Logo

Jul 15 2025 | २०८२, असार ३१गते

Jul 15 2025 | २०८२, असार ३१गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असार ३० सोमबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् असार ३० सोमबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार ३० सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू....

    व्यावसायिक लक्ष्य निर्धारणमा नवीकरण र म्यादी बीमाशुल्क पनि समेट्न बीमा प्राधिकरणको निर्देशन

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूलाई आगामी आर्थिक वर्षको व्यावसायिक लक्ष्य निर्धारण गर्दा नवीकरण बीमाशुल्क तथा म्यादी जीवन बीमाशुल्कलाई पनि अनिवार्यरूपमा समावेश गर्न निर्देशन दिएको छ।

    प्राधिकरणले जीवन बीमा तथा लघुजीवन बीमा कम्पनीहरूलाई जारी गरेको परिपत्रमा भनिएको छ कि कम्पनीहरूले आफ्ना कर्मचारी, शाखा, उपशाखा, प्रादेशिक कार्यालय र विभागहरूलाई लक्ष्य निर्धारण गर्दा प्रथम बीमाशुल्क मात्र होइन, नवीकरण बीमाशुल्क र म्यादी बीमाशुल्कलाई पनि ध्यान दिनुपर्नेछ।

    एसियन लाइफ इन्सुरेन्सले ४२% हकप्रद सेयर निष्कासन गर्दै, साउन १३ गतेसम्म आवेदन दिन सकिने

    काठमाडौं । एसियन लाइफ इन्सुरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि ४२ प्रतिशत हकप्रद सेयर जारी गरेको छ। कम्पनीले १ः०.४२ अनुपातमा कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर निष्कासन गर्दै १ सय अंकित मूल्यमा १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ संकलन गर्ने योजना बनाएको हो।

    यो हकप्रद सेयरमा साउन १३ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले यस प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गरेकाले, जेठ १५ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र यसमा आवेदन दिन सक्नेछन्।

    छिमेक लघुवित्तद्वारा १ लाख ४५ हजारभन्दा बढी संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको नाममा रहेका कुल १ लाख ४५ हजार ५०५ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ३९० रुपैयाँ निर्धारण गरेको छ।

    यस सेयर बिक्रीमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। इच्छुक सेयरधनीहरूले असार ३० गते (आज) बाट सुरु हुने आवेदन अवधिमा ३५ दिनभित्र आफ्ना निवेदन कम्पनीको केन्द्रीय कार्यालय, मध्यबानेश्वर, काठमाडौंमा पेश गर्नुपर्नेछ।

    शेयर बजार : नेप्से परिसूचकमा ३२.०० अंकले घटेर  २७२८.८० विन्दुमा ,८ अर्ब १७ करोड रुपैयाँ भन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा  ३२.०० अंकले घटेर  २७२८.८० विन्दुमा आएको छ । यस दिन ८ अर्ब १७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 
    यस दिन ३२१ कम्पनीको २ करोड ११ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४० करोड ८८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्ट्रक्चर अघि आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः बुटवल पावर कम्पनी र सानिमा बैंक रहेका छन् ।

     
    नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा भ्रष्टाचार भएको प्रचण्डको भनाइ

    काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रियामा प्रति चिन्ता व्यक्त गरेका छन् ।प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केद्रका अध्यक्ष समेत रहेका प्रचण्डले यसमा चलखेल भएको बताएका हुन् ।

     

    सरकारले अहिलेको प्रकृया रोकेर नयाँ मापदण्ड निर्धारित गरेर विधिसम्मत् नयाँ स्टकको लाइसेन्स दिन सरकार तयार रहेको छ भन्दै प्रचण्डले प्रश्न गरे। उनले अहिलेको प्रकृया रोकेर भ्रष्टाचार नगरी नयाँ मापदण्ड बनाएर लाइसेन्स दिन आग्रह गरे । सरकार पारदर्शिता र मापदण्डअनुसार अघि बढ्न तयार छ कि छैन भन्ने प्रश्न गर्दै उनले धितोपत्र बोर्ड, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला, विद्युत बक्यौता मिनाहा, भूमाफिया संरक्षण, तथा सरुवा–नियुक्तिमा हुने लाखौंका डिलहरूजस्ता घटनाहरूको उदाहरण दिए । साथै उनले  सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको गम्भीर आरोप लगाए ।

    एनआरएन इन्फ्रास्ट्रक्चरको होटल व्यवसायमा प्रवेश: वर्णबास म्यूजियम होटलमा १२.५ करोड लगानी

    काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले होटल व्यवसायमा आफ्नो लगानी विस्तार गर्दै वर्णबास म्यूजियम होटलमा रणनीतिक साझेदारी गर्ने निर्णय गरेको छ। कम्पनीले होटलको जारी पूँजीको ९.०९ प्रतिशत हिस्सा (संस्थापक सेयरमध्ये १४.२ प्रतिशत) खरिद गरी लगानी गर्न लागेको हो।

    कम्पनीको असार २८ गते (शनिवार) बसेको सञ्चालक समितिको बैठकले उक्त लगानी सम्बन्धी निर्णय पारित गरेको थियो। निर्णयअनुसार, असार २९ गते एनआरएन र वर्णबास होटलबीच सेयर खरिद बिक्री सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार, एनआरएनले वर्णबास म्यूजियम होटलको १० लाख कित्ता संस्थापक सेयर प्रतिकित्ता १२५ रुपैयाँका दरले खरिद गरेको हो, जसको कुल मूल्य १२ करोड ५० लाख रुपैयाँ हुन्छ।

    गृहमन्त्री लेखकको निर्देशन: प्रधानमन्त्रीको स्पेन भ्रमणमा संलग्न बाहिरी व्यक्तिहरूमाथि निष्पक्ष छानबिन हुने

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा आधिकारिक सरकारी प्रतिनिधिमण्डलबाहेक सहभागी भएका व्यक्तिहरूको विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन्। गृहमन्त्री लेखकले गम्भीरताका साथ उक्त प्रकरणको अध्ययन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई जिम्मेवारी तोकेका हुन्।

    उनका अनुसार, ूप्रधानमन्त्रीको अधिकृत प्रतिनिधिमण्डलबाहेक स्पेन को-को गए? उनीहरू कुन विधि र प्रक्रियामार्फत गएको होरु कुन संस्था वा व्यक्तिको पहलमा यो भ्रमण सम्भव भयोरुू भन्ने विषयमा गहिरो अनुसन्धान हुनेछ। साथै, भ्रमणमा सहभागी अन्य व्यक्तिहरूका लागि भिजिट भिषा कसले र कसरी प्रबन्ध गर्‍यो भन्नेबारे पनि छानबिन गरिनेछ।

    शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन, निरोगी नेपाल अभियानलाई सार्थक बनाऔँ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गर्नुभएको छ ।

     

     

    भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित सो भवन शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्वसका प्रवेशका अवसरमा महाराजगञ्जमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो भवनको उद्घाटन गर्नुभएको हो ।

    आज सन नेपाल लाइफ इन्सुरेन्सको सेयर लिलामीमा अन्तिम दिन

    काठमाडौँ । सन नेपाल लाइफ इन्सुरेन्स लिमिटेडले लिलामीमा ल्याएको २ लाख २४ हजार ७२८ कित्ता सेयरमा आवेदन दिने आज असार ३० गते अन्तिम दिन हो। इच्छुक लगानीकर्ताहरूले आज कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ। कम्पनीले असार २३ गतेदेखि संस्थापक समूहका ८० हजार २२२ कित्ता र सर्वसाधारण समूहका १ लाख ४६ हजार ५०६ कित्ता सेयर लिलामीमा बिक्रीका लागि खुला गरेको हो। यो लिलामी सेयरमा न्यूनतम मूल्य १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्र पेश गर्नुपर्नेछ।

    बन्दीपुर केवलकार आईपीओ निष्काशन साउन ६ गतेदेखि हुने

    काठमाडौँ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको जनाएको हो।

     

    कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत तदनुसार  ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । अनुमति पाए परिमाणमध्ये ५ करोड ६६ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ६६ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्न लागिएको हो। सो शेयर खरिदका लागि तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडाहरु, आँबुखैरेनी गाँउपालिकाका सबै वडाहरु, भानु नगरपालिका वडा नं. १ तथा गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं. ७ का स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

    घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

    काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न माग गर्नुभएको छ । 

     

      कांग्रेस, बुद्धिजीवी तथा पेसागत विभागले आज यहाँ आयोजना गरेको ‘विपद् व्यवस्थापन स् चुनौती, अवसर र भावी कार्य दिशा’ विषयक छलफलमा उहाँले घुस काण्डको अडियो सार्वजनिक भएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता आफैँले राजीनामा दिएर छानबिन गर भन्नुपर्नेमा त्यस्तो नभएकाले प्रधानमन्त्रीसमक्ष बर्खास्त गर्न माग गर्नुभएको हो । मन्त्री गुप्तालाई बर्खास्त गरी छानबिन गरेर यस घटनामा दोषी देखिएकालाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँको भनाइ छ ।

    पोखरा विमाननस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तार गर्न निरन्तर छलफलमा छौँ : पर्यटनमन्त्री पाण्डे

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तरराष्ट्रिय विमाननस्थललाई दिगो सञ्चालन गर्न विभिन्न अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीसँग निरन्तर छलफल भइरहेको बताउनुभएको छ । 

     

    प्रतिनिधिसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिदैँ उहाँले विमानस्थललाई दिगो रूपमा सञ्चालनका लागि कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा ल्याइएको बताउनुभयो ।

    एनआईसी एशिया बैंक र ईस्टप नेपालबीच विशेष सम्झौता, ग्राहकहरुलाई रेष्टुरेन्टमा १० प्रतिशत र चार्जिङ स्टेसनमा ५ प्रतिशत छुट उपलब्ध

    काठमाडौँ । एनआईसी एशिया बैंक र ईस्टप नेपाल प्रालिबीच यस बैंकका ग्राहकहरुलाई रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि यस बैंकका ग्राहकहरूले  ईस्टप नेपालले उपलब्ध गराएको रेष्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्ने भएका हुन् । 

     

    ईस्टप नेपालले नवलपुरस्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेष्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेसनहरुमा विद्युतीय गाडी चार्ज गर्दै खानाको स्वादमा उक्त छुट सुविधा उपभोग गर्न सक्ने जनाइएको छ ।  ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा लिन सक्ने छन् ।  दी गो ग्रुप अफ कम्पनी अन्तर्गत रहेको ईस्टप नेपालसँगको यस सहकार्यले मुलुकमा डिजिटल भुक्तानी र हरित अर्थतन्त्रको प्रवद्र्धनमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको सहायक प्रमुख कार्यकारी अधिकृत प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले विज्ञप्ति जारी गरी यस्तो बताएका छन् ।

    इन्डोनेसियाको पूर्वी तटमा ६.७ म्याग्निच्युडको भूकम्प

    जकार्ता ।पूर्वी इन्डोनेसियामा सोमबार ६.७ म्याग्निच्युडको भूकम्प गएको तर सुनामीको खतरा नभएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले बताएको छ ।

     

     

    भूकम्प पश्चिमी इन्डोनेसियाको समय (०५ः४९ जिएमटी) दिउँसो १२ः४९ बजे आएको थियो र यसको केन्द्र पूर्वी मालुकु प्रान्तको टुअल सहरबाट करिब एक सय ७७ किलोमिटर पश्चिममा ६६ किलोमिटर (४० माइल) गहिराइमा रहेको युएसजिएसले जनाएको छ ।

     

    प्यासिफिक सुनामी वार्निङ सेन्टरले सुनामीको कुनै खतरा नभएको र इन्डोनेसियाको जियोफिजिक्स एजेन्सीले सामाजिक सञ्जाल पोस्टमा भूकम्पले ‘सुनामी निम्त्याउने सम्भावना नभएको’ बताएको छ ।

    भारतमा आँप बोकेको लरी पल्टिँदा नौ जनाको मृत्यु, ११ घाइते

    नयाँदिल्ली ।दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा आँप बोकेको लरी पल्टिँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएको प्रहरीले सोमबार जनाएको छ ।

     

    आन्ध्र प्रदेशको राजधानी अमरावतीबाट करिब ३८७ किलोमिटर दक्षिणपश्चिममा रहेको अन्नामया जिल्लाको पुल्लमपेटा क्षेत्रमा आइतबार राति दुर्घटना भएको हो ।

    “करिब ४० टन आँप तथा २० जना कामदारहरू लोडको माथि बसेको लरीले नियन्त्रण गुमाइ दुर्घटना भएको एक प्रहरी अधिकारीले बताएका छन् ।

    नेपाल उद्योग परिसंघको नजरमा मौद्रिक नीति बजारको मनोविज्ञान सुधार गर्ने खालको

    काठमाडौँ । नेपाल उद्योग परिसंघको नजरमा मौद्रिक नीतिले बजारको मनोविज्ञान सुधार गर्ने खालको रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले आर्थिक गतिविधि बढाउने अपेक्षा नेपाल उद्योग परिसंघले यस्तो जनाएको हो ।परिसंघका अनुसार चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई उद्योग व्यवसायको प्रकृति र कर्जा भुक्तानी–आम्दानी चक्रका आधारमा परिमार्जन गर्ने घोषणा सकारात्मक छ ।

    राइड सेयरिङ सेवा प्रदायक कम्पनीको कमिसन घटाउँदै सरकार

    काठमाडौँ । सरकारले  राइड सेयरिङ सेवा प्रदायक कम्पनीले पाउने कमिसन घटाउन लागेको छ ।राइड सेयरिङ कम्पनीले  राइडर (चालक)सँग लिँदै आएको कमिसनलाई १० प्रतिशतमा झार्न लागेको हो ।अहिले पठाओ लगायत राइड सेयरिङ सेवा प्रदायक कम्पनीहरूले राइडरसँग २० प्रतिशतसम्म कमिसन लिने गरेकामा त्यसलाई आधा घटाउन लागिएको जनाइएको हो।यसले गर्दा ‘अफलाइन राइड’ गर्नेहरूको बिगबिगी बढेको छ। साथै, नेपालबाट यस्ता कम्पनीले धेरै पैसा लैजाने र सेवाग्राहीलाई पनि यात्रा गर्न महँगो भएको यातायात व्यवस्था विभागले निक्र्यौल गरेको छ ।

    बित्न लागेको वर्षमा बैंकहरूले राष्ट्र बैंकमै २१२ खर्ब रुपैया न्यूनदरमा निक्षेप बुझाए

    काठमाडौँ । वाणिज्य बैंकहरूले एक वर्षमा २१२ खर्ब रुपैयाँ झण्डै ३ प्रतिशतको ब्याजदरमा नेपाल राष्ट्र बैंकलाई नै निक्षेप बुझाएा हुन् ।वैश्विक महामारी कोभिडले अर्थतन्त्रलाई ध्वस्त बनाएदेखि सुस्त गतिमा रहेको नेपालको उत्पादनमुखी  अर्थतन्त्रमा ऋणको माग नहुँदा वाणिज्य बैंकहरूले यत्रो ठुलो परिमाणको रकम केन्द्रीय बैंकलाई नै बुझाएको देखिएको हो ।

     

    सुस्त अर्थतन्त्रमा कर्जा लगानी नभए पछि तरलता व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको भरमा परेको देखिए । बजारमा कर्जाको माग नभएको कारण बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले दिएको स्थायी निक्षेप सुविधाको प्रयोग गरेका छन् ।

    सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले १६ लाखभन्दा बढी संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले आफ्ना संस्थापक सेयरधनीहरूको नाममा रहेको १६ लाख ४७ हजार ५८४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूलाई आज (असार ३० गते) बाट ३५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ।

    इच्छुक संस्थापक सेयरधनीहरूले आफ्नो सेयर खरिदको विवरण खुलाइ आवेदनपत्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा बुझाउनु पर्नेछ।

    सोमबार छापावाल सुन प्रतितोला चार  सय रुपैयाँले बढेर १ लाख ९३ हजार ३०० रुपैयाँ कायम

    काठमाडौं ।  नेपाली बजारमा आज  सुन र चाँदीको भाउमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि भई १ लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ। आइतबार यसको मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँ रहेको थियो।

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा कायम गरिएको छ । 

     

     

    युरोपियन युरो एकको खरिदर १६० रुपैयाँ १४ पैसा र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिदर १८४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर १७१ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७३ पैसा कायम गरिएको छ । 

     
     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij