
काठमाडौँ । दुई वर्ष भित्र नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट पाँच दशक पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले नेपाल आयल निगमलाई त्यसका लागि गुह्वेश्वरीतर्फको ५० रोपनी क्षेत्रफलको जग्गा उपलब्ध गराउने भएको हो । प्राधिकरणले निगमलाई गुह्वेश्वरी तर्फ उपलब्ध गराउने सो जग्गामा हवाई इन्धन डिपो स्थानान्तरण हुनेछ ।
आयल निगमले २०८४ मंसिरभित्र डिपो स्थानान्तरण गरिसक्ने गरेर नयाँ अत्याधुनिक डिपो बनाउने भएको हो । त्यसका लागि बिहीवार विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको छ । नेपाल आयाल निगमको सिनामंगल डिपो स्थान्तरणका लागि बनाइएको डीपीआर पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले बिहीबार हस्तान्तरण गरेको छ । भदौमा टेण्डर गर्ने तयारी रहेको छ ।
गत मंसिरमा आयल निगमको सिनामंगल डिपो स्थान्तरणका लागि पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानसँग डीपीआर निर्माणका लागि सम्झौता भएको थियो । सोहीअनुसार पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले बिहीबार आयल निगम सिनामंगललाई डीपीआर बुझायो । डीपीआर हस्तान्तरण कार्यक्रममा नेपाल आयल निगम सिनामंगल डिपोका प्रमुख प्रदीपकुमार यादवले अहिले भएका डिपोहरु पुराना मोडलको रहेको बताए । उनका अनुसार अब बन्ने प्रोजेक्ट अत्याधुनिक प्रविधियुक्त बन्ने छ । सरकारी इन्जिनियरहरुबाट पहिलो पटक ६ अर्ब ५४ करोडको प्रोजेक्टका डीपीआर निर्धारित समय भित्रै बुझाउने काम भएको छ । यसले आगामी दिनमा परियोजनालाई अघि बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ । पहिला पनि आयल निगमले पुल्चोक इन्जिनियरिङको सहयोगमा पोखरामा एयर डिपो बनाएको थियो । जहिले पनि एडीबी, विश्व बैंकको सहयोग लिने र बाहिरका विज्ञहरुलाई डीपीआरमा गुहार्ने तर उनीहरुले समयमै काम नगरिदिँदा आयोजनाहरुमा ढिलाइ हुने गरेको छ डीपीआर निर्माणको काम नेपालीहरुले राम्रोसँग गरिरहेको देखिएको छ ।
कार्यालय प्रमुख यादवमा अनुसार विगतमा नागरिक उड्यन प्राधिकरणले जुन डिपिआर बनाउन एडीबीलाई गुहारेर जर्मनको हन्सा कन्सल्टलाई बोलाएर ५० औं करोड खर्च ग¥यो त्यो डिपिआर पुल्चोक इन्जिनियरिङ क्याम्पसले १ करोड ९८ लाखमा समयमै बनाएर दिएको छ । नेपाली इन्जिनियरहरुले बनाएका छन् । जुन सेक्टरमा हामी अघि बढ्दैछौं । त्यो क्षेत्रमा हाम्रा नेपाली व्यवसायी, नेपाली इन्जिनियरलाई प्रोत्साहन गर्नुपर्छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij