
काठमाडौं ।विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन तथा बाँडफाँट प्रक्रिया पूरा गरिसकेको छ र अब दोस्रो बजारमा सूचीकृत हुने प्रक्रिया अघि बढाएको छ। कम्पनीले असार २९ गते आइतबार आईपीओ बाँडफाँट गरेको हो। कम्पनीले संस्थापक समेत ९० लाख ९१ हजार १३ कित्ता शेयर दोस्रो बजारमा सूचीकृत गराउने तयारी गरेको छ। कम्पनीमा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व रहेको छ। सूचीकृत शेयरमध्ये संस्थापक, आयोजना प्रभावित स्थानीय, कर्मचारी, र सामूहिक लगानी कोषबाहेकका शेयरहरु सूचीकृत भएको भोलिपल्टदेखि दोस्रो बजारमा कारोबार सुरु हुनेछ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको वास्तविक वित्तीय विवरणको आधारमा मूल्य रेञ्ज निर्धारण गर्नेछ। आर्थिक वर्ष ०८०/८१ अनुसार कम्पनीको प्रति सेयर नेटवर्थ ९७ रुपैयाँ ४३ पैसा रहेको छ। यस आधारमा नेप्सेले न्यूनतम प्रतिकित्ता ९७ रुपैयाँ ४३ पैसादेखि अधिकतम २९२ रुपैयाँ २९ पैसासम्मको मूल्य रेञ्ज तोक्नेछ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी ४९ प्रतिशत शेयर अर्थात् ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ दुई चरणमा निष्कासन गरी बाँडफाँट गरेको हो। पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ९ लाख ९ हजार १०१ कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ५४ हजार ५५० कित्ता, कर्मचारीका लागि ७० हजार ९१० कित्ता, र सामूहिक लगानी कोषका लागि १ लाख ७७ हजार २७५ कित्ता आईपीओ बाँडफाँट गरिएको थियो। दोस्रो चरणमा सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता शेयर बाँडफाँट गरिएको हो।
विकास हाइड्रोपावरले गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ मा अवस्थित ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला जलविद्युत आयोजना निर्माण गरी २०७९ फागुन १७ गतेदेखि विद्युत उत्पादन सुरु गरिसकेको छ। अघिल्लो आर्थिक वर्षसम्म कम्पनी रु १ करोड १९ लाखको सञ्चित नोक्सानीमा रहेको थियो भने चालु आर्थिक वर्षभित्र रु ४ करोड १३ लाखभन्दा बढी सञ्चित नाफा कमाउने प्रक्षेपण गरिएको छ। वित्तीय विवरणअनुसार कम्पनीको प्रति सेयर आम्दानी रु १.५५ र प्रति सेयर नेटवर्थ रु ९७.४३ रहेको छ। यी तथ्यांकले कम्पनीको वित्तीय सुधार र दोस्रो बजारमा लगानीकर्ताको विश्वास बढाउने संकेत गर्छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij