
काठमाडौँ । हालै चीनको तिब्बतबाट ल्हेन्दे खोला हुँदै भोटेकोशी क्षेत्रमा आएको बाढीले रसुवा र नुवाकोट जिल्लाका निर्माणाधीन तथा सञ्चालनमा रहेका १० भन्दा बढी जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले सरकारलाई ती संरचनाहरूको पुनःनिर्माणका लागि आवश्यक नीतिगत र प्रक्रियागत सहजीकरण गर्न आह्वान गरेको छ।
इप्पानले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा बाढीबाट क्षतिग्रस्त संरचनाको छिटो पुनःनिर्माण गरी विद्युत् उत्पादन र प्रसारण पुनः सञ्चालन गर्न माग गरिएको छ। साथै, संस्थाले जनधनको थप क्षति रोक्न आवश्यक कदम तत्काल चाल्न सरकारसँग अनुरोध गरेको छ।
इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार, बाढीका कारण करिब २५० मेगावाट क्षमताका जलविद्युत् आयोजनाको उत्पादन पूर्ण रूपमा बन्द भएको छ भने ३५० मेगावाटभन्दा बढी क्षमताका आयोजनाको निर्माण कार्य ठप्प भएको छ। प्रमुख प्रभावित आयोजनाहरूमा १११ मेगावाटको रसुवागढी, ६० मेगावाटको त्रिशूली–३ए, २५ मेगावाटको त्रिशूली केन्द्र, २२ मेगावाटको चिलिमे, १४–१४ मेगावाट क्षमताका माथिल्लो मैलुङ र देवीघाट, तथा ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनाहरू रहेका छन्।
उक्त आयोजना मध्य धेरैजसोको विद्युत् प्रवाहका लागि आवश्यक पर्ने त्रिशूली–३बी सवस्टेशनमा पनि ठूलो क्षति पुगेको छ। यसै कारण माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत् केन्द्रजस्ता आयोजनाहरूले विद्युत् उत्पादन गर्न सकेका छैनन्। कार्कीका अनुसार, यीमध्ये देवीघाट, त्रिशूली र त्रिशूली–३ए बाहेक बाँकी आयोजनाहरू निजी क्षेत्रको लगानीमा निर्माण भइरहेका हुन्।
निर्माणाधीन परियोजनाहरूमा पनि बाढीले गम्भीर असर पारेको छ। २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १०० मेगावाटको सुपर त्रिशूली, तथा ३७ मेगावाटको त्रिशूली–३बी जलविद्युत् आयोजना हाल निर्माण रोकिएका छन्। सवस्टेशन तथा प्रसारण लाइनमा क्षति भएका कारण आगामी केही दिनसम्म विद्युत् उत्पादन र वितरण ठप्प रहनेछ, जसले दैनिक करोडौँ रुपैयाँ बराबरको आर्थिक क्षति निम्त्याउने इप्पानको भनाइ छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij