधनीहरूलाई १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गर्नेछ। साथै, बोनस सेयर जारीपश्चात कायम हुने चुक्ता पुँजीमा आधारित भएर ४७ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत सभामा पेश गरिनेछ।

    युनिभर्सल पावर कम्पनीद्वारा राप्ती हाइड्रोको १४ लाखभन्दा बढी संस्थापक सेयर बिक्री गर्ने निर्णय

    काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनमा रहेको आफ्नो संस्थापक सेयर बिक्री गर्ने निर्णय गरेको छ। कम्पनीले १४ लाख ४२ हजार १८७ कित्ता संस्थापक सेयर बजारमा प्रचलित मूल्यमा बिक्री गर्न लागेको जानकारी सार्वजनिक गरेको हो।

    सेयर बिक्रीबाट प्राप्त हुने रकम राप्ती हाइड्रोमा गरिएको लगानी पुनःप्राप्त गर्ने उद्देश्य राखिएको बुझिएको छ। युनिभर्सल पावरले सेयर बिक्रीका लागि इच्छुक पक्षहरूसँग सम्पर्क गर्न पनि आग्रह गरेको छ।

    ट्रम्पसँगको भेटवार्तामा नेतान्याहूद्वारा बन्धकको रिहाइ र हमासको पराजयका लागि अभियान जारी रहेको दावी

    जेरुसेलम ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भएको वार्तामा गाजामा बन्दी बनाइएका बन्धकहरूलाई मुक्त गर्ने र हमासलाई पराजित गर्न जारी सैन्य अभियानबारे छलफल गरेको बताउनुभएको छ ।  

     

    दुई नेताबिचको दोस्रो बैठकमा मङ्गलबार राष्ट्रपति ट्रम्पले नेतान्याहुलाई गाजामा युद्धको त्रासदी अन्त्य गर्न सक्ने सम्झौतामा पुग्न दबाब दिनुभएको थियो । 

    नेतान्याहूले एक विज्ञप्तिमार्फत जारी वार्ताका क्रममा इजरायलको उद्देश्यलाई पुनः पुष्टि गर्दै बन्धकहरूलाई मुक्त गर्ने प्रयासमा ध्यान केन्द्रित गरेको बताउनुभएको थियो । 

    भारतीय वायुसेनाको विमान दुर्घटना : दुईजना पाइलटको मृत्यु

    नयाँदिल्ली ।भारतको पश्चिमी राज्य राजस्थानमा बुधवार एक प्रशिक्षक जहाज दुर्घटनाग्रस्त हुँदा भारतीय वायुसेनाका दुई पाइलटहरूको मृत्यु भएको भारतीय वायुसेनाले जनाएको छ । 
    राजस्थानको चूरू जिल्लामा सामान्य प्रशिक्षण मिशनको क्रममा उक्त जगुआर प्रशिक्षक जहाज दुर्घटनामा परेको थियो ।

     

    भारतीय वायुसेनाले सामाजिक सञ्जालमार्फत जनाएको छ,“सामान्य प्रशिक्षणका क्रममा चूरू नजिक प्रशिक्षक जहाज दुर्घटना हुँदा दुबै पाइलटहरूले ज्यान गुमाउनुभएको छ । यस घटनामा कुनै नागरिक सम्पत्तिमा क्षति भएको छैन ।”

    संवैधानिक परिषद्सम्बन्धी विधेयकमा राष्ट्रियसभाको संशोधन प्रतिनिधिसभाबाट स्वीकृत

    काठमाडौँ । प्रतिनिधिसभाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि राष्ट्रियसभाबाट भएको संशोधन स्वीकृत गरेको छ । सभाको आजको बैठकले उक्त संशोधन बमहुमतबाट स्वीकृत गरेको हो ।

     

     

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट रक्षामन्त्री मानवीर राईले उक्त संशोधनउपर विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै विधेयकमा राम्रो सुझाव र सल्लाह प्राप्त भएको बताउनुभयो । “राष्ट्रियसभाबाट प्राप्त सुझाव राम्रो छ, छलफलमा सहभागी भई सुझाव दिनुभएकामा सबै सांसदलाई धन्यवाद र संशोधन स्वीकृत गरिदिनुहुन अनुरोध गर्दछु”, उहाँले भन्नुभयो । 

    काठमाडौं महानगरपालिकाको नाममा काठमाडौं टावरको निर्माण नरोक्न  अन्तरिम आदेश जारी

    काठमाडाैं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको नाममा पुरानो बसपार्कस्थित काठमाडौं टावरको निर्माण नरोक्न  अन्तरिम आदेश जारी  गरेको छ ।

     

    काठमाडौं महानगरपालिकाको टावरको निर्माण रोक्ने  निर्णय विरुद्ध स्वच्छन्द बिकोई बिल्डर्स उच्च अदालत पाटनमा  गरेको मुद्दामा  उच्च अदालत पाटनले  यस्तो आदेश दिएको हो ।   ९ माघ, २०८१ मा काठमाडौं महानगरपालिकाले पत्र पठाई काठमाडौं टावरको निर्माण रोक्न आदेश दिएको थियो ।

    न्यायाधीश प्रकाश खरेलको इजलासले काम नरोक्न अन्तरिम आदेश दिएको हो । उच्च अदालतको आदेशसँगै ठेकेदार कम्पनीलाई निर्माण जारी राख्ने बाटो खुलेको छ ।

    बेलीब्रिज जडान गरी रसुवा नाका सञ्चालन गर्न चीनसँग कूटनीतिक पहल गरिने

    काठमाडौँ । सरकारले चीन सरकारलाई  बाढीले क्षति पु¥याएको रसुवागढी नाका पुनःसञ्चालनमा ल्याउन आग्रह गर्ने निर्णय गरेको छ ।
    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।मंगलबार बिहान ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि बसेको परिषद्को बैठकले यस्तो निर्णय गरियो । बैठकले मितेरी पुलको पुनर्निर्माण र चीनतर्फको क्षतिग्रस्त सडक मर्मत गरी केरुङ नाका सुचारु गर्न चीनसँग कूटनीतिक समन्वय गर्ने निर्णय गरेको छ ।

    नेपाललाई जापान सरकारको मानव संशाधन विकास छात्रवृत्तिअन्तर्गत ५३७ मिलियन रुपैयाँ बराबरको अनुदान सहायता

    काठमाडौँ । जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (जडिएस) परियोजनाअन्तर्गत नेपाल सरकारलाई नेपाली रुपैयाँ करिब ५३७ मिलियन बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । 

     

     

    अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा जापान सरकार र नेपाल सरकारबीच विनिमय पत्र र अनुदान सम्झौतपत्रमा हस्ताक्षर भएको हो । जापान सरकारबाट सन् २०२५ का लागि झण्डै ५७२ मिलियन जापानी येन अनुदान प्राप्त भएको हो । 

     

    सो अवसरमा अर्थ सचिव घनश्याम उपाध्याय र जापान सरकारतर्फ नेपालका लागि जापानी राजदूत तोरु मोडाले विनिमय पत्रमा हस्ताक्षर गर्नुभयो ।

    बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो : तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाउन आग्रह

    म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो म्याग्दी नदी थुनिएको छ । 

     

    पहिरो नदीमा थुप्रिएर तलाउ बनेको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो । त्यहाँ निरन्तर पहिरो खसिरहेको जनाइएको छ । 

    धौलागिरि गाउँपालिका ४ र ७ को सिमाना काउसीबोटको भिरमुनि म्याग्दी नदीमा पहिरो थुप्रिएर थुनिएको हो । बिहान भारी वर्षापछि बढेको म्याग्दी नदीको सतह पहिरोपछि घटेको बासबोटको छिमेकी गाउँ छहरीका बासिन्दा तम पुनले बताउनुभयो ।

    टेक्सासमा बाढीपछि १६० जनाभन्दा बढी बेपत्ता

    हन्ट ।टेक्सासमा विनाशकारी बाढीपछि एक सय ६० भन्दा बढी मानिस बेपत्ता भएको राज्यका गभर्नरले मङ्गलबार बताएका छन् । अहिलेसम्म एक सय नौ जनाको ज्यान लिएको यो त्रासदीबाट बेपत्ता हुनेहरूको सङ्ख्यामा नाटकीय वृद्धि भएको छ ।

     

     

    टेक्सासका केही काउन्टीमा अचानक बाढी आएको चार दिनपछि बाँचेका व्यक्तिहरू भेट्ने आशा मिसिएको थियो र गभर्नर ग्रेग एबटले बेपत्ताहरूको सूची अझै बढ्न सक्ने चेतावनी दिनुभएको छ ।

    आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का, अत्यावश्यक खर्चबाहेक भुक्तानी बन्द

    काठमाडौँ । आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का गरिने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता सुशीला अर्यालले जानकारी दिनुभयो ।

    खानेपानीको समस्या समाधानका लागि सबै निकायलाई सहयोग गर्न मन्त्री यादवको आग्रह

    काठमाडौँ ।  खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा, बारासहित मधेसका जिल्लामा चापाकल सुकेर खानेपानीको सङ्कट बढेकाले उक्त समस्या समाधानका लागि सबैले आ–आफ्नो तर्फबाट सहयोग र समन्वय गर्न आग्रह गर्नुभएको छ ।

     

     

    सामाजिक सञ्जालमार्फत मन्त्री यादवले जलवायु परिवर्तनका कारण परेको खडेरीले पर्सा, बारा, रौतहटलगायत मधेसका जिल्लामा चापाकल सुकेर खानेपानीको सङ्कट सृजना भई जनजीवन प्रभावित भएको भन्दै सबैको सहयोग र समन्वयबाट समस्या समाधान गर्न सकिने धारणा राख्नुभयो । 

     

     

     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij