Logo

Aug 22 2025 | २०८२, भदौ ६गते

Aug 22 2025 | २०८२, भदौ ६गते

images

गभर्नर डा. पौडेलको  योग्यता नपुगेको भन्दै छानबिन गर्न अख्तियारमा उजुरी

गभर्नर डा. पौडेलको  योग्यता नपुगेको भन्दै छानबिन गर्न अख्तियारमा उजुरी

  • काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर डा. विश्वनाथ पौडेलको योग्यता नपुगेको भन्दै उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।गभर्नरको नियुक्ति कानूनविपरित भएकाले छानबिन गर्न माग गर्दै आयोगमा उजुरी परेको हो । डा. पौडेलले पेश गरेको प्रमाणपत्रमा सफ्टवेयर इन्जिनियरिङमा स्नातक र स्नातकोतर तह र रिसोर्स एग्रिकल्चरमै विद्यावारिधि (पिएचडी) को उपाधि रहेको उजुरीमा जनाइएको छ ।

    उजुरीमा भनिएको छ ‘नेपाल राष्ट्र बैंक ऐनको दफा २० मा संचालकको योग्यता निर्धारण गरिएको छ यसै दफाको (ग) मा आर्थिक, मौद्रिक, बैंकिंग, वितीय, वाणिज्य, ब्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानून विषयमा स्नातकोतर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिंग, वित्तीय वा वाणिज्य कानूनको क्षेत्रमा कार्य अनुभव हासिल गरेको र स्पष्टिकरणमा यस खण्डको प्रयोजनको लागि कार्य अनुभव भन्नाले नेपाल सरकार वा बैंकको विशिष्ठ श्रेणीको पद वा विश्वविध्यालयको प्राध्यापक वा ‘क’ श्रेणीको वाणिज्य बैंक वा वित्तीय संस्थाको कार्यकारी प्रमुख वा अन्तर्राष्ट्रिय संघ, संस्थाको कार्यकारी तहको पद वा सो सरहको पद वा मर्यादाक्रमको हिसाबले सो पद भन्दा उच्च पदमा कार्य गरेको कार्य अनुभव सम्झनुपर्छ भन्ने स्पष्ट व्याख्या गरिएको छ ।’

    नेपाल राष्ट्र बैंक ऐन २०५८ (प्रथम संशोधन २०६३ समेत मिलाइएको रूपमा) को दफा १५ को उपदफा २ को (क) (ख) र (ग) बमोजिम नेपाल सरकारबाट गठित समितिले उपदफा ३ बमोजिम गभर्नर नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिंग, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रमा स्नातकोत्तर व्यक्तिहरु हुनुपर्ने उल्लेख भएकोमा सो पालना नभएकोे उजुरीमा जनाइएको छ ।

    डा पौडेलले पेश गरेका प्रमाणहरु, शैक्षिक योग्यतामा आफैले गरेको टिप्पणी, विभिन्न क्षेत्रमा पेश गरेको शैक्षिक योग्यतासम्बन्धी कागजपत्रहरु, बैंक तथा वित्तीय संस्थामा रहेका सेयर संख्याहरु, राजनीतिक दलकाको प्रतिनिधित्व गर्ने बलिया आधारहरुका कारण उनी गभर्नर बन्न अयोग्य रहेको भन्दै छानबिन गर्न माग गरिएको छ । यस अघि बीमा प्राधिकरणको अध्यक्षको नियुक्तिमा योग्ता नपुगेको लगायतको विषय सामेल गरी अख्तियारमा ऊजुरी दायर गरिएको थियो । अख्तियारमा उजुरी दायर भएपछि मन्त्रिपरिषद्ले तत्कालीन अध्यक्ष शरद ओझा उपर छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij