
काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय, बुटवल मार्फत राजस्व चुहावट सम्बन्धी कसूरमा अनुसन्धान तथा तहकिकात सम्पन्न गरी अजय वेङ्गल स्टोर्सका प्रोप्राइटर अजय अग्रहरी र कारोबारी पशुपति अग्रहरी विरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन बमोजिम अभियोग पत्र दायर गरेको छ।
राजस्व अनुसन्धान कार्यालय बुटबलका कार्यालय प्रमुख तथा प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले कायम गरी मुद्दा दायर गरिएको बताएका हुन् ।
कार्यालय प्रमुख घिमिरेद्वारा जारी जारी गरिएको विज्ञप्तिमा भनिए अनुसार जिल्ला रुपन्देही, बुटवल उप-महानगरपालिका, वडा नं.- ५, न्यूरोड, बुटवलमा रहेको अजय वेङ्गल स्टोर्स (स्था.ले.नं. 303282419) का प्रोप्राइटर अजय अग्रहरी तथा कारोबारी पशुपति अग्रहरीले वास्तविक कारोबारको बिजक जारी नगरी मालवस्तु बिक्री गर्नुका साथै मालवस्तुको खरिद स्रोत नभएका भन्सार चोरी पैठारी गरेका मालवस्तुको कारोबार गरी मूल्य अभिवृद्धि कर, भन्सार महसुल तथा कारोबार लुकाई आयकर समेत छली गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी ऐ. ऐनको दफा ४ को उपदफा (क), (ख), (च), (छ) र (झ) बमोजिमको कसुर गरेको पुष्टि भएको छ ।
कार्यालय प्रमुख घिमिरेले प्रतिवादीहरु अजय वेङ्गल स्टोर्स (स्था.ले.नं. 303282419) का प्रोप्राइटर अजय अग्रहरी र कारोबारी पशुपति अग्रहरीको संयुक्त मिलेमतोमा गरेको राजस्व चुहावटको प्रकृति, गाम्भिर्यता तथा राजस्व चुहावट भएको रकम समेतलाई मध्यनजर राखी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 (प्रथम संशोधन) को दफा 2(छ१) बमोजिम भन्सार चोरी पैठारी तर्फको अधिक मौज्दातको बिगो रु. 95,83,755।-, मू. अ. कर तर्फको न्यून मौज्दातको बिगो रु. 99,89,984।– र आयकर तर्फको बिगो रु. 2,87,52,147।– गरी जम्मा रु. 4,83,25,886।- (अक्षरुपीः चार करोड तिरासी लाख पच्चिस हजार आठसय छयासी रुपैयाँ मात्र) बिगो कायम गरिएको बताए । साथै प्रमुख घिमिरेले सोही ऐनको दफा २३(१) बमोजिम बिगो असुल वा जफत गर्ने प्रावधान अनुसार बिगो असुल उपर गरी बिगोको शत प्रतिशत रु. 4,83,25,886।- (अक्षरुपीः चार करोड तिरासी लाख पच्चिस हजार आठसय छयासी रुपैयाँ मात्र) जरिवाना र ऐ. ऐनको दफा २३(१)(ख) बमोजिम हदैसम्मको कैद सजाय मागदाबी लिई ऐ. ऐनको दफा 20(१) बमोजिम उच्च सरकारी वकील कार्यालय, बुटवलबाट प्राप्त राय अनुसार सोही ऐनको दफा 20(६) बमोजिम आज मिति 2082/04/09 गते सम्मानित उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा अभियोग पत्र दायर गरिएको जनाए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij