Logo

Sep 05 2025 | २०८२, भदौ २०गते

Sep 05 2025 | २०८२, भदौ २०गते

images

नेपालको डिजिटल पूर्वाधारमा ठूलो लगानी: वर्ल्डलिंकमा आईएफसी र स्ट्यान्डर्ड चार्टर्डको २९ मिलियन डलर लगानी

नेपालको डिजिटल पूर्वाधारमा ठूलो लगानी: वर्ल्डलिंकमा आईएफसी र स्ट्यान्डर्ड चार्टर्डको २९ मिलियन डलर लगानी

  •  

    काठमाडौं । नेपालको डिजिटल पूर्वाधार विस्तार गर्ने उद्देश्यसहित इन्टरनेशनल फाइनान्स कर्पोरेशन (IFC) ले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडसँगको सहकार्यमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडमा २९ मिलियन अमेरिकी डलर (करीब ३ अर्ब ९८ करोड रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ। यो लगानीले देशभर फाइबर नेटवर्क विस्तार गर्नुका साथै अत्याधुनिक डेटा सेन्टरहरूको स्थापना गर्ने लक्ष्य लिएको छ।

    तीन संस्थाको संयुक्त विज्ञप्तिमा उल्लेख भएअनुसार, यो लगानीले उच्चगतिको इन्टरनेट पहुँच विस्तार गर्दै दुर्गम क्षेत्रहरूलाई डिजिटल नेटवर्कमा जोड्नेछ। यसले समावेशी विकास प्रवद्र्धन गर्ने, डिजिटल पहुँचलाई व्यापक बनाउने र आधुनिक डेटा प्रोसेसिङ पूर्वाधार निर्माणमा सघाउनेछ। वर्ल्डलिंकका संस्थापक तथा अध्यक्ष दिलीप अग्रवालका अनुसार, “कनेक्टिभिटी नै अवसरसम्म पुग्ने पुल हो भन्नेमा हामी विश्वास गर्छौं,” भन्दै यो सहकार्य डिजिटल समाज निर्माणतर्फको साझा प्रतिबद्धताको एक हिस्सा भएको बताएका छन्।

    सन् १९९५ मा स्थापित वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक हो। कम्पनीले हाल १० लाखभन्दा बढी घरधुरी र हजारौं व्यवसायहरूलाई सेवा दिँदै आएको छ। देशभर ७,५०० भन्दा बढी स्थानमा फाइबर नेटवर्क फैलाइसकेको वर्ल्डलिंकले प्रमुख शहरहरूमा निःशुल्क वाइफाइ हटस्पट पनि सञ्चालनमा ल्याएको छ। कम्पनीमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५,५०० जनाले रोजगारी पाएका छन्।

    IFC का दक्षिण एशियाली क्षेत्रीय निर्देशक इमाद एन. फाखुरीले यो लगानीले नेपाल सरकारको १६औं पञ्चवर्षीय योजना र डिजिटल नेपाल फ्रेमवर्कमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले सहज इन्टरनेट पहुँच, एकीकृत पूर्वाधार विकास, र प्रविधिबाट सामाजिक–आर्थिक रूपान्तरण सम्भव हुने बताए। IFC को लगानीसँगै वर्ल्डलिंकले कार्यक्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्ने लक्ष्य समेत राखेको छ।

    IFC का एशिया–प्रशान्त पूर्वाधार तथा प्राकृतिक स्रोत विभागका निर्देशक विक्रम कुमारले नेपालको डिजिटल क्षेत्रमा नवप्रवर्तन र अपार सम्भावना रहेको उल्लेख गर्दै ग्रामीण क्षेत्रमा फिक्स्ड ब्रोडब्यान्ड पूर्वाधारको पहुँच आवश्यक रहेको बताए। उनका अनुसार डेटा सेन्टरहरूको विकासले समावेशी रोजगारीको अवसर बढाउनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij