
काठमाडौं। कर्मचारी सञ्चय कोषबाट सञ्चालित योगदानमा आधारित निवृत्तभरण कोषमा आबद्ध हुने कार्यालय तथा संस्थाको संख्या ४ हजार नाघेको छ।कोषका अनुसार सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र संगठित संस्थाहरूको संख्या असार मसान्तसम्म ४ हजार २९० पुगेको हो ।ती कार्यालय तथा संस्थाका ९९ हजार ३९१ योगदानकर्ताबाट गत असारसम्म १५ अर्ब रुपैयाँ योगदानमा आधारित निवृत्तिभरण कोषमा जम्मा भएको छ।बैंक तथा वित्तीय क्षेत्रबाट योगदानमा आधारित निवृत्तभरण कोषमा आबद्धताका लागि सम्पर्क गर्ने क्रम बढेको कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदीले आइतबार प्रेस विज्ञप्ति जारी गरी जनाएका छन् ।
कोषले २०७६ साउनदेखि योगदानमा आधारित निवृत्तिभरण कोष सञ्चालन गर्दै आएको छ।सरकारले यो आर्थिक वर्षदेखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न सबै मन्त्रालय, निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानलाई निर्देशन दिएका कारण योगदानकर्ताको संख्या अब ह्वात्तै बढ्ने कोषको विश्वास छ।
कोषले योगदानकर्तालाई आफ्नै स्रोतबाट विभिन्न किसिमका सुविधा उपलब्ध गराउँदै आएको छ। सामाजिक सुरक्षा सुविधा अन्तर्गत योगदानकर्तालाई दुर्घटना क्षतिपूर्ति २ लाखसम्म, काजकिरिया अनुदान ४० हजार, प्रति प्रसूति ७ हजार ५००, स्वाथ्योपचारतर्फ साधारण रोगमा १ लाखसम्म र कडा रोगमा १० लाख रुपैयाँसम्म सुविधा प्रदान गर्दै आएको छ।
कोषले योगदानकर्तालाई निवृत्तिभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर ५ प्रतिशत निर्धारण गरेको छ। कोषले वार्षिक रूपमा आर्जन गर्ने मुनाफाको निश्चित प्रतिशत रकम समेत योगदानकर्तालाई प्रदान गर्ने गरेको जनाएको छ।कोषले योगदानकर्तालाई सहुलियत ब्याजदरमा विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, जग्गा खरिद सापटी तथा सरल सापटी उपलब्ध गराउँदै आएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij